• TOKHA LIVE

    • १९ माघ २०७९, बिहीबार २०:५१

    माधवनारायण व्रतालुले चाँगुनारायण मन्दिरमा गरे विशेष पूजा

    टोखा लाइभ। १९ माघ २०७९

    काठमाडौं। माधवनारायण स्वास्थानीका व्रतालुहरुले बिहीबार भक्तपुरको चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्।

    उनीहरुले चाँगुनारायणमुनिको जंगलमा कृत्रिम पोखरी बनाएर स्नान गरेपछि चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन्। १ महिने स्वास्थानी व्रतका क्रममा माधवनारायणलाई विभिन्न स्थानको भ्रमण गराउने प्रचलनअनुरुप व्रतालुहरु बुधबार साँझ नै चाँगुनारायण पुगेका थिए।

    व्रतालुहरु खाली खुट्टा साँखुदेखि हिँडेर चाँगुनारायण पुगेका थिए। व्रतालुहरु स्वस्थानी सुरु भएदेखि नै माधव नारायण ’परदेश’को यात्रामा थिए। चाँगुनारायणको दर्शन गरेपछि यस बर्षको माधवनारायणको परदेशको यात्रा सकिएको छ।

    माधवनारायण भगवान विष्णुको अवतार भएको र लिच्छवीकालदेखि नै व्रतालुले विभिन्न क्षेत्रको भ्रमण गराउँदै आएको संस्कृतिविद्हरुको भनाइ छ।

    स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ। स्वस्थानीका व्रतालुले माधवनारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ।

    स्वस्थानीका व्रतालु महिलाहरुले रातो र माधवनारायणका पुरुष व्रतालुले सेतो वस्त्र मात्र लगाउनुपर्ने परम्परा छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै