• Avatar photo

    TOKHA LIVE

  • २०८३ कार्तिक १४, शनिवार

१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी

 

काठमाडौं कार्तिक १४ । नेपाल संवत् ११४७ को अवसर पारेर टोखामा सामूहिक म्हः पूजा आयोजना हुने भएको छ। करिब १५ वर्षपछि पुनः सामूहिक रूपमा म्हः पूजा गर्न लागिएको हो।
नेवाः गुथि टोखाको आयोजनामा आगामी कात्तिक २४ गते मंगलबार टोखा नगरपालिका वडा२ स्थित थने लाछीमा सामूहिक म्हः पूजा कार्यक्रम आयोजना गर्न लागिएको गुथिले जनाएको छ।
नेवार समुदायमा म्हः पूजालाई आफ्नै शरीर तथा आत्माको पूजा गरी आत्मसम्मान, आरोग्यता, दीर्घायु र सुख–समृद्धिको कामना गर्ने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ। नेपाल संवत्को नयाँ वर्ष अर्थात् कछलाथ्व पारुका दिन मनाइने यस पर्वमा परिवारका सदस्यहरूलाई छुट्टाछुट्टै मण्डप बनाई पूजा गर्ने परम्परा छ।
यसै सांस्कृतिक परम्परालाई सामूहिक रूपमा संरक्षण र निरन्तरता दिने उद्देश्यले नेवाः गुथि टोखाले करिब १५ वर्षपछि पुनः सामूहिक म्हः पूजा आयोजना गर्न लागेको हो। गुथिले यस वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिने लक्ष्यसमेत राखेको जनाएको छ।
आयोजकका अनुसार कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ। सामूहिक म्हः पूजामा सहभागी हुन इच्छुक व्यक्तिहरूले अग्रिम रूपमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ। सहभागिताका लागि प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
नेवाः गुथि टोखाका नायो रमेश नापितले सामूहिक म्हः पूजामा सहभागी हुन इच्छुक सम्पूर्णलाई समयमै नाम दर्ता गराउन आग्रह गरेका छन्।
उनले मौलिक नेवारी संस्कृति, परम्परा र पहिचानको संरक्षणसँगै सामूहिक म्हः पूजाले आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
लोप हुँदै गएका मौलिक सांस्कृतिक अभ्यासलाई पुनर्जीवन दिने तथा नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको सामूहिक म्हः पूजाले टोखाको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

  • छुटाउनुभयो कि? सबै