• TOKHA LIVE

    • १४ भाद्र २०७८, सोमबार २१:२७

    सपनतीर्थ भजन खल: लबुँले श्रीकृष्णजन्माष्टमी पर्व मनायो

    टोखा लाइभ । १४ भाद्र २०७८ सोमवार

    आज भाद्र कृष्ण अष्टमी भगवान कृष्णको जन्म भएको दिन अथवा कृष्णजन्माष्टमीको अवसर पारेर सपनतीर्थ भजन खल: लबुँले सोमवार भगवान श्रीकृष्णको पूजा/आराधना गरी मनाइरहेका छन ।

    कर्मयोग र भक्तियोगका प्रणेताका रुपमा मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ । आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।
    धार्मिक ग्रन्थहरुमा दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको जन्म भएको धार्मिक मान्यता छ । आजका दिन कृष्णभक्तहरु ब्रत बसी रातभर भजन किर्तनगरी बस्ने चलन छ । रातको १२ बजे कृष्णको जन्मपछि ब्रत सकेर भोजन गर्दछन भने भोलि मंगलवार विहान कृष्णको मूर्तिलाई खटमा राखेर विभिन्न अवतार बनाएर टोखा बजार परिक्रमा गरिन्छ ।

    यसैबीच, श्रीकृष्णजन्माष्टमीको अवसर पारेर सपनतीर्थ भजन खलले भजन किर्तन सहित कृष्णचरित्र सम्बन्धित कथा को फोटो प्रर्दशन गरेको छ । सपनतीर्थ भजन खलले राधाकृष्णको बिशेष महत्वका साथ आज राती १२ बजे सम्म भजन कीर्तन र पुजाआराधना गर्ने श्याम लाल श्रेष्ठले जानकारी दिनुभयो ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ ।

    कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरू मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनु भएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै