• TOKHA LIVE

    • १६ बैशाख २०८३, बुधबार १८:२४

    उत्पीडित समुदायको संवैधानिक अधिकार कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता

    काठमाडौँ, १६ वैशाख: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले समाजका सबैभन्दा कमजोर अवस्थामा रहेका गरिब, विपन्न, दलित तथा सीमान्तकृत समुदायका संवैधानिक र कानुनी अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    मन्त्रालयद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री वादीले पछाडि परेका समुदायको सामाजिक जीवन रूपान्तरणका लागि भेदभाव, अपमान र हिंसाको अन्त्य अपरिहार्य रहेको बताउनुभयो।

    उहाँले भन्नुभयो, “यी समुदायको सशक्तीकरण र मूलप्रवाहीकरण अनिवार्य छ। संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै आवश्यक नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्नुपर्छ।”

    मन्त्री वादीका अनुसार देशको समग्र विकासका लागि भौतिक मात्र होइन, मानवीय विकासलाई पनि समान प्राथमिकता दिन आवश्यक छ। न्याय, समानता र हिंसाको अन्त्यसँग मानवीय विकास गहिरो रूपमा जोडिएको उहाँको भनाइ थियो।

    उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक लगायत सीमान्तकृत समुदायको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो।

    सङ्घीयताको अभ्यासले जनताको घरदैलोमै सरकारको उपस्थिति सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री वादीले राज्यका सबै तह (सङ्घीय, प्रदेश र स्थानीय) मिलेर सीमान्तकृत समुदायको पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँका अनुसार सङ्घीय शासन प्रणालीको मूल उद्देश्य ऐतिहासिक रूपमा उत्पीडित समुदायलाई राजनीतिक, आर्थिक र सामाजिक रूपमा सशक्त बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्नु हो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै