काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ। परम्परागत नेवारी वास्तुशैलीलाई संरक्षण गर्दै मुख्य मन्दिरसँगै पाटी, सत्तल तथा अन्य संरचनाको पुनर्निर्माण भइरहेको हो।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण २०८१ असारदेखि सुरु गरिएको हो। काठमाडौं महानगरपालिकाका अनुसार अहिले मन्दिरसँगै आसपासका पाटी तथा सत्तलको पुनर्निर्माण र जीर्णोद्धार भइरहेको छ।
पुनर्निर्माणका क्रममा परिसरमा रहेका पुराना संरचना, शिल्प तथा मौलिक वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्त्व विभागले लिएको छ। मन्दिर परिसर पुनर्निर्माणको जिम्मेवारी तुल्सी–अम्बुजा जेभीले पाएको छ। ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
परियोजनाअन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम, उत्तर र दक्षिणतर्फ रहेका पाटी तथा सत्तललगायत संरचनाको पुनर्निर्माण भइरहेको छ। काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार पुनर्निर्माणमा काठमा कुँदिएका बुट्टेदार ढोका, झ्याल तथा थाम प्रयोग गरिनेछ। छानामा भने परम्परागत झिँगटी राखिनेछ।
उत्तरपट्टि भृकुटीमण्डप क्षेत्रतर्फ दुईवटा ब्लक आपसमा जोडिनेछन् भने दक्षिणतर्फ तीनवटा ब्लक निर्माण हुनेछन्। पुनर्निर्माणपछि सबै भवनको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट हुने महानगरपालिकाले जनाएको छ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माणलाई महानगरपालिकाको पूर्वाधार विकासको काम मात्र नभई सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र निरन्तरतासँग जोडिएको महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताउनुभयो।
पुनर्निर्माण कार्यलाई व्यवस्थित र सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको संयोजकत्वमा मन्दिर पुनर्निर्माण सहजीकरण समिति गठन गरिएको छ। समितिमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी विकास आयोजनाका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, पूर्वअध्यक्ष गौतम डङ्गोल तथा पुरातत्त्व विभाग र गुठी संस्थानका प्रतिनिधि सदस्य छन्।
महानगरपालिकाका अनुसार समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागकी विभागीय प्रमुख कुमारी राई रहनुभएको छ।
परम्परागत नेवारी वास्तुकला, काठमा कुँदिएका कलात्मक बुट्टा तथा मौलिक निर्माण शैलीलाई प्राथमिकतामा राखेर भइरहेको पुनर्निर्माण सम्पन्न भएपछि भद्रकाली मन्दिर परिसरको मौलिक स्वरूप जोगिनुका साथै काठमाडौंको महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

