टाेखालाइभ डट कम
जेष्ठ २४ २०७९ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्याएको फोहोर नउठाउने भएको छ । फोहोर उठान सहमति भएको भोलिपल्ट मंगलबार सामाजिक सञ्जालमार्फत मेयर साहले उक्त जानकारी गराएका हुन् । महानगरबासीलाई सूचीत गर्दै साहले फेसबुकमार्फत भनेका छन्, “नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ ।” महानगरले दिर्घकालीनरुपमा फोहोरको व्यवस्था खोजिरहेको भन्दै मेयर शाहले अब पहिलाका जस्ता गल्तीहरु नहुने बताएका छन् ।
उनले छुट्याइसकेको फोहोर पनि मिसाउने गल्ति महानगरले नगर्ने प्रतिबद्धता जनाएका छन् । “हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन”, उनले भनेका छन् । मेयर साहले फोहोर नउठ्दा पाएको दुःख र अप्ठ्यारोप्रति माफी पनि मागेका छन् । उनले अहिलेको फोहोर उठ्ने सम्झौता अल्पकालिन समाधान मात्रै भएको भन्दै महानगरले दिर्घकालीन खोज्ने बताए । “कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ’, “हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्याँकेर वा थुपारेर हुँदैन ।” लामो समयदेखि फोहोर उठ्न नसकिरहेको विषयमा सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो । सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।

