• TOKHA LIVE

    • ५ बैशाख २०७८, आईतवार १२:१६

    जीवनलाई सन्तुलित लयमा फर्काउने प्रयासमा एरिना

    • हिक्मत डंगोल

    चित्रकला क्षेत्रमा तपस्वी सरह लागि परेकी एरिना चित्रकारले सिर्जना गरेका कलामा नझुम्ने दर्शकहरू शायद विरलै भेटिन्छन।अभिव्यक्तिमा नौलोपन दिन रूचाउने एरिनाको कलालाई पर्यायको रूपमा पनि लिन्छन आम मानिसहरू। यसलाई एरिनाको सफलताको सर्वोत्कृष्ट उपलब्धि मानै पर्छ। जसरी अरनिकोले नेपाली कलाको प्रबर्दन र प्रचारमा ठूलै योगदान पुर्याएको इतिहास साक्षी छ।त्यस्तै नेपाली कलाकारिता युरोप र अमेरिकामा फैलाउने कार्य एरिना ताम्राकारले गरेकी छिन।

    हुन् त एरिनालाई अरनिकोसंग दाँज्न नमिले पनि उनको प्रशंसा भन्ने प्रशंसनीय छ।उनी विशेषत: नारी प्रवृत्तिमाथि आकृति कोर्ने चित्रकार हुन। त्यसमा पनि उनी रिफ्लेक्स अफ लाइफ अर्थात् आममहिलाको कथा व्यथा, पीडा, हाँसो, रोदन र चित्कारती आदिबाट प्रभावित देखिन्छिन् । केही समय देखि आफ्नो स्टुडियोमा एरिनाले थर्ड आई शीर्षकको श्रृंखला नै तयार पारेकी छिन् । आत्मविश्लेषण गर्दा हामी जसरी आँखा चिम्लिन्छौं, यो त्यही अवस्था हो,उनका लागि तेस्रो आँखा भनेको चेतनाको प्रतीक हो ।अर्थात् “तेस्रो आँखा” चेतना खोलेर हेर भनेको हो | यसको अर्थ आँखाबोधक पनि हो । यसको फ्युजन गरेर निधारमा केही उठेको जस्तो गरी अबिरचामलको ढिका टाँसिन्छ– यो तेस्रो आँखा हो । ‘देवीको जस्तै नारीलाई पनि शक्ति मिलोस्’ भन्ने आशीर्वादको । नारी शक्तिको उपहास नगरौं । उनीहरुको तेस्रो आँखा खुले काली रुप धारण गर्छन् । एरिना भन्छिन ।

    एरिनालाई आर्ट गर्न शान्त वातावरण हुनु पर्छ। एरिनाले यस्ता आकृतिहरू सिर्जना गरेको तीन दशक भन्दा बढी भैसक्यो ।उनको सिर्जनाहरू विदेशका १७ देशहरूमा पुगिसकका छन् । एरिना भन्छिन-“मलाई मन परेको चित्रहरू मसंग हैन, अरूकै हातहरूमा छन् । बडो मिहिनेतले सिर्जना गरेको आफ्नै सन्तान आफ्नै हातमा नहुँदाको पीडा कस्तो हुन्छ त्यसको अनुभूति राम्री थाहा छ”। तर यसले मेरो कलालाई सम्मान गरेको महसुस गरी चित्त वुझाउँछु। साथै पूर्वीय कलाले पश्चिमी दर्शकहरू माझ अझ नजिक पुर्याउने एरिनाको अनुभव छ।

    एरिनाको आफ्नो पढ़ाई एसएलसी सक्ने क्रममा कलेज पढ्दै थिईन। बसाई थियो पाटनको मंगल बजार । उनको बुबाको पाटनमा भाँडा पसल थियो । जसका कारण सानै उमेरदेखि फ़ुर्सतको समयमा आफुलाई भाँडा पसलमै व्यस्त राख्ने गर्थिन । पसलमा बस्दा उनको मनमा चित्रकलालाई अँगाल्न पाए हुन्थ्यो भन्ने मनमा अनेक कुरा खेल्थे। पछि बुबाले तिमीलाई चित्रहरू सिक्न इच्छा छ भन्ने यसमा ललितकला क्याम्पस पनि छ है ! भन्ने पछि पहिला पढेको कलेजलाई सदाको लागि विदा दिएर उनी चित्रकला सिक्न ललितकला क्याम्पस पढन पुग्छिन।ललितकला प्रवेश पछि एरिना झन उत्साहित भईन। यसपछि कुची र रंगसंग खेल्ने क्रममा नयॉ जीवन प्रारंभ गरेकी हाल युवा पुस्ताको
    महिला कलाकारको उज्वल प्रतिभाको रूपमा स्थापित भइसकेकी छिन।

    कलाप्रतिको उत्साहका कारण नयॉ बाटोको खोजी हुन थाल्यो।उनी गुरू प्रशान्त श्रेष्ठसंगको भेट भएपछि आफुलाई मार्ग दर्शन भयो । यस पछि साथीहरूसंग मिलेर सन १९९४ मा काष्ठमण्डप स्टुडियो स्थापना गर्नु भयो। “ शुरूमा हामीसंग पैसा थिएन। १० वर्ष निकै गाह्रो भएको थियो ।हामीले अभाव र दु:ख भोगेका थियौ । दुखी जिन्दगीको यही उपलब्धि थियो। दु:ख बाट नै राम्रो कलाको सिर्जना जन्मन्छन्।” एरिनाले खुलस्त पारिन ।
    हाल सम्म हज़ार भन्दा बढी कला सिर्जना गरेकी एरिना थुप्रै राष्ट्रीय तथा अन्तर्राष्ट्रीय पुरस्कारबाट पुरस्कृत भैसकेकी कुरा उनी बताउँछिन।

    यधपि, आफ्नो कला चित्रहरूबाट आफु पूर्ण रूपमा सन्तुष्ट हुन नसकेको बताउँदै उनी भन्छिन- “ कला सिर्जनामा सन्तुष्टि हुँदैन ।सन्तुष्टि भएमा सिर्जनाको मृत्यु हुन्छ “।

    कला क्षेत्रमा लागेर के गुमाउनु भयो? भन्ने प्रश्नमा एरिना भन्छिन- “ कला क्षेत्रमा लागेर के गुमाए भन्न मिल्दैन ।धेरैको माया पाएँ। बरू सानै देखि गीत गुनगुनाउने सौख थियो। गायिका बन्ने धोको थियो। त्यसलाई मैले साकार पार्न सकिएन । म अहिले पनि एक्लै हुँदा गीत गाउने गर्छु । गुनगुनाउन् चाहने यी ओठहरू पनि कहिलेकॉही फरपराउने गर्छ। वर्षा भएको बखत गडगडाहट पूर्ण प्राकृतिक संगीतमा भिजेर कविता पनि कोर्ने गर्छु ।मलाई सॉगीतिक क्षेत्रमा अरुणा लामा र अरूण थापा मन पर्छ।”। शायद एरिनाको विगतको दु: खी जिन्दगीको यही उपलब्धि थियो । भावुकतामा उनले भनिन ।

    आफ्नो एक सन्तान र जीवनसाथी आशा डंगोलको बीच माया बॉडेर जीवनका समस्त विघ्नवाधाका जंगल फाडेर उनी अझै आफ्नो कला यात्रामा अविराम गतिका साथ अघि बढिरहेकी छिन।

    नेपाली नारीको समस्या बाट धेरै रोएकी एरिना भावुकतामा बग्दै भन्छिन- “ वर्तमान नै पीडा दायक छ भन्ने, भविष्यको के अपेक्षाकृत गर्ने? तर पनि भोलिको लक्ष्य बारेमा बताउन कर गर्दा उनी यसो भन्छिन- “ विगतका संघर्षका दिनहरूलाई सम्झदै वर्तमानमा संघर्ष गर्दे अनि भविष्य बोकेर हिडिरहेकी नारी हुँ म। म मृत्युको अन्तिम घडीसम्म पनि हातमा व्रस र अगाडी क्यानभास होस। मैले हालसम भोलिको लक्ष्य निर्धारण गर्न सकेकी छैन “।

    अन्त्यमा , मैले एरिनालाई शुभकामना दिएँ। हामी वहॉकै स्टुडियो कुपण्डोलमा कुराकानी गर्दे थियौं। उनी भने बाहिर जानुपर्ने समय भएकोले घडी हेर्दे थिइन र हामी छुट्टियौं।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै