• TOKHA LIVE

    • १६ आश्विन २०७८, शनिबार ०५:४१

    २२ वर्ष पछि माल्दिभ्सलाई नेपालले १-० गोल अन्तरले हरायो

    टोखा लाइभ ।२०७८ असोज १६ गते

    काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत आयोजक माल्दिभ्सलाई नेपालले १-० गोल अन्तरले पराजित गरेको छ ।

    खेलको ८६ औं मिनेटमा मिडफिल्डर मनिष डांगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक सावित भयो । काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई मनिषले अघि बढाउँदै गोल गरेका थिए । त्यसक्रममा उनले तीन डिफेन्डरको चुनौती काट्दै गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।

    खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन र आक्रमणमा पकड जमाएपनि नेपाली टोलीले अनुशासित डिफेन्स गर्दै खेलमा आफूलाई कायम राखेको थियो । काउन्टर अट्याकमा समय समयमा माल्दिभ्सलाई समस्या दिएको नेपालले अन्तिम समयमा गोल पनि सोहि रणनीतिमा गर्यो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले मिडफिल्डले दिएको बललाई तीन डिफेन्स काट्दै सुन्दर गोल गरेका थिए ।

    नेपाल र माल्दिभ्सबीच यसअघि १६ पटक भेट भएको थियो । त्यसमध्ये ८ खेलमा माल्दिभ्सले जित हासिल गर्दा नेपालले ४ खेलमा जित तथा ४ खेल भने बराबरीमा टुंगिएका थिए । दुई दशक भन्दा लामो समयदेखि नेपाली टोलीले माल्दिभ्सलाई हराउन सकेको थिएन । पछिल्लो पटक नेपालमा १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) यता नेपालले माल्दिभ्समाथि जित निकाल्न सकेको थिएन । त्यति बेला नेपालले २–१ ले जितेको थियो ।

    त्यसयताका ७ खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन । यसबीचमा ५ खेलमा हार बेहोरेको नेपालले २ खेलमा भने बराबरी खेलेको थियो । पछिल्लो पटक नेपाल र माल्दिभ्सले सन् २०१८ को साफ च्याम्पियनसिपमा खेलेका थिए । त्यसबेला सेमिफाइनलमा नेपाललाई ३-० ले हराउँदै माल्दिभ्स फाइनल पुगेको थियो । माल्दिभ्सले भारतलाई हराउँदै उपाधि नै जितेको थियो ।

    प्रशिक्षक अब्दुल्लाहले गोलरक्षकमा कप्तान किरणलाई जिम्मेवारी दिँदा डिफेन्समा सुमन अर्याल, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठलाई अवसर पाएका थिए ।

    यस्तै मिलाइनमा रोहित चन्दसँगै पूजन उपर्कोटी, तेज तामाङ रहेका छन् । यता अट्याकमा भने नवयुग श्रेष्ठलाई सुजल श्रेष्ठ र अन्जन विष्टले सहयोग गरेका थिए ।

    ५ टोली सहभागी यस साफमा पाकिस्तान र भुटानको सहभागिता रहने छैन । यस पटक भारत, माल्दिभ्स, नेपाल, श्रीलंका र बंगलादेश प्रतियोगिता सहभागी रहेका छन् ।

    आजनै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पनि १-० गोल अन्तरले पराजित गरेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै