• TOKHA LIVE

      TOKHA LIVE

    • ५ असार २०७८, शनिबार ०८:१२

    मूर्ति तथा चित्रकलामा देखिने कुन बाहन कस्का ?

     

    – रत्नप्रसाद अनामणि श्रेष्ठ
    असार ५ २०७८,शनिबार

    हिन्दु र बौद्ध मूर्ति तथा चित्रकलाहरुमा देवी देवताहरु आफ्नो आफ्नो बाहनमा बसेका हुन्छन् । ती बाहन वा बैठकलाई ‘आसन’ भन्ने शब्दले जनाउने गरिन्छ ।

    विभिन्न देवी देवताहरुका मूर्ति, प्रतिबिम्बहरु वा चित्रहरु कोर्दा तिनीहरुलाई कुनै बैठकमाथि बसेको वा उभिएको स्थानमा कुनै बाहनमाथि बसेको वा उभिएको अवस्थामा प्रस्तुत गरिराखेको हुन्छ ।

    यस्ता कलाकृतिहरु बनाउँदा कलाकारले धार्मिक शास्त्रको मान्यता अनुसार विभिन्न जनावरहरुको साथमा मूर्ति तथा चित्रकला कोरेको हुन्छ । ती मूर्ति तथा चित्रकलाले धार्मिक मान्यता अनुसारका विभिन्न कथा वस्तुहरुपनि झल्केको हुन्छ । हिन्दु देवी देवताहरुका मूर्तिहरुमा देखा पर्ने केही बाहन सहितका आशनहरु निम्न रहेका छन् ।

    १) पद्म वा कलसाशन

    यो आसनमा देवी देवताहरु सून्दर कमलको फूलमाथि बसेको वा उभिएको हुन्छन् । विशेष गरी विष्णु, लक्ष्मी र बुद्धका मूर्ति तथा चित्रहरु पद्यासनमा बसेका हुन्छन् । कमल फूलको पत्र चार, आठ वा सहद्र दल बनाएर प्रस्तुत गरिएको हुन्छ । कमल फूलमाथिको आसन भएकोले यसलाई कमलासन भनिन्छ ।

    २) कुर्मासन

    हिन्दुशास्त्रको मान्यता अनुसार यमुनाको बाहन कछुवा हो । यमुनाको मूर्ति तथा चित्र बनाउँदा कछुवामाथि बसेको वा उठेको बनाइन्छ । यस आसनलाई कुर्मासन भनिन्छ । कुनै कुनै मन्दिर अगाडी शिला वा स्तम्भहरुमा पनि कछुवाको माथि राखेको पाइन्छ ।

    ३) सिंहासन (बाघासन)

    देवी दुर्गाको बाहन सिंह हो । त्यसैले दुर्गालाई सिन्हाबाहिनी पनि भनिन्छ । देवीको शक्तिलाई त्यो हिंस्रक सिंहले पनि प्रतिनिधित्व गरेको हुन्छ । कुनै कुनै देवीलाई बाघसँग पनि प्रस्तुत गरेको पनि पाइन्छ । यसरी दुर्गा सिंहको साथमा बसेको आसनलाई सिंहासन भनिन्छ भने देवी बाघमा बसेको आसनलाई आसनलाई बाघासन भनिन्छ ।

    ४) मकरासन

    हिन्दु धर्मग्रन्थ अनुसार गंगाको बाहन गोही हो । गोहीलाई मकर पनि भनिन्छ । धर्मशास्त्र अनुसार गंगाले नै पृथ्वीमा पानी ल्याएको भन्ने मान्यता छ । गंगा गोहीमाथी बसेको आसनलाई मकरासन भनिन्छ । नेपालका ढुंगेधाराहरुमा ढुंगेधाराहरुको टुप्पोमा त्यही गोहीको मुखबाट पानी झरेको देखाइएको हुन्छ । गंगाको प्रतिनिधिको रुपमा उनको बाहनलाई यसरी देखिएको हो ।

    ५) मयुरासन

    मयुर सन्दर पन्छी हो । मयुरलाई महादेवका पुत्र वा कार्तिकेयको बाहनको रुपमा प्रस्तुत गरिएको हुन्छ । यसरी कुमार मयुरसँग बसेको आसन मयुरासन हो । कतै कतै देवीहरू पनि मयुरासनमा बसेको देख्न सकिन्छ ।

    ६) गरुडासन

    हिन्दु धर्मशास्त्र अनुसार विष्णु भगवानको बाहन गरुड हो । गरुडसँग बसेको विष्णुको आसन नै गरुडासन् हो । हिन्दु धर्मको मान्यता अनुसार गरुड छिटो गतिमा पुग्ने पन्छी हो ।

    ७) मुषकासन

    भगवान शिव पार्वतीका पुत्रमध्य गणेश एक हुन् । गणेशको बाहनको रुपमा मुसोलाई लिएको पाइन्छ । मुसासँगै रहेको गणेशको आसनलाई मुषकासन भनिन्छ ।

    ८) नन्दी वा साँढे आसन

    शिवको बाहन साँढे हुन् । साँढेलाई शिवभक्तको रुपमा पनि लिएको पाइन्छ । साँढेसँगै बसेको शिवको आसनलाई नन्दी वा साँढे आसन भनिन्छ ।

    ९) हस्ती (हात्ती) आसन

    स्वर्गका राजा इन्द्रको बाहन ऐरावत हात्ती हो । हात्तिसँगै बसेको इन्द्र वा इन्द्रायणीको आसनलाई हस्ती आसन भनिन्छ । यो एक प्रकारको राजा भएको हुनाले राजा बस्ने आसनमा पनि हात्ती र सिंह प्रस्तुत गरिएको आसनलाई राखिएको हुन्छ । जसलाई राजसिंहासन् भनिन्छ ।

    १०) हंस वा हाँस

    हंस वा हाँसलाई विभिन्न देवीहरुको रुपमा प्रस्तुत गरेको देखिन्छ । जस्तैः सरस्वती, बहना अथवा चन्द्रमाले आफ्नो आफ्नो बाहनको रुपमा प्रस्तुत गरेको देखिन्छ । हंससँग बसेको देवीहरुको आसन नै हंसासन हो ।

    ११) अश्व वा घोडा आसन

    सूर्य देवताको रुपमा घोडालाई लिएको पाइन्छ । अझ भन्ने हो भने सातवटा घोडाको समूहले सूर्यको रथलाई तानिरहेको हुन्छ । यसलाई नै अश्व वा घोडा आसन भनिन्छ ।

    १२) प्रेत वा शव आसन

    देवी चामुण्डाको बाहनको रुपमा प्रेत वा शवलाई लिएको पाइन्छ । प्रेत वा शवमाथि रहेको आसन नै प्रेत वा शवासन हो ।
    यसरी विभिन्न पन्छी वा जनावरहरुलाई हिन्दु देवी देवताहरु वा बौद्ध मूर्तिहरुमा आआफ्नो बाहनको रुपमा लिएको पाइन्छ । लाटोकोसेरो, गाई, कुकुर, हनुमान, स्याल, सर्प, जरायो, हरिण आदि जनावर तथा पन्छीहरुसँग पनि देवी देवताहरुको सम्बन्ध रहेको पाइन्छ।

    यी मूर्ति तथा चित्रहरुले के कुरा प्रष्ट देखाउँछ भने हामी मानिसहरुले आफू मात्र यो पृथ्वीमा नरही सम्पूर्ण जीव जन्तुहरुलाई पनि स्थान दिनु पर्दछ भन्ने कुरा व्यक्त गर्दछ । यस हिसावले हाम्रा धार्मिक मूर्तिहरु पनि पारस्थितिक प्रणालीमा आधारित रहेको भनेर उत्कृष्ट रुपमा रहेको देखिन्छ ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै