• TOKHA LIVE

    • २३ भाद्र २०७८, बुधबार १९:३१

    कुशेऔंसीमा बुबालाई स्मरण गर्दै नेकपा एमाले महासचिव ईश्वर पोखरेलले कवितामा खोजे : “मेरा बा”

    टाेखालाइभ डट कम / भाद्र २३,काठमाडौं

    मैले मेरा बा खोज्न –
    धेरै पटक आफ्ना दिमागका आँखा मिचे,
    आँखा चिम्म पारेर प…र प…र हेर्न खोजे ..!।
    चम्किरहेका ताराहरू र चहकिलो जून नियालें ,
    कहिले निष्पट्ट अध्यारो रातमा बाटो काट्दै गर्दा
    आफै अगाडि ठिंग उभिन आइपुगेको,
    सलवलाउँदै गरेको – बग्दैगरेको
    कालो आकृतिको सामना गरें !
    तर अहँ …
    बा लाई सग्लो आकारमा भने
    देख्न सकिन / पाउन सकिन
    मेरा बा सँधै धमिलो आकृतिमा
    मेरा अगाडि उभिई रहनुभो- आइरहनुभो !
    त्यही धमिलो आकृति – मेरो बाको आकृति !
    अघाउजी हेर्न खोज्छु – ठम्याउन खोज्छु
    तर दुर्भाग्य ! देख्नै सक्तिन – ठम्याउनै सक्तिन
    सल्वलाउँदै गरेको- बग्दैगरेको
    धमिलो / कालो आकृति
    मेरो बा बनेर
    सँधै सँधै मेरा अगाडि ठिंग उभिन आइपुग्छ !
    मेरा बा –
    मैले तपाईंलाई सँधै सँधै यसरी नै भेट्दै आएकोछु !
    बालखै उमेरमा देखेको एउटा भयावह दृष्य –
    मृत्यु शैय्यामा लमतन्न परेको
    बाको शरिरलाई अहिले पनि सम्झन्छु !
    भक्कानिएर रूँदैगरेकी मेरी आमाको सारीको सप्कोले मुख छोप्दै
    बा लाई त्यसवेला नियालेको थिएँ –
    म, आमा झैं डाको छोडी रोएको त थिइन –
    तर रून खोज्दै र रून्चे अनुहार लगाएर बा को अनुहार हेरेको थिएँ –
    दीर्घ रोगी बनेर गलिसकेको ,
    अस्वभाविक रूपले कालो बनिसकेको अनुहार ,
    वेस्सरी तील चामल बनिसकेका लामा लामा
    दारी जुंगाहरू ,
    वेस्सरी धस्सिएका आँखा ,
    हो- मैले तपाईंलाई त्यही रूपमा देखें – मेरा बा!
    उत्तरार्धतर्फ बढिरहेको म,
    अहिले पनि ,लगातार बा लाई देख्ने – भेट्ने धोकोमै छु ।
    तर , सँधै सँधै त्यही र त्यस्तै
    कालो कालो , धमिलो धमिलो आकृति
    मेरो बा बनेर ठिंग्ग उभिने गरेको छ ,
    म निरन्तर निरन्तर बा को खोजीमा छु,
    जति धमिलो देखिए पनि
    बा लाई देख्ने – भेट्ने प्रयत्न
    जारी छ – जारी रहनेछ !
    बा !
    तपाईंलाई देख्ने , अघाउँजी हेर्ने
    मेरो अखण्डित धोको मरेको छैन- जारी छ !

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै