ललितपुर-फाल्गुन ६, २०७७
नेपाल ललितकला पत्रकार समाजद्वारा बिहिबार ललितपुरमा आयोजित एक समारोहमा विभिन्न सञ्चार माध्यममा कार्यरत पाँच जना कला पत्रकारहरु पुरस्कृत हुनु भएको छ ।
समारोहमा पत्रकारहरु दीपक श्रेष्ठ विहिन, सिर्जु बज्राचार्य, हेमन्त गौतम, दीपक परियार तथा राजधा पौडेल (अजवी) पुरस्कृत हुनु भएको हो ।
समारोहमा नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६ बाट दीपक श्रेष्ठ (विहीन) र २०७७ बाट सिर्जु बज्राचार्य पुरस्कृत हुनु भएको छ ।
कला पत्रकारिता र कला इतिहासका अग्रणी व्यक्तित्व नारायणबहादुर सिंहको स्मृतिमा नेपाल ललितकला पत्रकार समाजले उक्त पुरस्कार स्थापना गरेको हो ।
यसैगरी, सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६ बाट हेमन्त गौतम पुरस्कृत हुनुभएको छ ।
त्यस्तै,२०७७ सालको सोही पुरस्कारबाट दीपक परियार पुरस्कृत हुनुभएको छ ।
क्रोधकला शिरोमणि कालु कुमालेले स्वर्गीय पत्नी लक्ष्मीमाया कुमालेको स्मृतिमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृती ललितकला पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो ।
यसैगरी, सोफाज ललितकला पत्रकारिता पुरस्कारबाट राधा पौडेल (अजवी) पुरस्कृत हुनुभएको छ ।
सबै पुरस्कारको राशि ११ हजार १११ रुपैयाँको रहेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य,क्रोधकला शिरोमणी कालु कुमाले र सोफाजका अध्यक्ष केशवराज
खनालले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको हो ।
कार्यक्रममा कुलपति केके कर्माचार्यले पुरस्कृतहरुलाई बधाई दिनु हुँदै ललितकलाको विकास र विस्तारमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले सिर्जनाका अन्य विधामाभन्दा ललितकलामा पुरस्कार अत्यन्त थोरै रहेको चर्चा गर्नुहुँदै ललित कलाका क्षेत्रमा सक्रिय कलाकार तथा सञ्चारकर्मीलाई प्रोत्साहित गर्न समेत पुरस्कार तथा लेखनबृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ रमेश खनालले पुरस्कृतहरु लाई शुभकामना दिनुभयो ।
यसैबीच, बिहिबार सम्पन्न सोफाजको साधारणसभाले केशवराज खनाललाई तीन वर्षका लागि पुन: अध्यक्षमा निर्वाचित गरेको छ ।
उपाध्यक्ष मधु शाही, महासचिव देवेन्द्र थुम्केली, सचिव संगीता श्रेष्ठ र कोषाध्यक्षमा सुनिता लोहनी चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरूमा दिवेशमान सिंह प्रधान, सुनिता साखकर्मी, सीताराम बडाल, रामनाथ घिमिरे र प्रकृति दाहाल हुनुहुन्छ । एक सदस्य पछि थप गरिने समेत जनाइएको छ ।

