काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दिए २ मिडिया विरुद्ध उजुरी
टाेखालाइभ डट कम/श्रावण ३,२०७९
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले हिमालयन टेलिभिजन र नेपाल समाचार पत्रविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । आफू र महानगरविरुद्ध पूर्वाग्रहपूर्ण प्रतिपक्ष र भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै मेयर साहले मंगलबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।मेयर ‘बालेन’ शाहले सामाजिक संजालमा आफ्नो बिचार यसरी पोखेका छन् ।
‘सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनुपर्छ, अख्तियारको दुरुपयोग भएको छ कि वा ती संस्थाहरूले गलत काम गरेका छन् कि भन्ने भन्नेमा सजग रहेर जनमानसमा सूचना दिनु पर्छ । लोकतन्त्रको चौथो आधारस्तम्भका रूपमा पत्रकारितालाई हामी सँधै सम्मान गर्छौँ,’ उनले भनेका छन् ‘पूर्वाग्रहपूर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन । लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरूका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ ।आशा छ, आगामी दिनहरुमा पत्रकारिताले सहि र सत्य सूचना, समाचार मात्रै सम्प्रेषण गर्नेछ । नागरिकको सूचनाको हकलाई प्रदुषित गर्ने कार्यका विरुद्ध पत्रकारिताक्षेत्र नै जागरुक र सचेत हुनेछ ।