टाेखालाइभ डट कम
फागुन ७ काठमाडौं
आज ७१ औं प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं २००७ फागुन ७ गते १ सय ४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ । यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ ।
विक्रम संवत २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएको र नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा तत्कालिन राजा त्रिभुवनले गर्नुभएको थियो । प्रजातन्त्र स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा प्राणको आहुति दिनु भएको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
आजकै दिन १ सय ४ वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरि जनतासमक्ष घुँडा टेकाएपछी बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा आज कै दिन गरिएको थियो ।
पछि विसं २००० स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

