• TOKHA LIVE

      TOKHA LIVE

    • ७ भाद्र २०७७, आईतवार १५:५४

    के टोखामा बाटो विस्तार गर्नै पर्ने बाध्यता हो ?

    • बाबुलाल भण्डारी PHD SCHOLAR and FORMER PROFESSOR

    टोखाको निकै विकास भयो तर यहाँका मान्छेहरू घरजग्गा गुमाएर सुकुम्बासी भए भने त्यसलाई विकास भन्ने कि विनाश ? यो प्रश्न अहिले किन उठाइयो भन्ने कुरा कतिले अहिले नै बुझ्लान् कतिले ढिलोगरी धेरै कुरा गुमेपछि मात्र बुझ्नेछन् ।

    अस्ति बुबाको मुख हेर्ने औंशीको दिन दिउसोको एउटा घटना यहाँ उल्लेख गर्न चाहन्छु । अहिले देशमा कोरोना विपत्ति डरलाग्दो रूपमा बढेको परिस्थिति छ । मान्छे भयभीत छ्न् र को मर्ने हो, को बाँच्ने हो ठेगान छैन । फेरि त्यसै रात १२:०० बजेदेखि सरकारको निशेधाज्ञा जारी हुँदै थियो । दिउसोको समय थियो, मान्छे घरमा नभएको बेला पारेर टोखा गेटदेखि पश्चिमको नयाँबाटो विस्तार गरी १२ मिटर बनाउने भन्दै प्राविधिक आएर डिपिआर गर्न भटाभट बाटोको सर्भे गर्न थाले । आश्चर्य लाग्यो । २/३ जना साथीहरूको प्रयासमा “यो विषयमा हाम्रो सल्लाह भएको छैन । हामी एकपटक भेटघाट र सरसल्लाह गर्छौं र खबर गर्छौ” भन्दै रोईकराई गरेर उनीहरूलाई त्यतिबेला जसोतसो फिर्ता गरियो ।

    बुझ्दै जाँदा त्यस बाटोलाई १२ मिटर (३९ फिट) बनाएर थप व्यवस्थित गर्ने योजना स्वीकृत गर्न साथीहरूले निकै मेहनत र परिश्रम गर्नु भएको थाहा भयो । यसअघि सोही बाटो कालोपत्रे गर्नमा पनि वहाँहरूको निकै परिश्रम परेको सबैलाई थाहै छ । वहाँहरूलाई हृदय देखिने आभार र धन्यवाद भन्नै पर्छ ।

    फेरि विकास निर्माणका कुरामा सबैको साथ सहयोग आवश्यक हुन्छ र कसैले पनि विरोध गर्नु हुन्न । अझ समाजका शिक्षित र सचेत मान्छेले त विरोध गर्न पटक्कै सुहाउँदैन र हुन्न । यतिकुरा मनन गर्दागर्दै पनि अलिकन टिप्पणी गर्नु पर्ने भएको छ र सबैसंग क्षमा माग्दै विनम्रता पूर्वक यहाँ केही कुरा राख्दैछु ।

    बाटोको व्यवस्थापन र स्तरोन्नतिमा विवाद बिलकुल छैन र यो आवश्यक पनि छ । कहीं खाल्टाखुल्टी पुर्नु छ कहीं पानी तर्काउन ड्रेनेज मिलाउनु छ । तर अहिलेको ३२ फिटलाई अझ चौडा गरेर ३९ फिट (१२ मिटर) बनाउन अहिले नै आवश्यक छ त ? यो प्रश्नले हामीलाई झस्कायो । वास्तवमा यो बाटो २० फिट मात्रै भएपनी मनग्गे पुग्ने हो । ३२ फिट भनेको त गाउँठाउँका लागि धेरै ठूलो बाटो पो हो । हाम्रो उद्देश्य टोखामा सवारी जाम भोग्नु नपरोस्, जनताको यातायात र उपभोग्य वस्तुको ढुवानी सहज होस् र आपत विपतमा दमकल र एम्बुलेन्स ल्याउन सहज होस् भन्ने मात्र होइन ? अहिलेको साविक ३२ फिटलाई व्यवस्थित गर्दा ४ वटा ठूला ट्रक दायाँबायाँ भएर सजिलै पास हुन सक्छन् भने यसलाई अझ चौडा पार्ने खण्ड किन पर्‍यो ? ठीक छ १२ मि.(३९ फिट) पनि गर्न सकिएला तर किसानका खेती गर्ने जग्गा अहिले नै धुल्याउन जरूरी हो ? यसका अभियन्ता साथीहरूको मनमा कुनै खोट नभएपनि यसको पछाडि अरू कसैको कुनै डरलाग्दो र खतरनाक इरादा त छैन भन्ने प्रश्न सबैका मनमा उठ्छ । सबैलाई थाह छ साविकमा ३ फिटे गोरेटो बाटोलाई १२ फिट र २० फिट गर्दै पटकपटक एकातिर अर्थात् माथिपट्टीका जग्गा काटेर हाल ३२ फिट सम्म फराकिलो पारिएको छ । अझ पछिल्लो पटक त कसैलाई खबरै नगरी एका बिहानै डोजरले मनमौजी पेल्न आउँदा पनि विरोधमा कोही बोलेन । ठीक छ ! अघिल्लो पटक जे जसो भएता पनि अन्तिम पटकको आधाआधा गरी ३२ फिट कायम गर्ने सहमतिमा सबै मञ्जुर नै छन् । टोखाका जनता विकास विरोधी छैनन् , हुन्नन् । तर यही बाटोको सामाखुसी मुखमा कहीं कहीं १२/१५ फिट भन्दा चौडा छैन भने त्यही बाटोलाई टोखामा ३२ ले नपुगेर ३९/४० फिट गर्नु पर्ने ? सामाखुसीमा बोतलको मुख जस्तो साँघुरो र टोखामा हात्तीको पेट जस्तो चौडा ? क्रिकेट मैदान बनाउने त अवश्य होइन होला । अरू होइन, जनता बढी सोझा र नबोल्ने भएकोले पनि पटकपटक अन्यायमा परेका छन् । यो त सुरूआत मात्र हो । आज कसैलाई १२ मिटरको रहर होला, भोलि अर्कोलाई १५ मिटर (४८ फिट), अझ अर्कोलाई २० मिटर (६४फिट) गर्दै अन्तिममा हुने राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार ३१ मिटर अर्थात् झण्डै १०२ फिट बन्ने हो । सडक विस्तार सबैतिर यसैगरी हुने हो । एकैचोटी सबै हुँदैन । बजारतिर देख्नु भएकै होला, बाटोका घर कति पटक काटिए ? ती अझै पनि ढुक्क छैनन् । बरू, सोच्नोस् माथि भनेजस्तै भयो भने त्यो बेला टोखालीका घरजग्गा के हुन्छन् ? एकै चक्लामा ५/६ रोपनी जग्गा हुनेलाई खास फरक नपर्ला, पछाडि हुनेहरूका घर र जग्गा अगाडि मोहोडामा पनि आउलान् । उनीहरूलाई खुदो होला, तर अरू सबैको पाटीको बाँस हुन्न ? जोगी हुन्नन् ? सोच्ने अहिले हो, बोल्ने पनि अहिले नै हो । भोलि सरकारले यसलाई राष्ट्रिय राजमार्ग घोषणाको निर्णय गर्नेछ र बजेट निकाल्ने छ । गोरखापत्रमा सूचना पनि आउला । मुआब्जाको नाम थोरैथोरै ढेवा पनि देला तर तपाईं हामी बोल्न पाउने छैनौं । एउटा यस्तो दिन आउने छ कि हामी टाउको फोरे पनि बोल्न पाउने छैनौं, सक्ने छैनौं र बोले पनि सुनुवाइ हुने छैन । हिजो काठामाण्डौका बजार भित्र पूर्व मन्त्री र माननीयहरू धर्ना बस्दा र लम्पसार पर्दा पनि त रोक्न सकेनन् । मापदण्ड भित्र परेपछि बरू कालले छोड्ला नगर विकास प्राधिकरणले छोड्दैन । हामीले टोखाको कृषियोग्य भूमि नाश भयो र हामीले हरेक उत्पादन किन्नु पर्ने भयो भनेर चिन्ता गरे जस्तो पनि देखाउने अनि हामी आफै उल्टोपाल्टो गर्दै पनि जाने ?


    कुरा सजिलो छैन । भोलि यहाँ ठूलो बाटो देखेपछि सरकारले अरू विकल्प र दायाँबायाँ हेर्दैन । चीनसंगको रसुवागढी नाकाबाट आउने राष्ट्रिय लोकमार्ग टोखा हुँदै जानेछ । १०२ मिटको बाटो बन्ने छ । अहिले ५८ फिट्का लागि क्षतिपूर्ति बुझी बाटोका घर भत्काएर पछिसार्ने टोखा गेटदेखि तल विष्णुमती प्रहरी चौकी सम्मका टोखाली दाजुभाइ फेरि एकपटक सङ्कटमा पर्ने छन् । उनीहरूका घर जग्गा फेरि कटानमा पर्नेछन् । विष्णुमती देखि ग्रिनल्याण्ड सम्म पनि ठाउँठाउँमा हाम्रा घरजग्गा छन् । ती सबै चपेटामा पर्नेछन् र पुर्पुरो समाउनु पर्ने छ । टोखा गेटभित्र गणेशस्थान सम्मका घर जग्गावाला हाम्रा दाजुभाइहरू पनि सुरक्षित हुने छैनन् । त्यसैले गेटबाट पश्चिमी तर्फको नयाँ बाटो फराकिलो पार्दा उनीहरू दङ्ग परेर ताली नपिटे हुन्छ । यसकारण कि २/४ सय वर्ष र युगौंयुगका लागि बन्ने राष्ट्रिय राजमार्ग गणेशस्थान देखि गेटसम्मको पुगनपुग १०० मिटरको छोटो एक्सेस छोडेर १ कोश पारी भित्तातिर नमोडिन सक्छ । अर्को कुनै बाबुराम भट्टराई आयो भने के हुन्छ, ख्याल गर्नु भएको छ ? ढुक्क भएर नबस्नु होला, यो देशमा जे पनि हुन्छ र भइरहेको पनि छ ! होइन, नयाँ बाटो नै कायम भएछ भने पनि तपाईंहरू मध्ये धेरैका घर जग्गा नयाँ बाटोमा छन् । जता गएपनि नोक्शान आफ्नै हुने हो । हामी चाहन्छौ टोखा गेट भित्रका कुनै घर नभत्किउन्, समस्या नपरोस् । मेरै कुरो गर्नुहुन्छ भने टोखाको संस्कृति र सम्पदाको दिलै देखि सम्मान गर्ने मान्छे हुँ र यहाँका सम्पदा संरक्षणका अगुवाहरूले दिने कुनैपनि जिम्मेवारी पूरा गर्न हरदम प्रतिबद्ध छु ।तर संगसंगै नयाँबाटोमा पर्ने टोखालीहरू पनि कोही धोतीटोपी भएर जोगी नहोउन् । यतातिर पनि ध्यान जानु आवश्यक छ ।

    यो मिलेर सबैको हितका लागि सोच्ने समय हो । सबै एकताबद्ध भए जस्तोसुकै कठिनाइ पनि सजिलै हल हुन्छ । सरकार पनि झुक्न कर लाग्छ । सामाखुसी चोकका घर धनीहरूको एकता देख्नु भएकै छ । उनीहरूको एकताले अहिले अदालतको स्टे अर्डर पनि छ र उनीहरूका घर अब त्यत्तिकै भत्किने वाला छैनन् । बरू बाटो अब कताबाट लैजाने भन्ने विभिन्न विकल्पमा सरकारले गृहकार्य गर्दैछ । त्यसैले हामीले पनि मिलेर हर उपायबाट त्यस्तो राजमार्ग टोखामा आउन रोक्नु नै हामी सबैको हितमा छ ।

    याद गर्नैपर्ने यथार्थ के छन् भने आउटर रिङ्गरोडको काम सुरू भइसकेको छ । यहाँ आइपुग्न लामो समय लाग्नेछैन र त्यसले निकै ठूलो क्षेत्रमा डोजर चलाउने छ । टोखा सुरुङ्ग मार्गको मित्रराष्ट्र चीनसंगको संझौताको काम सुरू हुँदैछ र त्यसमा पनि बाटोको अलग सोच छँदैछ । अझ ठूलो कुरो त टोखा इलाका समेटिएको स्मार्ट सिटीको अवधारणा भित्र नगर विकासका योजनामा सबै जग्गा लिएर बस्ती र सडकका एकीकृत काम गर्ने भनिएको छ । ती कुनै पनि अवस्थामा हाम्रो यो बाटो विस्तार नचाहिन वा आवश्यक नपर्न पनि सक्छ । ती सबै छलेर अहिले अगाडि नै जग्गा नोक्सान गर्नु बुद्धिमानी हुँदै होइन । खल्तीको १०० रुपैयाँको नोट हराउँदा त एकछिन खिन्नता महसुस हुन्छ भने ३० लाख रुपैयाँ आना पर्ने जग्गा मास्न गहिरो सोच्नु पर्ने होइन ?

    उपाय के त भन्ने कुरा उठ्ला ।
    कम क्षति हुनेगरी झोर देखि नै साङ्ले खोला करिडोर वा सपनतीर्थ-साङ्लेखोला- विष्णुमती करिडोरको बारेमा सोच्न सोच्न सकिन्छ । सरकारसंग अरू विकल्प पनि हुन सक्छन् । जहाँसम्म सडकमा पानी हटाउन साइड ड्रेन र खाल्डा खुल्डी पुर्ने कुरा छ यो सबै वडा कार्यालयहरू र नगरपालिकाका बजेटबाटै गर्न सक्ने विषय हो । हाम्रै कमजोरीले अहिले यो कहींकहीं १२/१५ फिट मात्र रहेकोले अप्ठ्यारो भएको छ । थाती रहेको ३२ फिट पुर्‍याउन र पुन कालोपत्रे गर्न सडक विभागलाई सहमत गराउने विषय हाम्रा जनप्रतिनिधिको क्षमता र कार्यकुशलतामा भरपर्ने कुरा हो । पार्टी सम्बद्धता र नेतृत्वसंगको पहुँचलाई उपयोग गर्न हाम्रा जनप्रतिनिधि असफल हुने र त्यसको मार जनताले ब्यहोर्नु पर्ने कुरा मिल्दैन । नाच्नेको ज्यान जाने रमितेको धित नमर्ने कुरा पनि हुन सक्दैन ।

    केही अघि टोखा नपा ३ नं. वडा कार्यालय हलमा सरोकारवालाहरूको भेला भएको हो जसमा म समेत सहभागी थिएँ । त्यहाँ १२ मिटरको सहमति भएको विलकुल होइन । पछि त्यस प्रयोजनको अर्को कुनै जमघट भएको थाहा भएन । नगरपालिकाले समेत सबैको सहमति नजुट्दै जनताको सम्पत्ति सम्बन्धी कुरामा अनधिकार अघि बढ्न मिल्दैन । अहिले नयाँ सर्भेको प्रसंगमा वडा कार्यालयहरूसंग पनि राम्रो समन्वय नभएको जस्तो देखियो । यस्तो परिस्थितिमा हाम्रा साथीहरूलाई किन हतारो र हुटहुटी हो मैले बुझ्न सकेको छैन ।

    मेरो कसैसंग व्यक्तिगत दुर्भावना वा रीसराग छैन र हुनुपर्ने कुनै कारण पनि छैन । व्यक्तिगत सम्बन्धका हिसाबले सबैसंग मेरो दोस्ताना र मित्रवत सम्बन्ध छ । मैले टोखाका वासिन्दाको वृहत्तर हितका लागि सोचेर नै यति लेखेको हुँ । सबैले ठण्डा दिमागले सोचेर आफ्नो हित कसो गर्दा हुन्छ र हुन्न ख्याल गर्नु हुनेनै छ । भन्नु यत्ति हो कि पछि पछुताउनु नपरोस् । मेरो कुरा गलत र नाजायज लाग्छ भने माफ गर्नुहोला, तपाईंहरूको हरेक निर्णय मलाई शिरोपर छ । यस विषयमा फेरि कहीं कतै बोल्ने छैन ।


    बरू हाम्रा जनप्रतिनिधि र यसमा अग्रसर नेतृत्वका साथीहरूलाई एउटा विनम्र अनुरोध गर्छु । सक्नुहुन्छ भने यही ३२ फिट भित्र रहेर सडकको स्तरोन्नतिका लागि आवश्यक पर्ने रिटेनिङ् वाल, ड्रेनेज र कालोपत्रे समेतका सबैकाम गर्न गराउन सडक विभागलाई राजी बनाउनुहोस् ! जनताले तपाईंहरूको जयजयकार गर्दै सिन्दुर जात्रा गर्नेछन् । आगे आफ्नो मर्जी !

    अन्तिममा टोखाको सम्पत्ति भूतखेल चौरमा एउटा निजी अस्पताल सञ्चालनका लागि अनुमति दिने विषयको इतिहासको एउटा विवादित सन्दर्भ जोडेर विदा माग्छु । त्यतिबेला भूतखेल चौरमा अस्पताल भवन कम्प्लेक्सहरू बनाई सञ्चालन गर्न दिने गाविसले निर्णय गर्‍यो र तत्कालिन टोखा चण्डेश्वरी र सरस्वती गाविसमा जनस्तरमा आम सहमति जस्तो बनेर सम्झौताका कुरा अगाडि बढे । त्यतिबेला सिङ्गो टोखामा २ व्यक्ति पूर्व प्रधानपञ्च सिद्धिलाल श्रेष्ठ र नेता वीर बहादुर डंगोल मात्र यसको सार्वजनिक विरोधमा उत्रिए र यत्ति कारणले यो सोच कार्यान्वयनमा जान सकेन, तुहियो । परार ०७२ सालको भूकम्पको भयावह प्रकोपका बेला भूतखेल चौरमा आश्रय लिने थुप्रो परिवार मध्ये यी दुई व्यक्तिलाई श्रद्धाले नसम्झिने कोही भएन !

    धन्यवाद, नमस्कार !

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै