Trending now
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ स्टल रहने
२०८३ कार्तिक १३, शुक्रवार
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
२०८३ कार्तिक १३, शुक्रवार
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं कला, संस्कृति, भाषा र परम्पराले समृद्ध कथा नै कथामा बाँचेको सहर भएको बताएकी छन् ।
शुक्रबार काठमाडौं फिल्म फेस्टिभल २०२६ को उद्घाटन समारोहमा बोल्दै डंगोलले चलचित्र समाजका कथा, संस्कृति, समुदाय र जीवनशैलीलाई जोड्ने महत्वपूर्ण तथा सशक्त माध्यम भएको बताइन् ।
उनले चलचित्र मनोरञ्जनको साधन मात्र नभई समाजको इतिहास, पहिचान, संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका अनुभवलाई अभिलेखीकरण गर्ने माध्यमसमेत भएको उल्लेख गरिन् । चलचित्रले मानिसको सोच, भावना र दृष्टिकोणमा दीर्घकालीन प्रभाव पार्ने उनको भनाइ थियो ।
आफू करिब पाँच वर्षको हुँदा नेपाल भाषामा निर्माण भएको चलचित्र ‘सिलु’ पहिलोपटक हेरेको स्मरण गर्दै डंगोलले त्यसले बाल्यकालमै आफ्नो सोचमा गहिरो प्रभाव पारेको बताइन् । गोसाइँकुण्ड तीर्थयात्रामा जाने प्रेमी जोडीको कथामा आधारित उक्त चलचित्र हेरेपछि सानो उमेरमै आफूले श्रीमान्सँग गोसाइँकुण्ड नजाने सोच बनाएको रमाइलो प्रसङ्ग उनले सुनाइन् । यसले चलचित्रले बालमस्तिष्क र मानिसको जीवनमा पार्न सक्ने प्रभावलाई देखाउने उनले बताइन् ।
डंगोलले आफ्नो बाल्यकालमा घरमा टेलिभिजन नभएको र शनिबार दिउँसो छिमेकीको घरमा गएर परिवार तथा समुदायका मानिससँगै चलचित्र हेर्ने गरेको अनुभव पनि सुनाइन् । त्यतिबेला चलचित्र हेर्नु केवल पर्दामा कथा हेर्नु मात्र नभई परिवार, छिमेकी र समुदायका मानिससँग सामूहिक अनुभव साटासाट गर्ने अवसरसमेत हुने गरेको उनले बताइन् ।
उनका अनुसार चलचित्रमा विभिन्न उमेर, समुदाय र पृष्ठभूमिका मानिसलाई एउटै ठाउँमा जोड्ने क्षमता हुन्छ । एउटै कथाले फरक पुस्ताका मानिसलाई फरक ढंगले सोच्न प्रेरित गर्न सक्ने भएकाले चलचित्र समाजको चेतना निर्माण गर्ने महत्वपूर्ण माध्यम हो ।
काठमाडौंको सांस्कृतिक पहिचानबारे चर्चा गर्दै उनले दबु प्याखँ, दिप्याखँ, कार्तिक नाच र नवदुर्गा नाचजस्ता परम्परागत सांस्कृतिक गतिविधिले शताब्दीयौँदेखि सहरका कथा सुनाउँदै आएको बताइन् । आधुनिक समयमा त्यही सांस्कृतिक कथालाई चलचित्रको माध्यमबाट नयाँ पुस्ता र विश्व समुदायसम्म पुर्याउने उद्देश्यले महानगरपालिकाले पहिलोपटक काठमाडौं फिल्म फेस्टिभल आयोजना गरेको उनको भनाइ थियो ।
“काठमाडौं कथा नै कथामा बाँचेको सहर हो,” डंगोलले भनिन्, “आज हामीले सम्पदा यात्रा गर्यौँ । हरेक पाइलामा केही न केही कथा बोकेको थियो । गुर्जुको पल्टनको आफ्नै कथा थियो, कुमारीको आफ्नै कथा छ, डबलीमा प्रस्तुत नृत्यको आफ्नै कथा छ र बाजागाजाको पनि आफ्नै कथा छ । आज यहाँ काठमाडौं फिल्म फेस्टिभलको अर्को कथा कोरिँदैछ ।”
उनले काठमाडौंका टोल, चोक, ननी, बहा र बहीदेखि विस्तृत महानगर तथा विदेशमा रहेका नेपाली समुदायसम्मका विविध कथा, अनुभव र आवाजलाई चलचित्र महोत्सवले समेट्ने बताइन् । स्थानीय समुदायका मौलिक कथा, भाषा, संस्कृति र जीवनशैलीलाई चलचित्रमार्फत अभिव्यक्त गर्ने अवसर सिर्जना गर्नु महोत्सवको महत्वपूर्ण उद्देश्य रहेको उनले उल्लेख गरिन् ।
काठमाडौंले युनेस्कोको सिर्जनशील सहर सञ्जालअन्तर्गत चलचित्र सहरको मान्यता प्राप्त गरेको सन्दर्भ जोड्दै डंगोलले उक्त पहिचानलाई उपयोग गरेर अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँग सम्बन्ध विस्तार गर्ने लक्ष्य महानगरपालिकाले लिएको बताइन् । विश्वका प्रतिष्ठित चलचित्र सहरहरूसँग सहकार्य र सञ्जाल विस्तार गर्दै स्रोत–साधनले सबल, आत्मनिर्भर र अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न सक्ने चलचित्र महोत्सवका रूपमा विकास गर्ने महानगरको योजना रहेको उनले बताइन् ।
उनले सहरको समृद्धि अग्ला भवन र चिल्ला गाडीबाट मात्र मापन गर्न नसकिने धारणा राखिन् । कला, संस्कृति, भाषा, बाजागाजा, साहित्य र सिर्जनात्मक गतिविधिले नै सहरलाई जीवन्त बनाउने उल्लेख गर्दै मौलिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइन् ।
“हाम्रा कुनै पनि सहर अग्ला–अग्ला भवन र चिल्ला गाडीले मात्र समृद्ध हुन सक्दैनन् । सहरको कला, संस्कृति, भाषा, बाजागाजा, साहित्यजस्ता सिर्जनात्मक क्रियाकलापले नै हाम्रो सहरलाई जीवन्त र समृद्ध बनाउने हो,” उनले भनिन् ।
यसैगरी, हास्य कलाकार हरिवंश आचार्यले राम्रो काम गर्ने हरेक व्यक्ति हिरो हुने बताएका छन् । चलचित्रमा अभिनय गर्ने कलाकारलाई मात्र हिरोका रूपमा हेर्ने परम्पराभन्दा बाहिर निस्केर समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने सबै व्यक्तिलाई सम्मान गर्नुपर्ने उनले बताए ।
आचार्यले कार्यवाहक प्रमुख डंगोलले नेपाली चलचित्र क्षेत्रका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै उनलाई ‘हिरो’को संज्ञा दिए ।
“हामी चलचित्रमा काम गर्छौँ, हामीलाई हिरो भन्छन्, हिरोइन भन्छन् । तर राम्रो काम गर्ने मान्छे जो पनि हिरो हो । हामी मात्रै हिरो होइनौँ, हरेक क्षेत्रमा आफ्नोतर्फबाट योगदान दिने सम्पूर्ण मान्छे हिरो बन्छन्,” उनले भने ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको चलचित्र महोत्सव नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आचार्यले यसले नेपाली चलचित्रकर्मी र चलचित्र क्षेत्रको प्रतिष्ठा बढाउन सहयोग पुर्याउने बताए । महानगरपालिकाले चलचित्र क्षेत्रलाई अभिभावकत्व प्रदान गर्दै अन्तर्राष्ट्रियस्तरमा पहिचान विस्तार गर्ने अवसर सिर्जना गरेको उनको भनाइ थियो ।
“यो चलचित्र महोत्सव गरिदिएर नेपाली चलचित्रकर्मी र नेपाली चलचित्रको सम्पूर्ण इज्जत बढ्न पुगेको छ,” उनले भने ।
आचार्यले महोत्सवलाई अझ प्रभावकारी र गरिमामय बनाउन नेपाली चलचित्रकर्मीले पनि गुणस्तरीय चलचित्र निर्माणमा ध्यान दिनुपर्ने बताए । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन विषयवस्तु, प्रस्तुति र निर्माणको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएकाले चलचित्र निर्माणका लागि नेपाल आफैँमा विशाल छायांकनस्थल भएको उनले बताए । यहाँका हिमाल, पहाड, प्राकृतिक सुन्दरता, मौलिक संस्कृति तथा पुर्खाले निर्माण गरेका विश्वप्रसिद्ध देवालय र मन्दिरलाई चलचित्रमार्फत विश्वसामु चिनाउन सकिने उनको भनाइ थियो ।
काठमाडौं फिल्म फेस्टिभलले नेपाली समाजका विविध कथा, मौलिक संस्कृति र सिर्जनात्मक प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ ।

