• Avatar photo

    TOKHA LIVE

  • २०८३ कार्तिक १४, शनिवार

टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए

-अशिम श्रेष्ठ

काठमाडौं कार्तिक १४। काठमाडौंको टोखाबाट पाच सय मिटरको उचाईको ड्राेनबाट  शनिबार साझ उत्तरतर्फका हिमालहरू मनमोहक रूपमा देखिएका छन्। मौसम खुलेसँगै हिउँले ढाकिएका हिमाल, पहाड र बादलको सुन्दर दृश्यले टोखाको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ।

टोखा नगरपालिकाबाट  उत्तरतर्फ देखिने हिमशृङ्खलामा मुख्यतः गणेश हिमाल, लाङटाङ हिमाल र जुगल हिमाल क्षेत्र पर्दछन्। यी हिमशृङ्खलाका अग्ला हिमचुचुराहरू सफा मौसममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवलोकन गर्न सकिन्छ।

बिहानको घामको सुनौलो किरण हिमालका हिउँमा पर्दा सेताम्मे चुचुराहरू सुनौलो रङमा चम्किएका देखिन्छन्। हिमालमुनि तैरिएका बादल र वरिपरिका हरिया पहाडले दृश्यलाई झनै मनमोहक बनाएका छन्।

मनसुनपछि मौसम क्रमशः सफा हुँदै जाँदा काठमाडौं उपत्यकाबाट हिमालको दृश्य स्पष्ट देखिन थालेको छ। वर्षायाममा धुलो, तुवाँलो र बादलका कारण ओझेलमा पर्ने हिमालहरू शरद् ऋतुमा भने आकर्षक रूपमा देखिने गर्छन्।

हालैका दिनमा काठमाडौं उपत्यकाबाट गणेश, लाङटाङ र जुगल हिमाललगायतका हिमशृङ्खला स्पष्ट देखिएको समाचारसमेत सार्वजनिक भएका छन्।

टोखाबाट देखिएको यो दृश्यले काठमाडौं उपत्यका केवल ऐतिहासिक र सांस्कृतिक सम्पदाका लागि मात्र नभई प्राकृतिक सौन्दर्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको सन्देश दिएको छ।

तस्बिर : अशिम श्रेष्ठ (फोटोग्राफी)

  • छुटाउनुभयो कि? सबै