काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिन टोखा नगरपालिका–३ ले राहत सामग्री संकलन अभियान अघि बढाएको छ।
वडा कार्यालयले बाढी तथा विपद्बाट प्रभावित नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवनलगायत संकटग्रस्त क्षेत्रमा खाद्य तथा गैरखाद्य राहत सामग्री उपलब्ध गराउन चाहने संघसंस्था, व्यवसायी तथा सहयोगी मनहरूलाई सहयोगका लागि हार्दिक अपिल गरेको छ।
वडाले पीडितका लागि खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक सामग्री सहयोग गर्न आग्रह गरेको छ। विपद्को कठिन घडीमा आफूले सकेको सहयोग गरेर पीडित परिवारको जीवनमा केही सहजता ल्याउन वडा कार्यालयले सबैमा अनुरोध गरेको हो।
वडा कार्यालयले म्याद सकिएको खाद्य सामग्री, पुराना तथा प्रयोग गर्न नमिल्ने कपडा र जिन्सी सामग्री भने नदिन विशेष आग्रह गरेको छ।
‘दुःखमा परेकाहरूका लागि हाम्रो सानो सहयोग पनि ठूलो सहारा बन्न सक्छ’ भन्ने भावनासहित वडाले सहयोगी मनहरूलाई राहत अभियानमा जोडिन आह्वान गरेको छ।
राहत सामग्री सहयोग गर्न चाहनेहरूले वडा अध्यक्ष रमेश डंगोल, कार्यपालिका सदस्य शान्ता राई, वडा सदस्य देवीमाया नेपाली, वडा सदस्य हरीकृष्ण श्रेष्ठ र वडा सदस्य हरीभक्त श्रेष्ठसँग सम्पर्क गर्न सक्नेछन्।


