२०७७, पुष २० गते
टोखा लाइभ । नेपाल ट्राईयाथलन संघको आयोजनमा यसै साता टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ । च्यालेन्ज शनिबार आयोजना हुने संघले जनाएको छ । नयाँ खेलाडीलाई प्राथमिकतामा राखेर च्यालेन्ज आयोजना गर्न लागिएको संघले जनाएको छ । च्यालेन्ज काठमाण्डौको टोखा, कीर्तिपुर र ललितपुर गरि तीन स्थानमा पाक्षिक रुपमा एक स्थानमा दुई दुई पटक स्थानिय निकाय संग समन्वय गरि आयोजना गर्ने र अन्य स्थानमा पनि खेलस्थलको निरिक्षण पश्चात च्यालेन्ज आयोजना गर्ने संघले लक्ष्य राखेको छ ।
यस्ता खाले च्यालेन्जले खेलाडी उत्पादन गर्न र खेलाडीलाई उत्साहित गर्न मद्दत मिल्ने विश्वास संघले लिएको छ । संघले उपत्यका बाहिरका स्थानलाई महत्वमा राख्दै स्थानिय खेलाडी उत्पादन, प्रचार प्रसारमा नआएका स्थानलाई उजागर गर्दै आन्तरिक पर्यटन विकासलाई समेत मध्यनजर राख्दै प्रतियोगिताहरु आयोजना गर्दै जाने लक्ष्य रखेको छ ।
ट्राईयाथलनको विधाहरु मध्ये क्रस दुवाथलन पनि एक हो । क्रस दुवाथलनमा २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड हुने संघका महासचिव युवराज सुनुवारले जानकारी दिएका छन् । च्यालेन्ज उपत्यकाको ऐतिहासिक पुरानो सहर टोखाको गणेशस्थान देखि चन्डेस्वरी सम्मको स्थानमा आयोजना हुने बताइएको छ ।
च्यालेन्जलाई जम्प नेशनले सहयोग गर्न सक्ने संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताएका छन् । जम्प नेशनसंग च्यालेन्जलाई सहयोग गर्ने बिषयमा वार्ता भईरहेको उनले बताए । कोभिडको कारण प्रतियोगिताहरु नभईरहेको अवस्थामा खेलकुदलाई क्रियासिल बनाउनुका साथै कोभिडबाट बच्न व्यक्तिहरुमा रोग संग लड्न सक्ने क्षमता अभिबृछि गर्न समेत च्यालेन्जले मद्दत पुग्ने विश्वास लिएको अध्यक्ष श्रेष्ठले बताए ।

