टाेखालाइभ डट कम / माघ ३०,२०७७
नेपाल कार्टुनिस्ट क्लबमा बासु क्षितिजको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
नेपाल कार्टुनिस्ट क्लबको यही माघ २३ गते राजधानीको नेपाल आर्ट काउन्सिलमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा क्षितिजको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि कार्यसमितिले निर्वाचित गरिएको हो । कार्टुनकलामा झण्डै तीन दशकदेखि सक्रिय ख्यातिप्राप्त कार्टुनिस्ट क्षितिज हाल अन्नपूर्णपोष्ट राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ ।
नेपाल कार्टुनिस्ट क्लबको नयाँ नेतृत्वमा देवेन्द्र थुम्केली उपाध्यक्ष, रवि मिश्र महासचिव, भानु भट्टराई सचिव र रविन्द्र मानन्धर कोषाध्यक्ष रहनुभएको छ । यसैगरी, सदस्यहरुमा योगेश खपाङ्गी, दीपक गौतम, उमेशचन्द्र अधिकारी, सुजिता महर्जन र आरके थापा चयन हुनुभएको छ । नवनिर्वाचित भएपछि अध्यक्ष बासु क्षितिजले साथीहरुले दिएको विश्वास र जिम्मेवारीलाई पूरा गर्न आफू लागीपर्ने बताउनुभयो ।
नेपाल कार्टुनिस्ट क्लबको यस अघिको अध्यक्षमा विख्यात कार्टुनिस्ट अविन श्रेष्ठ हुनुहुन्थ्यो । श्रेष्ठकै प्रस्तावमा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको थियो । २०५७ सालमा स्थापित क्लब लामो समयसम्म निस्क्रिय अवस्थामा रहिरहेका बेला कान्तिपुरका वरिष्ठ कार्टुनिस्ट समेत रहनु भएका अबिन श्रेष्ठले २०७० सालमा क्लबको कार्यभार सम्हाल्नुभएपछि उल्लेखनीय कार्यक्रम गरी संस्थालाई नयाँ उचाइमा पुर्याउनु भएको थियो । ‘क्षितिजजीको नेतृत्वमा अझ सक्रियताका साथ संस्था अघि बढ्नेमा म विश्वस्त छु, नयाँ टिमलाई मेरो शुभकामना !’ अविनले भन्नुभयो ।

