टोखा लाइभ ।२०७८ साउन ३२ गते ।
काबुल । आफ्नो दूतावासका कर्मचारीको सुरक्षा, महत्वपूर्ण कागजातको रक्षामा दौडधुप गरिरहेको अमेरिका अफगानिस्तानमा निरिह सावित भएको छ । यहाँ निर्णायक युद्ध शुरु गरेको ४५ दिनमै विद्रोहीले सत्ता कब्जा गरेको छ । अमेरिकाले २० वर्षसम्म सहयोग गरेको सरकारी सेनाले भने सबै स्थानमा आत्मसमर्पण गरेको छ । राष्ट्रपति भागेर उज्वेकिस्तान शरण लिन पुगेका छन् । तालिबानले सैन्य कारवाहीबारे नसोच्न विदेशी राष्ट्रहरुलाई चेतावनी दिएको छ । साथै, अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएको तालिबानले युद्ध जितेको घोषणा समेत गरेको छ ।
तालिबानका प्रवक्ताले अल जजिरालाई प्रतिक्रिया दिँदै अब अफगानिस्तानमा युद्ध सकिएको बताए । बीबीसीका अनुसार उनले भनेका छन्, हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता । उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्याउने आफूहरूले ठानेको बताए। आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए। तिनले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेका छन् ।
अहिले काबुलमा अराजकता रहेको र त्यहाँका निवासी एवम् विदेशी नागरिक काबुलबाट बाहिर निस्कन खोजिरहेको समाचारमा उल्लेख छ । अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई विमानस्थल परिसरको सुरक्षामा खटाएको छ । उसले त्यहा लगेर आफ्नो दूतावास समेत राखेको छ ।
आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएको समाचारमा उल्लेख छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा १,४०० अमेरिकी कर्मचारी थिए। तीमध्ये सानो समूह मात्रै केही समयका लागि काबुलमा रहने र बाँकीलाई त्यहाँबाट निकालिनेछ ।

