• TOKHA LIVE

    • १६ भाद्र २०७९, बिहीबार ०७:०८

    आमाले दिएको ५ सय रुपैयाँ बोकेर काठमाडौंँ पसेका कडेल, क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै

    टाेखालाइभ/ भदौ १६,२०७९

    काठमाडौंँ- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न दलका नेताहरू उम्मेदवारीका लागि दौडधुपमा छन् । कुनै दलसँग नजोडिएकाले कतिपय देशप्रेमी र विकासप्रेमी युवाहरू भने मंसिर ४ मा हुने चुनावमा स्वतन्त्र रुपमा दलका नेतालाई चुनौति दिने तयारीमा जुटिसकेका छन् । चुनावी मैदानमा उत्रने घोषणा गरेका मध्ये एक हुन् युवा व्यवसायी विजय कडेल ।

    प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रने घोषणासँगै कडेल आन्तरिक तयारीमा छन् । पछिल्ला दिनमा दैनिकजसो घरदैलो, मतदाता भेटघाट तथा चुनाव प्रचार प्रसारमा जुटेका कडेलले आफू विजयी हुनेमा विश्वस्त छन् । जीवनको संघर्षमा अविचलित, लगनशील र विकसित विश्वका विभिन्न देशको राजनीतिबारे जानकार कडेल पिता हरिभक्त कडेल र आमा खगेन्द्रकुमारीको कोखबाट २०४१ साल असोज १८ मा नवलपरासीको सुस्ता–४ स्थित सुकुम्वासी टोलमा जन्मिएका हुन् ।

    निम्‍नवर्गीय किसान परिवारमा जन्मिएका कारण कडेलको प्रारम्भिक बाल्यकाल आर्थिक अभाव र समस्याबीच बित्यो । त्यतिबेला उनी घरायसी तथा खेतीपातीको काम सकेर विद्यालय जाने गर्थे । सानो कक्षादेखि नै पढाइमा अब्बल कडेल मेहनेती र लगनशील स्वभावका थिए ।

    त्रिभुवन मावी बेलाटारीबाट २०५८ सालमा १० एसएलसी उत्तीर्ण गरेपछि कडेलले काठमाडौं आएर कक्षा ११ मा भर्ना हुने सपना देख्थे । तर उनको सपना परिवारको आर्थिक स्थिति बाधक बनेर उभियो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण त्रिभुवन उच्च माध्यामिक विद्यालय भर्ना भएका कडेलले २०६१ मा १२ कक्षा उत्तीर्ण गरे ।
    त्यसलगत्तै घरव्यवहार सम्हाल्ने र भविष्यको चिन्ताले रुमलिएका कडेल हुँदा खानेबाट हुनेखाने बन्ने सपना बोकेर २०६२ सालमा बाबुको इच्छा विपरित राजधानी हानिए । १७ वर्षअघि आमाले दिएको ५ सय रुपैयाँ बोकेर काठमाडौं पसेका कडेलको गोजीमा राजधानी आइपुग्दा १३० रुपैयाँ बाँकी थियो । परिवारको नाजुक आर्थिक अवस्थाका कारण राजधानी छिरेका कडेल अन्जान सहरमा एक्लै भौतारिन थाले । निम्न वर्गीय परिवार भएपनि दुःखसुख दुई छाक टार्दै आएका कडेल राजधानी आएपछि भने कतिपय रात भोकभोकै परे ।

    यसरी जीवनको कलिलो उमेरमा नै अनेकौं दुःखपूर्ण ठक्कर खाएका कडेल अविचलित भएर अडानका साथ आफ्नो कर्ममा लागिरहे । काठमाडौं आएपछि पेट पाल्नैका लागि कामको खोजीमा भौतारिँदा भौतारिँदै मुस्किलले साँचो बनाउने काम पाए । उनको मुहारमा केहि हदसम्म भएपनि खुशीयाली छाएको थियो त्यतिबेला ।मासिक ५ सय रुपैयाँ तलबमा काम थालेका कडेलले स्‍नातक तह पढुन्जेल त्यहि काम गरे । पेट पाल्ने संघर्षबीच पनि कडेलले आफ्नो पढाइलाई भने निरन्तरता दिए । उनले अंग्रजी साहित्यमा स्‍नातकोत्तरसम्म पूरा गरिसकेका छन् ।

    स्‍नातक तहको पढाई सकिएपछि उनी अष्ट्रेलिया पसे । नेपालमाको तुलनामा विदेशमा पैसा कमाउन सजिलो हुने सुनेका कडेल साहुसँग ऋण काढेर अष्ट्रेलिया पुगेका थिए । तर विडम्बना, ४ महिनासम्म काम पाएनन् । ब्याज थपिंदै गएपछि तनावमा परेका कडेलले मासु काट्ने तालिम लिएर काम थाले । एक वर्षमै नेपाल फर्किए
    लामो समय काम नपाएर भौतारिनु परेको पीडा र अष्ट्रेलियामा नेपालीले भोग्नुपरेको दुःखलाई नजिकबाट नियाल्न बाध्य भएका कडेल आफ्नो अष्ट्रेलिया बसाइलाई बीट मार्दै एक वर्षमै नेपाल फर्के ।

    ‘विदेश मेरो लागि होइन भन्ने लाग्यो, नेपालीहरूलाई हेलाको दृष्टिले हेर्ने लगायत कुराहरूले मलाई बस्न मन लागेन,’ कडेल भन्छन्, ‘नेपालको व्यवसायीक क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ, पहिला आफ्नो घर नै बनाउनुपर्छ, मेरो घर भनेको नेपाल हो, म नेपाल बनाउँछु, देशमा व्यावसायिक र आर्थिक क्रान्ति ल्याउँछु भनेर स्वेदश फर्किएँ ।’

    नेपाल फर्केपछि अष्ट्रेलियामा सिकेको प्रविधि प्रयोग गरेर कडेलले दश वर्षअघि हाइजेनिक मिट सेन्टर नामक व्यवसाय सुरु गरे । हाल काठमाडौं उपत्यकाकामा मात्र ५ स्थानमा सञ्चालनमा रहेको उनको व्यवसाय अष्ट्रेलियन टेक्नोलोजीमा आधारित छ । कडेलले हालसम्म भारत, चीन, हङकङ, मकाउ, मलेसिया, सिंगापुर, थाइल्याण्ड, अष्ट्रेलिया, हंगरी, जर्मनी, अष्ट्रिया, इटालीलगायत दर्जभन्दा बढी देशको भ्रमण गरिसकेका छन् ।

    सानैदेखि संवेदनशील र भावुक थिए, कडेल । कर्ममा विश्वास राख्ने र लगनशीलता कडेलको जीवनबाट अलग हुनै नसक्ने गुण नै हो । त्यसैले कडेल जति बौद्धिक छन्, त्यति नै अन्तर्मुखी स्वभावका पनि छन् । सानैबाट सक्रिय रुपमा समाजसेवामा लागेका कडेलले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन् ।

    काठमाडौं क्षेत्र नम्बर ५ का प्रत्यासीहरूको तुलनामा कडेलको बौद्धिकता र परिवर्तनको भोक उचों देखिन्छ । कडेल जीवन र जगतको सुझबुझमा अब्बल कडेल भन्छन्, ‘यतिन्जेल आफ्ना लागि मेहनत खटें, अब देशका लागि खट्ने समय आएको छ ।’

    देशविदेशको भ्रमण गरेका गरेका कडेल विश्व राजनीति, अर्थतन्त्र, कुटनीति लगायत विषयमा राम्रो जानकारी राख्छन् । ‘औपचारिक शिक्षा जीवनको महत्वपूर्ण पाटो हो । तर बौद्धिकताका लागि व्यावहारिक ज्ञानका लागि विविधि विषयको अध्ययन र अनुभव अत्यावश्यक छ,’ उनी भन्छन् । कडेल बौद्धिकता, आकर्षक व्यक्तित्व र व्यावसायिक सफलताबाट जो कोहीलाई जीवनमा सफलताको सुत्र पहिल्याउन सहयोग पुग्नेमा दुईमत छैन । कडेलको सफलता र अनुभवबाट कुनै एक व्यक्तिले मात्र होइन, देशले नै लाभ लिन सक्नेमा शंका छैन । – इकागज डट कम बाट साभार।

    Facebook Comments

    सम्बन्धित खवर

    विश्व फुटबलको महाकुम्भ मेला

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    छुटाउनुभयो कि? सबै