नविना श्रेष्ठ
असोज १०, २०८३
काठमाडौं । काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा परम्परागत तथा सांस्कृतिक पर्व इन्द्रजात्रा भव्य रूपमा मनाइएको छ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गर्दै मनाइने इन्द्रजात्राका अवसरमा वसन्तपुरमा रथयात्रा, विभिन्न सांस्कृतिक झाँकी तथा परम्परागत नाच प्रस्तुत गरिएको थियो।
इन्द्रजात्राका अवसरमा कुमारी घरबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा निकालिएको थियो। मनसुनी झरीबीच पनि रथयात्रा हेर्न स्थानीयवासी, उपत्यकाका विभिन्न क्षेत्रबाट आएका सर्वसाधारण तथा संस्कृति प्रेमीहरूको ठूलो भीड वसन्तपुर र आसपासका सडकमा देखिएको थियो।
जात्रामा विभिन्न सांस्कृतिक समूह तथा समुदायको सहभागितासँगै परम्परागत बाजागाजा प्रस्तुत गरिएको थियो। देवप्याखँ, लाखेनाच, पुलुकिसी नाचलगायतका परम्परागत नाच तथा सांस्कृतिक प्रस्तुति इन्द्रजात्राका प्रमुख आकर्षण बनेका थिए।
इन्द्रजात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, काठमाडौँ महानगरपालिकाकी प्रमुख सुनिता डंगोल, मन्त्रिपरिषद्का सदस्य, सुरक्षा निकायका प्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, महानगर प्रहरी, नेपाल स्काउट, विभिन्न संघसंस्था, बुद्धिजीवी, संस्कृतिप्रेमी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
इन्द्रजात्रा काठमाडौँ उपत्यकाको प्राचीन नेवार संस्कृति, धार्मिक आस्था र सामाजिक एकताको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ। जात्राका कारण वसन्तपुर, असन, इन्द्रचोक, हनुमानढोका लगायतका क्षेत्रमा विशेष चहलपहल देखिएको थियो।




