नविना श्रेष्ठ
भदौ ३, २०८३
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले थाइल्याण्डको ख्लोङ साम सबडिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ अर्गनाइजेसन (SAO) को अध्ययन भ्रमण गरेको छ। भ्रमणका क्रममा स्थानीय शासन, प्रशासनिक संरचना तथा नागरिकमुखी सेवा प्रवाह प्रणालीबारे जानकारी लिइएको हो।
ख्लोङ साम सबडिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ अर्गनाइजेसन (SAO) का प्रमुख एसोसिएट प्रो. डा. विरासाक हाड्डाले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए।
मेयर रिसाल र डा. हाड्डाबीच भएको द्विपक्षीय वार्तामा दुई स्थानीय प्रशासनबीच अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने तथा स्थानीय तहमा प्रभावकारी सेवा प्रवाहका उत्कृष्ट अभ्यासबारे अनुभव र ज्ञान आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो।
भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले SAO प्रमुख डा. हाड्डा, विभिन्न विभागका प्रमुख तथा SAO परिषद्का सदस्यहरूसँग भेटघाट तथा छलफल गरेको थियो। सो अवसरमा ख्लोङ सामको स्थानीय प्रशासन प्रणाली, प्रशासनिक संरचना तथा नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने अभ्यासबारे जानकारी दिइएको थियो।
प्रतिनिधिमण्डलले शिक्षा तथा संस्कृति विभागको समेत अवलोकन गर्दै स्थानीय शिक्षा प्रणाली तथा बालबालिका र युवाको विकासका लागि सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी लिएको थियो।
त्यसैगरी, विपद् रोकथाम तथा न्यूनीकरण विभागमार्फत विपद् पूर्वतयारी, सुरक्षा व्यवस्था र विपद् व्यवस्थापनका अभ्यासबारे अध्ययन गरिएको थियो। आपत्कालीन चिकित्सा सेवा (Emergency Medical Services) इकाइको अवलोकन गर्दै स्थानीय समुदायलाई आवश्यक पर्दा छिटो उद्धार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने आपत्कालीन प्रतिक्रिया प्रणालीबारे पनि जानकारी लिइएको थियो।
भ्रमणका क्रममा क्लोङ साम सबडिस्ट्रिक्ट हेल्थ प्रमोसन हस्पिटलको समेत अवलोकन गरिएको थियो। त्यहाँ समुदायस्तरमा आधारभूत स्वास्थ्य व्यवस्थापन, प्राथमिक स्वास्थ्य सेवा तथा जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रमबारे अनुभव आदानप्रदान गरिएको थियो।
यस अध्ययन भ्रमणले नेपाल र थाइल्याण्डका स्थानीय तहबीच स्थानीय शासन, शिक्षा, विपद् व्यवस्थापन, आपत्कालीन सेवा तथा सामुदायिक स्वास्थ्यका क्षेत्रमा अनुभव आदानप्रदान र भावी सहकार्यका लागि महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
भ्रमणको समन्वय तथा व्यवस्थापन युनिभर्सल गुडनेस अर्गनाइजेसन (UGO) ले गरेको हो। नेपाल तथा अन्तर्राष्ट्रिय स्थानीय तह र समुदायबीच सहकार्य, ज्ञान आदानप्रदान तथा आपसी सम्बन्ध विस्तारमा UGO ले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ।
UGO को पहल तथा समन्वयमा सम्पन्न भ्रमणले दुई देशका स्थानीय सरकारबीच आपसी सिकाइ र सहकार्यलाई थप मजबुत बनाउने विश्वास संस्थाका अध्यक्ष राकेश महर्जनले व्यक्त गरे।


