• TOKHA LIVE

      TOKHA LIVE

    • १४ असार २०७७, आईतवार ०९:१७

    हातहतियार मुद्दा लगाउने, दुई वर्षीय छोरा !

    Babu Ram Ghimire , Buddhist Study, TU.PhD  Scholar

    जनयुद्धको सुरुवाती साल 2052 बैसाख, मेरो बिबाह रञ्जना शर्मा सँग भयो | 2053 साल वैशाखमा छोरी प्रगतिले धर्ती टेकिन् | प्रकृतिको नियम, 2055 माघमा छोरा प्रमाण जन्मियो | आन्दोलन दिनानुदिन झाङ्गिँदै, विवादित हुँदै, तरंगित हुँदै जाँदै थियो, माओवादी पक्ष र सत्ता पक्षका बीचमा सम्बन्ध अझ बिग्रदै थियो | त्यसको दबाब र प्रभाव गोर्खा जिल्लाका शिक्षकहरुमा परिरहेको थियो | म आफ्नै गाविसको भगवति मा. बी. दर्बुङमा कार्यरत थिए र मेरो दैनिक झण्डै चार घण्टा जंगलको बाटो पैदल यात्रा तयार हुन्थ्यो | जनआन्दोलनका इतिवृतान्तहरु, कुनै न कुनै दिन विस्तृतमा कोट्याउला | तर तथ्यगत रुपमा मिति खुट्याउन गाह्रो परेपनि 2057 सालको फागुन महिना तिरको कुरा हो | जुन दिन मलाई मेरो दुई वर्षीय छोराले आर्मी लगाई हातहतियार मुद्दा खेप्न बाध्य बनायो | यहाँ, मात्र त्यो दिनलाई केन्द्रित गरिँदैछ |

    म एस.एल.सी. परीक्षा सञ्चालनको लागि, परीक्षा केन्द्र हिमालय मा.वि. बतासे गोरखामा विद्यार्थीहरु लिएर गएको थिए | एक हप्ता उतै बस्ने योजना बन्यो | व्यावसायिक रुपमा घरमा पसल सञ्चालन भएको थियो र रञ्जना पसलमा बस्थिन् | अहिले, उनी कन्या मन्दिर मा.बि. क्षेत्रपाटीकि सामाजिक स्थायी शिक्षिका हुन् | छोराछोरीहरु हुर्कने समयमा, व्यापार व्यवसायलाई जोड्दा, केही आर्थिक समुन्नति पनि हुने र लोकसेवा आदिको तयारी पसलमै बसेर गर्न मिल्ने निष्कर्ष निकालियो | घटीमा पनि पाँच वर्ष यसलाई निरन्तरता दिने, पछी परिस्थितिअनुसार तत्कालीन निर्णय गर्ने, उद्देश्यले व्यापार गरियो | हाम्रो व्यापार, छिटै फड्को मार्न सफल भएको हुनाले, हामीले यो पेशालाई उपयुक्त पेशाको रुपमा ठानेका थियौं | अरु व्यापारीहरुलाई निकै धक्का मिल्यो , जुनकुरा छिमेकीव्यापारीहरुलाई पटक्कै मनपरेको थिएन | हाम्रो भन्दा फरक विचार भएका मान्छेहरु, हामीसँग बदला लिनेउद्देश्यले, माओवादी पार्टी प्रवेश गरी, हाम्रो पसल तोडफोड तोडफोड गरियो जुनबेला म घरमा थिइन | यसको मूल बाहना थियो, आर्मीहरुले हाम्रो घरमा/ बारीमा आफै खाना बनाएर खाएका दिए | हामीले केवल स्थान मात्रै उपलब्ध गराएका थियौं |

    2057 सालको फागुन अन्तिमतिर हुनुपर्छ, तिथिमिति सम्झना सकिएन | मेरो छाेरो दुइ वर्ष केही नाघिसकेको थियो | गोराकिलो, हट्टाकट्टा, सट्ट ,राम्रो अनुहारको, एउटा ग्रुपमा खेल्नसक्ने, सानो आकारको भकुण्डो लिएर सडकतिर खेल्दै थियो | सानैदेखि सबैसँग बोल्ने बानी परेको, पसल वरिपरि खेल्ने, मान्छेहरु आइरहने, सबैले बोलाउने, काखमा लिने भएकोले, जो कोही मान्छेलाई पनि आफ्नै ठानी सहजै बोल्ने, काखमा जाने लुटपुटिने, उसको बानी थियो | आफै जानेको नाता लगाएर बोलाउँदै यो किनिदिनु भन्थ्यो | तीन दिनअगाडि झण्डै डेढ सयको संख्यामा आएका माओवादीहरु सँग उसले त्यस्तै संवाद गरेको रहेछ | र रातो डटपेनले उसको पाखुरामा एउटामा घडी, अर्कोमा पिस्तोलको चित्र बनाएको रहेछ | माओवादीका सेनाहरु यही गाउँमा एक रात बिताएका थिए | हामीकहाँ आउने बस्ने खाने सामान्य भएकोले, उसलाई बानी परिसकेको थियो | पसलको अगाडी फराकिलो बस्ने ठाउँ थियो | बस्ने ठाउँ भन्नुको अर्थ, जोकोही जहिले आएर त्यही बस्ने | एकपटक अडिएर दायाँबायाँ लाग्ने भौगोलिकरूपको त्यस्तै ठाउँ छ, चौबाटो परेको |

    त्यसको तीन दिन पछि, शाही सेनाहरूको समूह एक डेढ सयको संख्यामा आयो | उसले सेनालाई माओवादी uncle मेरो घडी र बन्दुक चिन्न भनेर देखाएको हुनाले, उसलाई विविध प्रश्नहरु गरेछ | दाजु गाविस निर्वाचित उपाध्यक्ष भएकोले, हाम्रो घर वामपन्थी घरको रुपमा जिल्लामा परिचित थियो | पुरानो राजनैतिक परिवार भएको हुनाले सरकार र माओवादी दुवैले, नजर लाउने परिवारको रुपमा हामी परिचित थियौं |

    सायद छोरासँग सेनाले गरेको सम्बादको आधारमा घरमा बन्दुक भएको, बन्दुक बिक्री गर्ने गरेको, माओवादी आएर बस्ने खाने गरेको, आर्थिक सहायता प्रदान गरेको, बुवाले तराईबाट किनेर लेराउने गरेको, अनि बुवाले मलाई पनि दिने गरेको बताएको भन्छन् सेनाहरु | सोही आधारमा मेरो पसल एक्कासी सेनाले तोडफोड गर्न सुरु भयो | चामलका बोरा हरु पुरै फुटायो, मट्टितेल drum हरु ढलायो, खुद्रा सामानका र्याकहरु यत्रतत्र ढालीए | खानेतेलका प्याकेटहरू लौराले घोचेर पोखरी बनाइयो | जिल्ला सदरमुकाममा 15/15 दिनको तयारीमा तारिखमा हाजिर हुन, लगातार तीन महिनाको लागि, आदेश दिइयो | सामानहरु  फेरी, मेरै पसलको सामान खरिद गरी, मासु, भात पकाएर खाएर बिदा भए | मलाई, हातहतियार खरखजाना ओसारपसारको मुद्दा लाउने छोरो अहिले engineer भएको छ |

    परिवेश हरु कुमालेको चक्र झैं घुमिरहेका थिए | फेरि, माओवादीहरु आए, म उनीहरुलाई सहानुभूति आखाले जरुरि हेर्थि | साथी सम्झन्थे, सहयोग पनि गर्थि | तर, म माओवादी थिईन | अप्रत्याशित र अस्वभाविक, ठूलो आर्थिक सहयोगको प्रस्ताव राखे, जुन सम्भव पनि थिएन र विगतमा राख्ने गरेका पनि थिएन | त्यस्तो खालको उजुरी परेको रहेछ माओवादी उपल्लो तहका नेताहरूमा कि, यसले आर्मीलाई घरमा राखेर खाना खुवाएर तपाईंहरूको विरुद्ध काम गर्दैछ | उजुरी गर्नेहरु, दैनिकरुपमा वल्लो- पल्लो घरमा बसेर फरक पार्टी र विचारधारा राख्ने जो communist लाई कैले मन पराउदैन थिए | उनीहरु15 दिन अघि माओवादीमा प्रवेश गरे | त्यसको अर्को 15 दिनपछि फेरि मेरो पसल तोडफोड भयो | अहिलेको पटकको तोडफोड सेनाको तुलनामा भयानक, दर्दनाक, र ज्यादतीपूर्ण थियो | कुनै राजनीतिक विचार र गन्ध थिएन, यो तोडफोडमा | न, कैले जिबनमा माओ भनेर चिनेका मान्छेहरू थिए, न कहिल्यै अगाडि तिनको विचारधारा थियो, न त्यसपछि |  उनीहरू केही समयका लागि माओवादी भए, व्यापार प्रतिशोधका लागि सामान तोडफोड गरे | पूर्णरुपमा क्षति भयो, आर्थिक रुपमा तहसनहस भयो र परिवारहरु त्यस ठाउँमा बस्न सम्भव नहुने निष्कर्षमा पुगियो |

    मातृभूमिको माया पनि त्यसरी निर्मम तरिकाले हराउदो रहेछ !  वास्तवमा भित्र आत्मा देखि नै मलाई मेरो मातृभूमिप्रति माया लागिरहेको छैन | माटोलाइ चुप्प खाएर मात्र वास्तविक माया हुँदैन | माटोलाइ जगेर्ना गर्ने भावनाहरु, विचारका धनी हुनु पर्दछ, स्वभावका धनी हुनुपर्दछ, चेतनाका धनी हुनु पर्दछ ! तब न मातृभूमिको माया हुन्छ | मातृभूमिले पनी मायालु भावना व्यक्त गर्न जान्नुपर्दछ ! विदेशिएकाहरु रहरले घुमफिर गर्न, मात्रै  विदेशिएका छैनन् | मेरो जस्तै पिडाहरु बोकेर काठमाडौँमा बस्न नसकेर विदेशिएका पनि छन् ! तिनलाई मातृभूमिले देखाउने माया सही माया देखाएको छैन ! जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ! भन्न मन लाग्नेहरूलाई भन्न बाट बञ्चित वातावरण नबनाइयोस् शुभकामना !!

    अन्तमा:

    हतियारको प्रसङ्ग, मा म मेरो दुई वर्षीय छोरालाई पुनः धन्यवाद दिन चाहन्छु | उसले झूट बोलेको थिएन | हाम्रो पसलमा सम्पूर्ण सामानहरु को अलावा, ससाना बच्चाले खेल्ने, प्लास्टिकका बन्दुकहरु थिए | मेरो छोरोको खुसीका लागि म प्लास्टिकका बन्दुकहरु पनि खरिद गर्थी, नभए उ रुने गर्दथ्यो | मेरो परिभाषामा छोराको लागि म मातृभूमि हो ! छोरालाई रुवाउनु मातृभूमिको कर्तव्य कदापि होइन | मलाई विश्वास छ तब मात्र छोराले मातृभूमिको रक्षा गर्नेछ ! पुनः जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी धन्यवाद !

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै