• TOKHA LIVE

    • ७ बैशाख २०८०, बिहीबार २१:०७

    गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने

    टाेखालाइभ डट कम/बैशाख ७ , २०८०

    काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा आयोजना हुनेछ ।नगरपालिकाले साहित्यिक क्षेत्रको विकास विस्तारका लागि निरन्तर उदाहरणीय कार्य गर्दै आएको छ । प्रतियोगिताका लागि उपलब्ध रचना विज्ञ समूहद्वारा मूल्याङ्कन गराई ४० वटा रचनाको वाचन तथा गायनमा छनोट गरिनेछ । प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद रु ६० हजार पुरस्कार प्रदान गरिने नगरप्रमुख दीपककुमार रिसालले  जानकारी दिनुभयो । त्यस्तै द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिनेछ भने पाँच जनालाई सान्त्वना पुरस्कारस्वरुप जनही रु २० हजारका दरले पुरस्कृत गरिनेछ । यसैगरी महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगीका रूपमा विशिष्ठ गजलकारको उत्कृष्ट प्रस्तुति रहनेछ । महोत्सवलाई सफल र भव्यरूपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।  गोकर्णेश्वर नगरपालिकाले विगतमा राष्ट्रियस्तरको कविता प्रतियोगितालगायतका कार्यक्रम आयोजना गरिसकेको छ ।यसैगरी महोत्सवलाई व्यापकरूपमा प्रचार–प्रसार गर्न नवराज चालिसेको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ । भैरव पुरस्कार गुठी, रमेश विकल साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, सुरभी साहित्य प्रतिष्ठानसहितका अन्य सक्रिय साहित्यिक सङ्घसंस्थाको उपस्थितिका कारण पनि साहित्यिक वृत्तमा गोकर्णेश्वर नगरपालिकाको विशिष्ट पहिचान रहेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै