कुमार रञ्जित~
सांस्कृतिक संरक्षित क्षेत्र टाेखामा पुग्ने जेसुकैले महत्त्वपूर्ण शिला अभिलेखहरु यत्रतत्र अव्यवस्थित रुपमा छरिएर रहेका पाउने गरेका छन्। यस अवस्थाबाट इतिहासका अध्येताहरु दुःखी हुने गरेका छन्।
प्रामाणिक इतिहास अध्ययन गर्नेहरुका लागि विभिन्न आधिकारिक स्रा ेत मध्ये एउटा विशिष्ट प्रमाण टेराकाेटा कला र अभिलेख पनि एक हाे। नेपालकाे विभिन्न स्थानमा टेराकाेटा कला र अभिलेखहरु भेटिएका छन्।
आजभन्दा ठिक एक वर्षअघि मैले गरेकाे अध्ययन भ्रमणका क्रममा टाेखा चण्डेश्वरीस्थित श्री गाैरी-भैरबेश्वर महादेव मन्दिरमा भेटिएकाे टेराकाेटामा कुँदिएकाे १९४० सम्बतकाे अभिलेखले टाेखाकै अभिलेखिय इतिहासमा नयाँ अध्याय थपिएकाे त्यसै दिन मैले फेसबूक वालमार्फत् सार्वजनिक गरेकाे थिएँ। देवनागरी लिपिमा लेखिएकाे आजभन्दा १ सय ३७ वर्षअघिकाे राणाकालिन टेराकाेटा अभिलेखले टाेखामा यसतर्फ अध्ययन गर्न अध्येताहरुलार्इ आकर्षित गर्ने निश्चित छ।

धातुकाे विशेष प्रकारकाे आँखिझ्याल बनाएर त्यसकाे माथि कुँदिएकाे टेराकाेटा अभिलेखले टाेखाबारे अध्ययन नगरि नहुने इतिहास औँल्याइरहेकाे छ। उक्त टेराकाेटा अभिलेख टाेखावासीले सुरक्षित राख्नु अत्यन्तै जरुरी छ।
टाेखामा रहेका लिच्छविकालिनदेखि शाहकालसम्मका अभिलेखहरु मध्ये टेराकाेटा अभिलेख यही एउटै मात्र प्राप्त भएकाले यसकाे विशिष्ट स्थान रहने निश्चित छ। टेराकाेटा कला र अभिलेख भन्नाले पाकेकाे इँटामा कुदिएका कला र अभिलेख भनेर बुझ्नु पर्दछ।

