टाेखालाइभ डट कम /असोज ७,२०७९
प्रतिष्ठित ‘कमल बहादुर विष्ट स्मृति पुरस्कार’ साँखुका पत्रकार पवनलाल श्रेष्ठलाई प्रदान गरिने भएको छ । काठमाडौं उपत्यकाको प्राचीन नगरी शंखरापुर (साँखु) बाट प्रकाशित हुने
लावण्य_सन्देश साप्ताहिक पत्रिकाका सम्पादक समेत रहनु भएका पत्रकार पवनलाल श्रेष्ठलाई यस वर्ष सो पुरस्कार सम्मान प्रदान गरिने भएको छ ।
शंखरापुर नगरपालिका साँखुको नेतृत्वदायी पत्रिका ‘लावण्य सन्देश साप्ताहिक’का संस्थापक सम्पादक श्रेष्ठलाई भोलि असोज ८ गते शनिबार सो पुरस्कार हस्तान्तरण गर्न लागिएको हो ।
साँखुमा नगद र सम्मानपत्र सहित एक समारोहबीच सम्मान गरिने जनाइएको उक्त पुरस्कारको राशी नगद रु. १५ हजारको रहेको छ ।
झण्डै दुई दशकदेखि काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगमा रहेर सक्रिय रहेर यस भेगको इतिहास, पूरातात्विक अन्वेषण, साहित्य सिर्जना, कला सँस्कृति एवं सो क्षेत्रको प्रचार-प्रसारमा विशिष्ट योगदान पुर्याए बापत उक्त पुरस्कारद्वारा श्रेष्ठलाई
सम्मान गर्न लागिएको हो ।
श्रेष्ठले नेपाल प्रेस युनियन मार्फत् दुईपटक र लावण्य सन्देश मार्फत् दुईपटक स्थानीय स्तरमा आधारभूत रेडियो एवं छापा पत्रकारिता सम्बन्धी तालिमको व्यवस्था समेत गरेका हुन् ।
कमलबहादुर विष्ट स्मृति पुरस्कार’ गुठीका अध्यक्ष राजु विष्टले विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्न यो संस्था स्थापना गरिएको बताए ।
विभिन्न सामाजिक संघ-संस्थाहरूमा समेत आवद्ध रहनुभएका पत्रकार पवनलाल श्रेष्ठ नेपाल प्रेस युनियन साँखु शाखाका संस्थापक अध्यक्ष तथा बागमती प्रदेशका पार्षद् समेत हुन् ।
गतवर्ष इतिहासविद् एवं लावण्य सन्देशका नियमित स्तम्भकार प्रकाशमान ‘सक्व’लाई यो पुरस्कार प्रदान गरिएको थियो ।

