टोखा लाइभ । टोखा नगरपालिका–३ भख्यमा (भूतखेल) सामुदायिक फिटनेस पार्ककोे उद्घाटन भएको छ। टोखा नगरपालिकामा शारीरिक व्यायमको कमीले मानिसहरूमा अस्वस्थता बढ्दै गएका बेला नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्स (एनवाईएफसी) र डिभी एजुकेशन नेटवर्कको संयुक्त प्रयासमा फिटनेस पार्कको निर्माण गरिएको हो।
प्रोजेक्ट टेम्पल अभियान अन्तर्गत निर्माण भएको उक्त पार्कको नेपाली कांग्रेसका नेता गगन थापाले शुक्रबार उदघाटन गरे।
अभियान अन्तर्गत पहिलो पार्क टोखामा बनाइएको र अन्य यस्तै २० वटा पार्क बौंद ,पोखरा, बुटवल लगायतका सहरमा पनि निर्माण गरिने प्रोजेक्ट टेम्पल अभियानले जनाएको छ।
पार्कको उद्घाटन गर्दै प्रमुख अतिथि कांग्रेस सांसद गगन थापाले बालबालिकादेखि वृद्ध–वृद्धालाई पनि शारीरिक व्यायमको आवश्यकता रहेको बताए। उनले भने, “नियमित व्यायम गर्नु भनेको आफ्नो स्वास्थ्यको सुरक्षा त हुँदै हो र, एकजना नागरिक स्वस्थ रहनु देशका लागि पनि योगदान हो।”
शारीरिक व्यायामको अभावमा नसर्ने रोग बढ्दै गएको भन्दै थापाले आफू स्वास्थ्यमन्त्री छँदा विद्यालयका विद्यार्थीलाई कम्तीमा एउटा खेलसँग जोडेर उनीहरुमा नियमित व्यायामको बानी पार्ने कार्यक्रम सुरु गर्ने तयारी गरे पनि छोटो अवधिका कारण लागू गर्न नसकिएको बताए।
त्यस्तै पूर्व प्रधान सेनापति गौरव शमशेर जबराले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलन राख्नका लागि नियमित व्यायाम आवश्यक रहेको भन्दै देशभर नै यस्ता फिटनेस पार्कको निर्माण जरुरी रहेको बताए। यसैगरी टोखा नगरपालिका २ नम्बर वडाका अध्यक्ष दिपकराज जोशीले पनि चण्डेश्वरी क्षेत्रमा छिट्टै नै फिटनेस पार्क बनाउने जानकारी दिनु भयो।
डीभी एजुकेशन नेटवर्कका निर्देशक तरुणप्रताप शाहले प्रोजेक्ट टेम्पल अभियानले युवाहरुलाई स्वास्थ्यप्रति जागरुक बनाउँदै लागूऔषध र मादक पदार्थ आदिको कुलतबाट टाढै राख्ने र युवालाई स्वस्थ्य जीवन शैली अवलम्बन गर्नका लागि प्रेरित गर्ने बताए । उनले टेम्पल प्रोजेक्ट अन्तर्गत शनिवार विहान ७ वजेदेखि भख्यमा निशुल्क प्रशिक्षण समेत दिइने बताएका थिए।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कांग्रेस नेता गगन थापा, विशिष्ट अतिथि पूर्व प्रधान सेनापति गौरव शम्शेर जबरा, डीभी एजुकेसन नेटवर्कका निर्देशक शाह, टोखा नगरपालिकाकी उपमेयर ज्ञानमाया डंगोल, २ नम्बर वडाध्यक्ष दिपकराज जोशी, ३ नम्बर वडा अध्यक्ष सिंहराज श्रेष्ठ, एनवाईएफसीका अध्यक्ष सुकदेव कार्कीले स्वस्थ जीवन शैलीका लागि ब्यायामको महत्वबारे प्रकाश पारेका थिए।

