बिहीबार, मंसिर २०, २०८२
काठमाडौं ।
नेवार समुदायको महत्वपूर्ण पर्व योमरी पुन्ही आज देशभर उत्साहपूर्वक मनाइँदैछ। कृषि संस्कृतिसँग गहिरो सम्बन्ध भएको यस पर्वले नयाँ धान भित्र्याईसकेपछि कृतज्ञता व्यक्त गर्ने परम्परालाई जोगाइरहेको छ।
नेवार समुदायले यो दिन नयाँ धानको चामलबाट विशेष आकारको ‘योमरी’ बनाउँछन्। माछाजस्तै आकृतिको योमरी भित्र चाकु, तिल, दुधको खुवा जस्ता परिकार राखेर बाफमा पकाइन्छ। नेपाल भाषामा ‘यः’ को अर्थ मनपर्ने र ‘मरी’ को अर्थ रोटी भएकाले ‘यःमरी’ अर्थात् ‘मनपर्ने रोटी’ भनेर यसलाई बुझिन्छ।
धर्ती, अग्नि, जल, वायु र आकाश—यी पाँच तत्वको प्रतीकसमेत मानिने योमरीलाई स्वास्थ्य र समृद्धिसँग जोडेर हेरिन्छ।
पनौतीसँग जोडिएको प्रचलित किंवदन्ती
जनविश्वास अनुसार, पाञ्चाल देश (आजको पनौती) मा सुचन्द्र नामका एक दयालु महर्जन बस्दा रहेछन्। उनी र उनकी श्रीमती भगवान् विष्णुका भक्त थिए।
तिनकै दयाको परीक्षा लिन धनेश्वर अर्थात् कुबेर गरिब ब्राह्मणको रूप लिएर सुचन्द्रको घर पुगे। घरकी श्रीमतीले आदरपूर्वक आफूले बनाएको ताजा यमरी खुवाइन्।
उनीहरूको श्रद्धा देखेर कुबेरले आफ्नो वास्तविक रूप खुलाए र यमरीको महिमा सुनाउँदै धानको भकारीमा गणेश, कुबेर र लक्ष्मीको पूजा गरेर यमरी चढाउने विधि बताए।
सुचन्द्र दम्पतीले यो विधि पालना गरेपछि उनीहरूका घरमा धन, खाद्यान्न र समृद्धि बढ्दै गयो, शरीर पनि हृष्टपुष्ट भयो। त्यसयता नेवार समुदायमा यमरी पूर्णिमाको परम्परा सुरु भएको जनविश्वास रहिआएको छ।
दान र परम्पराको संस्कार
योमरी पुन्हीको दिन घरघरमा देवीदेवताको पूजा गरी यमरी चढाउने चलन छ। तत्पश्चात् क्षमता अनुसार पैसा, धान, चामल वा यमरी दान गर्ने परम्परा पुराना पुस्तादेखि चल्दै आएको छ।
यस दिन केटाकेटीले घर–घर गएर यमरी माग्ने चलन अझै जीवित छ। उनीहरूले गाउँभर गुन्जायमान हुने यस्तो गीत गाउँछन्।
‘ट्यो सिं ट्यो, बकसिं ट्यो
लटापाटा कुलिचाँ जुसिंट्या ।
ब्यु मह ल्यासे, म्ह ब्यु म्ह बूढीकुटी चा
छिमनचुकी जिमनचुकी, बिगोसा याकन्ब्युँ ..
अर्थात्
‘जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ
माना–पाथी जेबाट जति दिए पनि देऊ ।
दिने मान्छे राम्रो, नदिने मान्छे नराम्रो ।
तिम्रो पनि जाडो, हाम्रो पनि जाडो
दिने भए छिटो देऊ’…
यसरी कडा जाडोमा यमरी माग्दै हिँड्ने बालबालिकाको रमाइलो अनि धान्य पूर्णिमाबाट सुरु हुने समृद्धिको विश्वास यी सबैले योमरी पुन्हीलाई अझै जीवन्त बनाइरहेका छन्।

