काठमाडौं ३ कार्तिक २०८३। सार्वजनिक बिदा, त्यसमाथि दशैँको समय। अधिकांश स्वास्थ्य संस्था र कार्यालयमा चहलपहल कम भइरहेका बेला गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्यकर्मी टोली भने नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
गोकर्णेश्वर नगरपालिका–५ निवासी रणकेशर डाँगीको घरमा शनिबार स्वास्थ्यकर्मीको टोली पुग्यो। अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका डाँगीका लागि घरमै स्वास्थ्यकर्मी आइपुग्नु उपचारको आशासँगै स्थानीय सरकार नागरिकको समस्यामा साथ दिन घरदैलोमै पुग्छ भन्ने अनुभूति पनि बन्यो।
सन् २००८ मा वैदेशिक रोजगारीका क्रममा भएको सवारी दुर्घटनामा घाइते भएका डाँगी लामो समयदेखि शारीरिक समस्यासँग जुधिरहेका छन्। दुर्घटनापछि देखिएका स्वास्थ्य समस्याका कारण उनको दैनिक जीवन सहज हुन सकेको छैन। पछिल्लो समय पुरानो समस्या बल्झिएपछि उनलाई थप उपचार तथा थेरापीको आवश्यकता परेको थियो।
तर, शारीरिक असहजताका कारण अस्पतालसम्म पुगेर नियमित स्वास्थ्य सेवा लिन उनलाई कठिन भइरहेको थियो। यस्तो अवस्थामा नगरपालिकाले सञ्चालन गरेको घुम्ती स्वास्थ्य सेवा उनका लागि राहत बनेर आइपुग्यो।
शनिबार चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली डाँगीको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य परीक्षण र थेरापी सेवासम्बन्धी परामर्श प्रदान गरेको थियो। उक्त अवसरमा गोकर्णेश्वर नगरपालिका–५ का वडा सदस्य श्रीबहादुर योगीसमेत उपस्थित थिए।
नगरपालिकाले एक साताअघि मात्रै घुम्ती स्वास्थ्य सेवा सुरु गरेको हो। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त तथा विभिन्न कारणले स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी सेवा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक साधनको व्यवस्थापनसमेत गरेको छ। घुम्ती स्वास्थ्य सेवा सञ्चालनका लागि नगर प्रमुख दीपककुमार रिसालले नगर अस्पताललाई दुईवटा स्कुटर हस्तान्तरण गरेका थिए।
घुम्ती स्वास्थ्य सेवाको उद्घाटनका क्रममा नगर प्रमुख रिसालले उपचारका लागि जसरी पनि अस्पताल पुग्नुपर्ने बाध्यताबाट नागरिकलाई मुक्त बनाउनुपर्ने बताएका थिए।
नगरपालिकाको यो पहलले विशेषगरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा शारीरिक रूपमा अशक्त नागरिकलाई घरमै स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ। सार्वजनिक बिदा र चाडपर्वको समयमा समेत सेवा निरन्तरता दिनुले स्थानीय सरकारको नागरिकप्रतिको जिम्मेवारी र सेवाभावलाई थप उजागर गरेको छ।


