काठमाडौँ, ९ भदौ ।
भारतीय लोकप्रिय गायिका पलक मुछाल पहिलोपटक काठमाडौँमा आफ्नो स्वर गुञ्जाउन आउन लाग्नुभएको छ । आगामी असोज ३ गते भृकुटीमण्डपमा ‘पलक मुछाल लाइभ इन नेपाल’ हुने भएको आयोजक संस्थाका इभेन्ट म्यानेजर मनिष कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार यसअघि भएका कार्यक्रमहरूको अनुभवलाई आधार बनाएर यसलाई अझ भव्य र सभ्य बनाउन तयारी भइरहेको छ । “पलकजी आफैं पनि नेपाल आउन इच्छुक हुनुहुँदो रहेछ, त्यसैले हामीले उहाँलाई नेपाली दर्शकमाझ प्रस्तुत गर्न लागेका हौँ,” उहाँले भन्नुभयो ।
गायिका मुछालले श्रव्यदृश्यमार्फत नेपाल आउन पाउँदा आफू निकै उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभएको छ । “म नेपाल आउँदै छु भन्ने कुराले खुसी छु । अब चाँडै नेपाली दर्शकलाई आफ्ना गीत सुनाउन र नचाउन अधैर्य छु ।”
यसअघि ‘नोरा फतेही लाइभ इन नेपाल’ आयोजना गरिसकेको वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रालि र मनु मिडिया प्रालिको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो ।
‘कौन तुझे’, ‘प्रेम रतन धन पायो’, ‘चाहूँ मैं या ना’, ‘तेरी मेरी कहानी’, ‘जुम्मे की रात’देखि ‘सनम तेरी कसम’सम्मका उनका गीतहरू भारतीय सिनेमा जगत्मा निकै लोकप्रिय छन् ।
काठमाडौँमा हुने प्रस्तुतिमा यी चर्चित गीतहरू नेपाली दर्शकले प्रत्यक्ष सुन्न पाउने उत्साहजनक अवसर पाउने भएका छन् ।

