• TOKHA LIVE

      TOKHA LIVE

    • १० चैत्र २०७९, शुक्रबार १०:२१

    निशा देशारको आवाजमा ६४ वर्षपछि खुल्यो संस्कृतिविद् सुवर्णको लाजको रहस्य

    टाेखालाइभ डट कम/चैत्र १०, २०७९

    दरबार हाइस्कुलका तत्कालीन प्रिन्सिपल संस्कृतिविद् सुवर्ण शाक्यद्वारा रचित नेपाल भाषाको गीत ६४ वर्षपछि रेकर्डसँगै त्यसको भिडियोसमेत सार्वजनिक गरिएको छ । न्हयु बज्राचार्यको संगीत, निशा देशारको आवाज र गोपाल रसाइलीको संगीत संयोजनमा पाँच महिनाअघि रेकर्ड गीतको म्युजिक म्हम्ह एभेन्ट युट्युब च्यानलबाट ‘प्रिमियर’ गरिएको हो । मचा जुया म्हिते जि मगानि माँबौ नं बिया छ्वय माधानि तत्कालीन समय काठमाडौंका डबलीमा देखाइने ‘दबुं प्याखं’ अर्थात् ‘डबली नाटक’मा निकै लोकप्रिय गीत पुराना पुस्ताका जनजिब्रोबाट अझै पनि सुन्न सकिन्छ । ऐतिहासिक गीत संरक्षण हेतु सुनीलकुमार शाक्यले ६४ वर्ष पुरानो रचनालाई आवाज र भिडियोमा कैद गरेका हुन् । ‘हाम्रो पुराना कला, संस्कृति, परम्परा र सम्पदा विस्तारै लोप हुँदै छन्, बाबुबाजेका पालाका गीत संरक्षण गर्नुपर्छ भन्ने लागेरै मैले यो अभियान थालनी गरेको हुँ,’ मोतीहर्ष फाउन्डेसनका संस्थापक अध्यक्षसमेत रहेका शाक्य भन्छन्, ‘झन्डै दर्जनभन्दा बढी यस्ता ऐतिहासिक गीत छन्, जसको संरक्षण गर्न अति जरुरी भइसकेको छ ।’ मोतीहर्ष फाउन्डेसनले शनिबार सार्वजनिक गरेको गीति भिडियो सुजन बज्राचार्य ‘खोपे’ले निर्देशन गरेका हुन् । निर्देशन फाँटमा आशा लाग्दोगरी उदाएका बज्राचार्यद्वारा निर्देशित नेपाल भाषाको अर्को म्युजिक भिडियो ‘झिं खुदं दत’ चार दिनअघि मात्रै सार्वजनिक भएको थियो ।

    ‘ऐतिहासिक गीतमा निर्देशन गर्न पाउने अवसर पाएँ, यो मेरो लागि पनि ऐतिहासिक बनेको छ,’ निर्देशक बज्राचार्य भन्छन्, ‘त्यसमाथि न्हयु बज्राचार्यको संगीत मेरा लागि चुनौतीसँगै अवसर पनि बनेको छ ।’ ‘मछालेगु बानी गनं वल’ अर्थात् ‘लजाउने बानी कहाँबाट आयो ?’ गीतले किशोरावस्था दर्शाउन खोजेको छ । यो उमेरमा हुने कौतुहल गीतकार शाक्यले ६४ वर्षअघि नै ‘दबुं प्याखं’मार्फत जनजनमा उजागर गरेका थिए । किशोरावस्थाका बेला एउटी युवतीभित्रको बालापन, शृंगारपटारप्रति आकर्षण तर आफ्नै जवानीप्रतिको अनभिज्ञता गीतकारले दर्शाउन खोजेका छन् । यहीँ ‘कन्सेप्ट’लाई लुभु वेभ स्टुडियोका केबीएस (कृष्णभक्त श्रेष्ठ) लुभुले पटकथामा उतारेका हुन् । जसमा शैलेश श्रेष्ठको छायांकन र सम्पादन कौशल देख्न सकिन्छ । पछिल्लो समय नेपाल भाषा म्युजिक भिडियो फाँटमा उदाएका मनोज महर्जन र नेरिशा महर्जन ‘मछालेगु बानी गनं वल’मा मुख्य र विशेष भूमिकामा रवि डंगोल ‘बेइमान’ देखिएका छन् ।

    गीतको भिडियो:

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै