• TOKHA LIVE

      TOKHA LIVE

    • १२ भाद्र २०८३, शुक्रबार ११:५४

    भोटेकोशी पीडितको आँसु पुछ्न टोखा एकजुट, आर्थिक सहयोगको ओइरो

    भोटेकोशी बाढीपीडितका लागि टोखाबाट आर्थिक सहयोगको ओइरो
    काठमाडौं भदौ १२,२०८३ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिन टोखा उठेको छ। कहालीलाग्दो विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीको दुःखलाई आफ्नै घाउ सम्झेर टोखाका विभिन्न व्यक्ति, संस्था, व्यवसायी तथा सामाजिक समूहहरूले राहत तथा आर्थिक सहयोग जुटाउन थालेका छन्।
    बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरसँगै टोखामा सहयोगको भावना बढ्दै गएको हो। विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले विभिन्न क्षेत्रबाट आर्थिक सहयोगसँगै लत्ताकपडा तथा अन्य आवश्यक सामग्रीसमेत संकलन भइरहेको छ।
    टोखा नगरपालिकाले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु. २० लाख सहयोग गर्ने निर्णय गरेको छ। साथै, प्रभावित क्षेत्रमा भौतिक संरचना निर्माणका लागि रु. १ करोड अनुदान उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
    यसैगरी ड्रिम प्यालेस रिसोर्टबाट रु. ५० हजार, फ्रेन्डसिप ग्रुप अफ टोखाबाट रु. ५० हजार तथा रु. १ लाख २९ हजार ४७८ आर्थिक सहयोग उपलब्ध गराइएको छ। फ्रेन्डसिप ग्रुपले लत्ताकपडा तथा अन्य राहत सामग्रीसमेत संकलन गरी टोखा नगरपालिका वडा २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेको छ।
    त्यस्तै, टोखा इन्टरप्राइजेजले रु. ३० हजार, भाजु नस: परिवारले रु. ३० हजार र TST Health Club ले रु. १० हजार सहयोग गरेका छन्।
    टोखाका विभिन्न सहयोगदाताहरूले रु. ५ हजारभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको QR स्क्यान तथा सहयोगसम्बन्धी विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने क्रमसमेत बढेको छ। आर्थिक सहयोगसँगै लत्ताकपडा लगायतका राहत सामग्री संकलन गर्ने अभियान पनि चलिरहेको छ।
    विपद्को यो दुःखद् घडीमा राहत र उद्धारको कार्यलाई राजनीतिक रंग दिनुभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने आवाजसमेत उठेको छ। राजनीतिक दल, नेता तथा सामाजिक अभियन्ताहरूले आरोपप्रत्यारोप र विरोधभन्दा माथि उठेर विपद्मा परेका नागरिकको उद्धार र राहतमा एकजुट हुनुपर्ने देखिन्छ।
    आज नाफा–घाटाको हिसाब गर्ने बेला होइन, मानवता जागाउने बेला हो। पीडितको आँसु पुछ्न सक्नु, दुःखमा साथ दिन सक्नु र अप्ठ्यारोमा परेको नागरिकको हात समात्न सक्नु नै मानवीयताको वास्तविक परिचय हो।
    विपद्मा परेका नागरिकलाई साथ दिन टोखाबाट सुरु भएको यो सहयोगको भावना देशभर फैलिन आवश्यक छ। सबै मिलेर हातेमालो गर्न सके विपद्को पीडा केही हदसम्म कम गर्न सकिन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै