काठमाडौँ, १६ वैशाखः बुढानिलकण्ठ नगरपालिका आयआर्जन वृद्धि, पोषण सुधार तथा स्थानीय रोजगारी प्रवर्द्धनलाई केन्द्रमा राख्दै स्थानीय महिला समूहहरूलाई लक्षित गरी लोकल कुखुरा चल्ला वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत प्रत्येक सहभागी किसानलाई ७ वटा लोकल कुखुरा चल्ला र करिब १ किलो दाना प्रदान गरिएको छ। यस पहलले घरायसी उत्पादन वृद्धि गर्नुका साथै महिलाहरूलाई आफ्नै गाउँठाउँमै स्वरोजगारको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। साथै, परिवारको पोषण अवस्थामा सुधार ल्याउँदै आत्मनिर्भर जीवनशैलीतर्फ अग्रसर बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
कार्यक्रमको शुभारम्भ नगरपालिकाकी उपप्रमुख अनिता लामाज्यूले पशु सेवा शाखा, चपली घुम्तीबाट गर्नुभयो। उनले महिलाको आर्थिक सशक्तीकरण, स्थानीय रोजगारी सिर्जना र आत्मनिर्भरता विकासका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी आधार बन्ने बताउनुभयो।
स्थानीय तहको यो प्रयासले महिलाहरूलाई आयआर्जनका अवसरसँग जोड्दै दिगो स्थानीय अर्थतन्त्र निर्माण र जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ।

