टाेखालाइभ डट कम/ असोज २६,२०७८
काठमाडौं । नेवार समुदायमा प्रचलित ‘सिलु म्ये’ मै आधारित रहेर फिल्म निर्माण टिमले ‘तुयू’ फिल्म निर्माण हुने भएको छ।
काठमाडौंको च:मति साकिपा: प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म तुयू निर्माण हुने छ। मार्खुको डी लेकसाइद सिम्लाङ होटलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फिल्मको शुभ मुहूर्त गर्नुभएको छ।
नेवा: समुदायमा सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने जनविश्वास रहिआएको पाइन्छ । तर महिलाहरु तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता छदै थियो। त्यसैले पुरुष पात्रले जोशीलाई जोखना देखाउँछ। जोशीले पनि श्रीमतीलाई नलैजाउ नत्र विछोड हुन्छ, दुःख मात्रै पाउछ भन्छ। श्रीमती भने प्रेम र अन्धविश्वासमा प्रेमलाई रोज्ने पक्षमा हुन्छिन्। अनि दुई दम्पतीको सिलु तिर्थ यात्रा सुरु हुन्छ। सिलु तिर्थ यात्रा निस्कदा महिला पात्रले त्यसबेलाको समाजको लैंङ्गिक व्यवस्थाविरुद्ध प्रतिरोध गर्छिन्। सिलु म्ये त्यही प्रतिरोधको गीतिकथा हो।
सिलु तिर्थ गएर फर्किएका महिला पात्रलाई व्यभिचारी राजाले सिपाहीहरु पठाएर अपहरण गरी दरबार लैजान्छ। त्यस क्रममा राजाले पठाएको तारी स्वाँ (फूल) महिलालाई दिइन्छ। विछोडको संघारमा रहेको बेला श्रीमान् निरिह हुन्छ। महिलाले भने श्रीमानलाई नरुन र राजाले दिएको तारी स्वाँ श्रीमानलाई नै सिउरिदिने भन्दै राजासँग दरबारमा प्रतिरोध गरेर फेरि भेट्ने इच्छा प्रकट गर्छिन्।
दरबार पुगेपछि राजाले ती महिलालाई राजसी सेवा सुविधा दिने बताउँछन्। तर महिला भने राजाको सबै सुविधा अस्वीकार गर्दै आफ्नै श्रीमानसँग कसरी भेट्ने भन्ने युक्ति खोज्दै हुन्छिन्। त्यस क्रममा महिलाले चतुर्माससम्म आफ्नो व्रत रहेको भन्दै राजाबाट बच्न सफल हुन्छिन्। र व्रत तोड्ने दिन जोगीहरुलाई दरबारमा बोलाउन भन्छिन्। त्यही बेला ती महिलाका श्रीमान् पनि जोगी बनेर दरबार पुग्छन् र दुवै जना भाग्न सफल हुन्छन्।
यहि कथाको सेरोफेरोमा घुमेको छ मल्लकालमा लेखिएको ‘सिलु म्ये’। नेपाल भाषामा गोसाइकुण्डलाई सिलु भनिन्छ। म्ये भनेको गीत।
उक्त फिल्मको शुभ मुहुर्तको लागि चःमतिदेखि चित्लाङसम्म ‘तुयू’ फिल्मसँग सम्बन्धित कलाकर्मिहरू पुगेका थिए । निर्माणपक्षबाट शुभ मुहुर्तपश्चात ऐतिहासिक नगर चित्लाङको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नगर भ्रमण गराउनु भएको थियो ।इतिहासका अध्ययेताहरूका अनुसार परापुर्वकालदेखि गाउन सुरू गरिएको सिलु म्येु जयप्रकाश मल्लको शासन कालमा लिपिबद्ध भएको थियो ।

सिलु म्ये पुरुष पात्र र महिला पात्रबिचको संवाद हो। नेवार समुदायमा अहिलेसम्म प्रचलित यो बांख म्ये ९गीतिकथा ले तत्कालिन समाजको परिवेशको चित्रण गर्ने प्रयास गरिएको छ। यही परिवेशलाई पूर्णकाजी ज्यापूले फिल्म मार्फत प्रस्तुत गर्न लागेका हुन्।छिट्टै फिल्मको छायाङ्कन सुरु हुने निर्माण पक्षले बताउनुभएको छ। फिल्ममा रेशमी महर्जन, योगेन महर्जन र राजेन्द्र महर्जनको मुख्य अभिनय रहनेछ। फिल्म चितलाङको गाउँ परिवेशमा आधारित रहेर निर्माण हुने बताएको छ।
फिल्ममा गीत, कथा र संवाद पूर्णकाजी ज्यापूको रहेको छ। सोहन मानन्धरको छायाङ्कन रहने फिल्मको पटकथा र सम्पादन पनि सोहनको हुनेछ। जुगल डंगोलको संगीत रहेको फिल्मको निर्देशन पूर्णकाजी ज्यापू र अनुज डंगोलको हुनेछ।फाेटाे सौजन्य: श्रेयरत्न शाही

