• TOKHA LIVE

    • २३ माघ २०७७, शुक्रबार १७:१६

    “ पैसा नहुने तर कला हुनेहरु संगीत क्षेत्रबाट पलायन भएका छन्।” – गायिका एन्जिला सिंह

    नेपालको गीत लेखन र गायन क्षेत्रमा गीत गाउने, सुन्ने तथा कलामा विशेष स्थान बनाउन सफल गायिका एन्जेला श्रेष्ठसंग टोखा लाइभका लागि वरिष्ठ पत्रकार ओमशंकर श्रेष्ठले लिनुभएको अन्तर्वार्ता :

    १ .आफ्नो परिचय दिनुहोस् ।

    • मेरो नाम एन्जेला सिंह हो । विवाह पछि एन्जेला सिंह श्रेष्ठ पनि थपिएको हो। मेरो जन्म काठमाडौंको महबौद्धमा भएको हो ।

    २ .कहिलेदेखि संगीत र गायन क्षेत्रमा आउनुभयो ? यससंग जोडिएको कुनै रोचक र स्मरणिय घटना छ भने बताउनुहोस् ।

    • म गायन क्षेत्रमा वि. सं. २०४१ सालदेखि लागेकी हु । मलाई नामुद संगीतकार मदन परियारज्युले यो क्षेत्रमा पहिलो पाइला टेकाउनु भएको थियो। पहिलो गीत बाल गीत प्रतियोगीताको लागि गाएको थिए ।

    ३ .तपाईको प्रतिभा अर्थात आवाजको गुणस्तर अन्यका भन्दा अलि बढि राम्रो र पृथक छ भनेर अरुले त अवश्य भन्छन् नै होला तर तपाईं आफैं इमानदारिताकासाथ आफ्नो स्वरको मुल्याँकन कसरी गर्नुहुन्छ ? कुनै कमि कमजोरी छ जस्तो लाग्छ ? यस्तो प्रशंसा सम्बन्धी सम्झिन लागेको केहि घटना छन् की ?

    • अरुले त प्रशंसा गर्नुहुन्छ नै, तर मलाई लाग्छ कुनै पनि कलाकार कहिले पनि आफ्नो कामबाट पूर्ण सन्तुष्ट हुँदैनन् । मलाई पनि सधैं के के नपुगे जस्तो खल्लो लाग्छ । मलाई आफ्नो आवाजमा अलि मिठास् थप्न पाए हुन्थ्यो जस्तो लाग्छ । १९९८ मा लण्डनमा जी टिभी को सारेगामा कार्यक्रममा गायक मेहन्दी हसनज्युले गर्नु भएको प्रशंसा जीवनकै यादगार बनेको छ ।

    ४ .गुरु कसलाई थाप्नु भएको छ ? कस्तो कलाहरु सिक्नु भएको छ गुरुसंग ? तपाई संगीत क्षेत्रका कुन व्यक्तित्वहरुसंग प्रभावित हुनुहुन्छ ?

    • मैले धेरै गुरुहरुसँग संगीत कला सिक्ने शौभाग्य पाएं । अम्बर गुरुङ्, दीप श्रेष्ठ, ज्ञानु राणा, प्रकाश गुरुङ्, दिव्य खालीङ मेरा गुरु हुनुहुन्छ । पद्मकन्या कलेजमा गुरु श्रीराम आचार्य र बिजय श्रेष्ठसँग पनि धेरै ज्ञान सिक्ने मौका पाएको थिएँ । गायन तिर चाहिं बिशेषगरी अरुणा लामा दिदी र कुन्ती मोक्तान दिदी बाट प्रभावित छु।

    ५ .तपाईले श्रीमान र परिवारबाट आफ्नो करियर अघि बढाउन के कति सहयोग पाउनु भएको छ ?
    . घर परिवारबाट सहयोग नपाएको भए शाएद म अहिले यो क्षेत्रमा नै हुन्दिनथें होला ।

    ६ .गीत लेखन सजिलो कि गाउन अथवा कुनमा बढि आनन्द आउँछ ?

    • लेखन त वास्तवमा शोख मात्रै हो । गायन नै मेरो मुख्य बिषय हो । र, त्यही सजिलो लाग्छ ।

    ७ .अहिले सम्म कतिवटा एल्वम निकाल्नु भयो , कूल कतिवटा जति गीत गाइयो ?

    • एकल एल्बम त अहिलेसम्म दुईवटा मात्रै निकालेकी छु । तर थुप्रै एल्बममा मैले आफ्नो स्वर दिने मौका पाएकी छुं । अहिले सम्म तीन सय भन्दा बढी गीतमा आवाज दिइसकेकी छु ।

    ८ .आफुलाई सबैभन्दा बढि चिनाउने र मनपर्ने कुन गीत हो ?

    • मलाई धेरै चिनाउने गीत ’चोट’ चलचित्रको बालगीत ’क बाट कछुवा ख खरायो’ हो । आफुलाई मनपर्ने गीत चाहिं आनन्द राईको संगीत अनि आनन्द अधिकारीको शब्दमा रहेको ’दुनियाँ को माया एकातिर’ भन्ने गीत हो ।

    ९ . तपाईले नेपाली लगायत अन्य भाषामा पनि गाउनु भएको छ ?

    – मैले नेपाली लगायत नेपाल भाषा, हिन्दी अनि पन्जाबी भाषामा गीत रिकर्ड गराएकी छु । साथै गुजराती अनि सुहैली भाषामा पनि प्रोग्राम गरेकी छु ।

    १० पढाइको सिलसिलामा त केहि वर्ष वेलायतमा बस्नुभएको थियो होइन् ? त्यहाँ साँगितिक यात्रा जारी थियो ?

    – पढाईको सिलसिलामा त हैन्,सांगितिक कार्यक्रम ’जी टिभी सारेगामा’ कै सिलसिलामा लण्डन पुगेकी हु र त्यहाँ सांगितिक कार्यक्रम नै जारी राखेकी हुं । पछि वेस्ट लन्डन एन्ड साउथ अल कलेजमा पढेर अवार्ड पाउने शौभाग्य पनि पाएँ ।

    ११ .देश बाहिर कतिको जानु हुन्छ गाउने उद्देश्यले नै ?

    – बेला बेला गईन्छ । सानो हुँदा घुम्ने अभिप्रायले गइन्थ्यो अब आजकल प्रायः कार्यक्रम कै सिलसिलामा गईन्छ ।

    १२ . गीत गाउँदा गरिएको लगानी उठ्ने गरेको छ कि छैन ? म्युजिक भिडियो बिना त अझ गीतको अचेल महत्वै हुन्न , म्युजिक भिडियो बनाउन र प्रमोसन गर्न थप पैसा चाहिन्छ , यो हिसाबले पैसा नहुनेहरुले त भएको प्रतिभा पनि देखाउन नपाउने भयो होइन र ?

    –गीत गाएर लगानी उठाउने त सवाल नै छैन । आफ्नै लगानी गरेर गीत बनाउ, त्यस्को भिडियो बनाउ । अझ खर्च गरेर त्यसलाई बजार दिनुपर्छ । त्यसमाथि फेरी भाइरल बनाउने होड । पैसा नहुने तर कला हुनेहरु यही कारण निरुत्साहित भएर पलायन हुन्छन् ।

    १३ . गायक गायिकाले गीत कम्पोज , ऐरेन्ज र रिकर्डिंगको लागि पैसा सजिलै दिन्छन् तर गीतकारलाई पैसा दिनुप¥यो भने टाउको दुखाउँछन् भन्ने सुनिन्छ , हो ?

    – प्राय: जसो गीतकारहरु मेरो गीत गाइदिनु भनेर दिनुहुन्छ । त्यस्तोमा सबै आफुले खर्च गर्नु पर्ने हुँदा गीतकारले नपाउने होला । तर आजभोलि गीतकारको पनि डिमान्ड बढन थालेको छ । कतिपय गीतकारले निःशुल्क गाउन नि लगाउन हुन्छ नि त फेरी ।

    १४ .अहिलेको कोभिडको समस्याको समयमा संगीतको अस्तित्वलाई कसरी जोगाएर निरन्तरता दिन सकिन्छ होला ?

    – कोभिड्को कारण सबै क्षेत्रमा असर परेको छ । अनलाइन प्रोग्राम हुने हुनाले केही हद्सम्म राहत मिलेको छ ।

    १५ .गीत रिकर्ड र म्युजिक भिडियो निर्माणमा गरिएको लगानी उठाउन कतिको गाहो साह्ो महशुस गर्नुभएको छ ? अचेल त गीत चल्यो भने युट्वबाटै मालामाल भइन्छ भन्ने सुनिन्छ , यो कुरा कतिको सत्य हो ?

    – मैले अघि पनि भनेको थिएँ,आफ्नो लगानी उठ्ने त सवाल नै छैन । रह्यो कुरा युट्युवबाट मालामाल हुने, आफुले अहिलेसम्म त्यो मौका पाएको छुंइन ।

    १६ .आफ्नो व्यक्तिगत शौख , रुचिबारे केहि भन्नुहोस् ?

    – मलाई गाउन बाहेक लेख्न अनि स्केच गर्न रुचि लाग्छ ।

    १७ . गीतका लागि शब्द खोज्न धाउनुपर्छ कि गीतकारहरु आफैं तपाईंको ढोका ढकढक्याउन आउनुहुन्छ ? मनपर्ने संगीतकार र गीतकारका नाम लिनुपर्दा ?

    – अहिले सम्म त गीतकार ,संगीतकारज्युहरुले नै गीत गाउन दिनुभएको छ । मलाई सबै गीतकार, संगीतकार मनपर्छ किनभने सबैको आ–आफ्नो शैली छन् ।

    १८ .कहिलेकाहिं आफ्नो गायन प्रतिभाको अरुहरुबाट शोषण भइरहेको जस्तो लाग्छ ? वा भएको पनि छ ?

    – एकदम लाग्छ । किनभने यहाँ सबै बलेको आगो नै ताप्ने छन् । फ्रीमा गाउन लगाउन कोसिस गर्ने धेरै छन यहाँ ।

    १९ . पुरस्कार र सम्मान कतिको पाइसक्नु भयो ?

    – दर्शक्,श्रोताको मायारुपी पुरस्कार र सम्मान त धेरै नै पाएकी छु । त्यसैगरी सन् २००६ मा लण्डनमा सेलेव्रिटि सिंगर अफ दि इयर –२००६ अवार्ड र २०१९ मा ग्लोबल मोसन पिक्चर्स अवार्ड पाएकी थिएं ।

    २० .कुनै नयाँ एल्वमका लागि गीतहरुको तयारी भइरहेको छ की ?

    –अहिले प्रायः नेपाली र नेपालभाषाका एकल गीतहरु रिकर्ड गर्दैछु । एल्बम बनाएर खासै उपलब्धी रहेन आजभोलि ।

    २१ गीत र संगीतको उत्थानका लागि सम्बन्धित निकाय वा सरकार समक्ष पु¥याउनुपर्ने केहि सन्देश छन् कि ?

    – धेरै राम्रो प्रश्न गर्नुभयो । जसरी पहिले रेडियो नेपालले प्रतिभाशाली कलाकारलाई डेटमा गाउने ब्यबस्था मिलाएको थियो, त्यसरी नै आयस्रोत नभएका तर प्रतिभावान कलाकारको लागि सरकारी निकाय बाट नै केही ब्यबस्था हुनुप¥यो । त्यसपछि शायद बल्ल धेरै लुकेका प्रतिभाहरुले मौका पाउनेछन् ।

    २२ .कतै गीत संगीत क्षेत्र विलासिताको विषय त भएको छैन ? किनभने कोहि ताइँ न तुइँको गीत लेख्नेले पनि लाखौं खर्च गरेर राम्रा राम्रा गायक गायिकालाई गीत गाउन दिएर लोकप्रियता बटुलि रहेका हुन्छन् भने उत्कृष्ट सिर्जना गर्ने तर लगानी गर्न नसक्ने श्रष्टाहरु पछाडि परिरहेको जस्तो लाग्छ कि लाग्दैन ? यसबारे केहि सकारात्मक सल्लाह पनि दिनुहोस् ।
    – अघिल्लो प्रश्नहरुको उत्तरमा मैले यही बुँदाहरु उठाएकी छु । अहिले नेपाली सांगितिक क्षेत्रमा यही विसंगती व्याप्त छ । गला नहुने तर पैसा हुनेको जगजगी छ । अपशोचको कुरा । सरकारी या निजी तवर बाट नै यसबारे केही उपाय निकाल्नु जरुरी छ ।

    २३ अन्त्यमा आफ्ना प्रशंसकहरुलाई के भन्न चाहनुहुन्छ ?
    – आफ्ना दर्शक्,श्रोताहरुलाई वहाँहरुको साथ र मायाको लागि धन्यवाद दिन चाहन्छु र सदा साथको आशा राख्दछुं । मेरा गीतहरु सुनिदिनु हुन अनि कमि कमजोरीहरु औल्याइदिनु हुन विनम्र अनुरोध गर्दछु । नेपाली गीत, संगीत तथा नेपालीपनलाई माया गरिदिनुहोला ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै