टोखा लाइभ ।मंसिर १, २०७८
विश्व शक्ति राष्ट्र अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूतहरुले रारा तालको भ्रमण गरेका छन्। अमेरिकी राजदूत र्यान्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिटले रारा भ्रमण गरेका हुन्। यी कूटनीतिज्ञहरुले रारा भ्रमणका क्रममा त्यहाँको प्राकृतिक सौन्दर्यको आनन्द त लिए नै। साथै स्थानीय जीवनशैलीको पनि अवलोकन गरेका छन्। यस्तै जलवायु परिवर्तनको विषयमा पनि उनीहरूले निकै चासो लिएको पाइयो।
यसै सन्दर्भमा अमेरिकी राजदूतले रारा बसाइमा के कस्ता अनुभूति लिए त? अमेरिकी राजदूत बेरीले तीनदिने रारा बसाइमा लेखेको डायरी उनकै शब्दमा –
पहिलो दिन
तपाईंहरूका केही जिज्ञासा लिन्छु। म किन यो यात्रामा निस्कें? रारा ताल नै किन? किनभने जलवायु परिवर्तन विनाशकारी छ। यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्छ। यो हाम्रो वर्तमान र हाम्रो भविष्य हो। यो खतराको घण्टी हो। रारा ताल नेपालको सबैभन्दा ठूलो र हिमाली क्षेत्रमा अवस्थित ताल हो।
यो झन्डैझन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिको बासस्थान पनि हो। जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीले आगलागी, बाढीपहिरोलगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असरकमा कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ। अग्ला भेगमा हुने विभिन्न खाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूसम्म पनि पर्ने गर्दछ।
त्यसैले म किन यो यात्रा गर्दैछु त। स्पष्ट छ, म तपाईंहरू सबैलाई यी सवै विषयका बारे अवगत होस् भन्ने चाहन्छु।
दोस्रो दिन
रारा तालको किनारबाट नमस्ते! ‘विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्यास घटाउने लगायतको महत्त्वाकांक्षी प्रतिबद्धता व्यक्त गरेको छ।
अमेरिका, संयुक्त अधिराज्य तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने गरी विभिन्न कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्, जुन कदम संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्त्वपूर्ण हुनेछ। मसँगै आउनुभएका साथीहरू र म यो यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिबद्ध छौं। कहिलेकाहीं म झसंग भएर सोच्ने गर्छु।

हामीले साँच्चै केही गर्न सकिएला त? सँगै के एउटा मात्रै देशको ग्रिनहाउस ग्यास घटाउने प्रतिबद्धताले खासै ठूलो फरक पर्ला त? मलाई लाग्छ यी दुईवटै प्रश्नको उत्तर सकिँदैन हुन्छ होला।
कम्तीमा अहिलेको समय जहाँ हामी जलवायु परिवर्तनको यो मोडमा आइपुगेका छौं, मा त पक्कै नकारात्मक उत्तर होला। तर हामी सबै यो पृथ्वी नामको घरमा सँगै बस्छौं, र यो घर साह्रै गजबको र दर्शनीय छ। त्यसैले हाम्रा प्रयास पनि दुवै तहमा हुनुपर्यो, हाम्रो दैनिक जीवनमा एक व्यक्तिका रूपमा तथा विश्वस्तरमा देशका रूपमा।
त्यसैले अबदेखि म प्लास्टिकका बोतलहरू प्रयोग भएका पेयपदार्थहरू प्रयोग गर्ने छैन, मलाई विश्वास छ कि हामीले गर्ने सक्दो प्रयास जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न महत्त्वपूर्ण छ।

तेस्रो दिन
‘मैले आफ्नै देशबाहेक सबैभन्दा धेरै समय बिताएको ठाउँ नेपाल हो। यहाँका परिदृश्यहरू संसारमा अन्यत्र नपाइने किसिमका छन्। साथै यहाँको भाषा, संकृति, तथा जनजीवनको विविधता उल्लेख्य छन्। यो कुनै अचम्म होइन कि यति धेरै पर्यटकहरू यहाँ आउन चाहन्छन्।
पर्यावरणीय पर्यटनले पर्यटन क्षेत्रका नकारात्मक प्रभावलाई कम गर्ने उद्देश्य राख्दछ: फोहोरमैला, पानीका बोतल, एकदमै खेर फालिने खानेकुरा आदि।
आज बेलायती राजदूत पोलिट, अस्ट्रेलियाली राजदूत भल्क र मैले मिलेर रारा राष्ट्रिय निकुन्जलाई तीन वटा सोलार प्यानल हस्तान्तरण गर्यौं। कोप २६ सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभएजस्तै जलवायु परिवर्तनका असरहरूको सामना गर्न तथा दीर्घकालीन उर्जाको विकासका लागि सौर्य उर्जा लगायत महत्त्वपूर्ण साधन हुन सक्छन्।
रारा ताल मैले घुमेका ठाउँमध्ये अत्यन्तै सुन्दर परिदृष्य, जनजीवन, तथा सौन्दर्यको हिसाबले अतुलनीय स्थान हो। तैपनि यसले मलाई संसारमा सबैतिर देखिने स्थानहरूको सम्झना गराउँछ – त्यस्तो ठाउँ जसले जलवायु परिवर्तनको चुनौती सामना गरिरहेको छ र समाधानको खोजी अत्यन्तै जरूरी। म मेरा साथीहरूलाई यात्रामा साथ दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। अब काममा लाग्ने बेला भयो।

