टाेखालाइभ डट कम/ पौष ३०,२०७९
” सम्पुर्ण युवाहरू एउटै जोश,जागर र उत्साह बोकि खेलकुदलाई उच्च उठाऔं।” भन्ने नारा बोकि खेलकुदको साथसाथै सामाजिक कार्यक्रममा सक्रिय भएर २०३७ सालमा टाेखामा स्थापना भएको बाल प्रेमी खेलकुद मण्डलले हरेक वर्ष माघ ४ गते आफ्नो जन्मदिनको स्मरण गर्दै वार्षिक उत्सवको अवसरको रूपमा स्थानीय स्तरमा विभिन्न खेलकुद मनोरञ्जन तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यस वर्ष पनि बाल प्रेमी खेलकुद मण्डलको ४२ औं वार्षिक उत्सवको अवसरमा टाेखा नगरपालिका स्तरीय अन्तर विद्यालय म्याराथुन दौड र चेस प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ। जस्मा नेपाल चेस संघ र राष्ट्रिय खेलकुद परिषदको प्राविधिक सहयोग रहने छ।
माघ ४ गते हुने नगरपालिका स्तरीय अन्तर विद्यालय चेस प्रतियोगिता माघ २ र ४ गते टाेखा नगरपालिका वडा ३ को सभाहलमा बिहान १० बजे देखि सुरु हुनेछ भने नगरपालिका स्तरीय अन्तर विद्यालय म्याराथुन दौड प्रतियोगिता माघ ४ गते बिहान ७ बजे टाेखा गणेशस्थान देखि सुरु भएर टाेखा चण्डेश्वरी मन्दिर सम्म दौड पूरा गर्नुपर्ने बाल प्रेमी खेलकुद मण्डलका सचिव बिशाल डंगोलले जानकारी दिए। प्रतियोगितामा बिजयी खेलाडीहरुले प्रथम द्वितिय ,तृतीय र दशौ स्थान सम्मका लागि आकर्षक , शिल्ड , मेडल , प्रमाणपत्र र नगद पुरस्कार पाउनेछन् । इच्छुक खेलाडीहरुले प्रतियोगिताको सम्पुर्ण जानकारीको लागि क्लबका पदाधिकारीहरुको यी नं. ९८४१६२३३७७,९८४१०७६०७६ र ९८४९३३३८०६ मा सम्पर्क गर्न सकिने छ।
बालप्रेमी खेलकुद मण्डलले यस अघि फुटबलमा अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने सी डिभिजन लिग छनौट चरणका खेलहरुमा सहभागी जनाइसकेका छन् भने टोखा नगरपालिकाका अन्तर वडाहरुबीच फुटबल प्रतियोगिता ,जापान कराते डाे नान्बुकाई सितोरियो कराते प्रतियोगिता र अन्तर सहकारी महिला पुरुष ‘टग अफ वार’- डाेरी तान प्रतियोगिता आयोजना गरिसकेका छन् । त्यस्तै गतसाता क्लबले ४२ औं वार्षिक उत्सवको अवसरमा टोखा फुलकन्ट्रयाक्ट इन्कर्पोरेट कराँते फाउन्डेशनको प्राविधिक सहयोगमा आयोजित एक दिवशीय ‘प्रथम राष्ट्रिय फुलकन्ट्रयाक्ट क्योकुशिन कराँते प्रतियोगिता ‘समेत आयोजना गरि सफलता हासिल गरेका थिए। खेलकुदबाट समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने उद्देश्यले स्थापित बालप्रेमी खेलकुद मण्डलले खेलकुद र सामाजिक कार्यमार्फत समाजको विकास र परिवर्तनको कार्यमा निरन्तर अगाडी बढिरहेको क्लबले बताएको छ।

