• Avatar photo

    TOKHA LIVE

  • २०८३ कार्तिक १४, शनिवार

वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भारी वर्षाका कारण मैदान जलमग्न भएपछि टससमेत हुन नपाई खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी लायन्स तीन अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने समान तीन अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा रहेको छ ।

आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ । वर्षा रोकिएमा कम्तीमा पाँच–पाँच ओभरको खेल भए पनि सञ्चालन गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

एक खेलमा जित र अर्को खेलमा हार बेहोरेको सुदूरपश्चिम तेस्रो खेलमा मैदान उत्रने तयारीमा छ । यता, तेस्रो खेल खेल्न लागेको विराटनगरले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ ।

प्रतियोगितामा लगातार दुई खेल जितेको कर्णाली याक्स चार अंकसहित शीर्ष स्थानमा रहेको छ । एक खेल खेलेको पोखरा एभेन्जर्स भने अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।

  • छुटाउनुभयो कि? सबै