काठमाडौँ, १५ वैशाखः । टोखा नगरपालिका ले डिजिटल घर नम्बर वितरण गर्ने तयारीलाई तीव्रता दिँदै डेटा भेरिफिकेसन प्रक्रिया सुरु गरेको छ। आधुनिक र व्यवस्थित नगर बनाउने लक्ष्यसहित सुरु गरिएको यस अभियानमा नगरवासीको सक्रिय सहभागिता अपरिहार्य मानिएको छ।
नगरपालिकाका अनुसार प्रत्येक घरमा डिजिटल नम्बर जडान गर्नुअघि विवरण मिलान गर्नु आवश्यक भएकाले सबै बासिन्दालाई समयमै तोकिएका स्थानमा पुगेर आफ्नो विवरण प्रमाणित गर्न आग्रह गरिएको छ। वडा नं. १, २ र ३ का बासिन्दाले वडा नं. ३ को कार्यालय, टोखा सरस्वतीबाट सेवा लिन सक्नेछन्। साथै, मैजुहिटीस्थित नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन शाखामा पनि सेवा उपलब्ध हुनेछ।
डेटा भेरिफिकेसनका लागि घरमा टाँस गरिएको स्टिकर नम्बर, फ्लायरमा उल्लेखित नम्बर वा नजिकको घरको विवरण अनिवार्य रूपमा ल्याउनुपर्नेछ। साथै, मोबाइल एपमार्फत विवरण प्रविष्ट गरिने भएकाले नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य सरकारी कागजातको फोटो मोबाइलमै सुरक्षित राख्न आग्रह गरिएको छ। सेवाग्राहीलाई “Tokha IMAS” एप पहिले नै इन्स्टल गरेर आउन पनि अनुरोध गरिएको छ।
सहज, व्यवस्थित र डिजिटल प्रविधिमैत्री टोखा निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियानले नगरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। समयमै उपस्थित भई सहयोग गर्न नगरपालिकाले सबै नगरवासीमा हार्दिक अपिल गरेको छ।