काठमाडौंःअर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । (शुक्रबार) भएको भेटमा टोखा–छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको छ । चीनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्राउने विषयमा पनि छलफल भएको छ । मन्त्री महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने बताए ।भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैया उपलब्ध गराउन सक्ने जानकारी गराए। चीन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास राजदूत सोङले व्यक्त गरे।

