• TOKHA LIVE

      TOKHA LIVE

    • १२ भाद्र २०८३, शुक्रबार ०४:२२

    भोटेकोशी बाढीपीडितलाई टोखा नगरपालिकाले २० लाख सहयोग, १ करोड अनुदान उपलब्ध गराउने

    टाेखा काठमाडौं भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि टोखा नगरपालिकाले प्रभावित नागरिकका लागि सहयोग घोषणा गरेको छ।
    बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै टोखा नगरपालिकाले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा बाढीबाट प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
    विपद्को यस कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। उक्त रकम नगरपालिकाका जनप्रतिनिधिको सेवा–सुविधा, कर्मचारी तथा शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिने जनाएको छ।
    टोखा नगरपालिकाले विपद्मा परेका नागरिकको पीडामा स्थानीय सरकारको साथ रहेको सन्देश दिँदै सम्बन्धित स्थानीय तहलाई १ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णयसमेत गरेको छ। बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका काममा उक्त सहयोग उपयोगी हुने नगरपालिकाले जनाएको छ।
    यसैबीच, नगरपालिकाले आम नगरवासीलाई पनि विपद्को यस कठिन परिस्थितिमा मानवीय सहयोगका लागि अघि बढ्न आग्रह गरेको छ। आफ्नो क्षमता र इच्छाअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नगरवासीलाई आह्वान गरिएको छ।
    बाढीका कारण घाइते भएकाहरूको उपचारमा कुनै कमी हुन नदिन टोखा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थालाई समेत प्रभावित तथा घाइते नागरिकको उपचारमा विशेष प्राथमिकता दिन अनुरोध गरिएको छ। विपद्को समयमा स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक समन्वय गर्ने जनाएको छ।
    त्यस्तै, बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य आवश्यक राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था तथा सामाजिक अभियन्तालाई नगरपालिकाले आग्रह गरेको छ। संकलित राहत सामग्री सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी वास्तविक प्रभावितसम्म पुर्‍याउने व्यवस्था मिलाइने जनाएको छ।
    भौतिक क्षतिसँगै आफन्त गुमाएका परिवारको पीडा अझ गहिरो रहेको भन्दै नगरपालिकाले विपद्का बेला सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको जनाएको छ।
    “विपद्को पीडामा हामी एक्लै छैनौँ, एकअर्काको साथ र सहयोग नै अहिलेको सबैभन्दा ठूलो शक्ति हो” भन्ने भावका साथ टोखा नगरपालिकाले प्रभावित परिवारसँग ऐक्यबद्धता जनाएको छ।
    नगरपालिकाले उद्धार, राहत र पुनःस्थापनाका कार्यमा स्थानीय तह, प्रदेश तथा संघीय सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्था र आम नागरिकबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै