टोखा काठमाडौं कार्तिक १९। विद्यार्थीमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ज्ञान, सीप र सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले टोखास्थित एन्जल्स प्याराडाइज स्कुलले अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ आयोजना गर्ने भएको छ।

विद्यालयले आगामी शुक्रबार, कात्तिक २० गते प्रतियोगिता आयोजना गर्न लागेको हो। बिहान १० बजेदेखि सुरु हुने प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसैगरी नगरपालिकाका उपप्रमुख मुरारी तामाङ विशेष अतिथि रहनेछन्।कार्यक्रममा शिक्षा शाखा प्रमुख सीताराम कोइराला र टोखा नगरपालिका–३ का वडाध्यक्ष रमेश डंगोल अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।

प्रतियोगितामार्फत विद्यार्थीले रोबोटिक्स तथा आधुनिक प्रविधिसम्बन्धी आफ्नो ज्ञान, सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्। साथै विद्यार्थीमा वैज्ञानिक सोच, समस्या समाधान गर्ने क्षमता, व्यावहारिक ज्ञान र प्रविधिको प्रयोगसम्बन्धी रुचि विकास गर्ने अपेक्षा गरिएको छ।

विद्यालयले एमेका एकेडेमी अफ इनोभेसन (AMECA Academy of Innovation) सँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको हो। पछिल्लो समय विश्वभर रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता तथा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा विद्यालय तहदेखि नै विद्यार्थीलाई प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आजको नवप्रवर्तन, भोलिको स्मार्ट भविष्य’ भन्ने अवधारणालाई आत्मसात् गर्दै आयोजना हुन लागेको प्रतियोगिताले विद्यार्थीमा वैज्ञानिक सोच, प्रविधिको प्रयोग र सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालय परिवारले प्रतियोगितामा विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षाप्रेमी सबैलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।