नविना श्रेष्ठ
टाेखा लाइभ / माघ १६ ,२०७७
टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको टाेखा नगरपालिका वडा नम्वर २ ले उपाधि जितेको छ ।
टोखा नगरपालिका वडा नं ३ स्थित भुतखेल मैदानमा आज भएको फाइनलमा वडा नम्वर ८ माथि ३–० गोलको अन्तरले जित्दै टाेखा वडा २ ले प्रतियोगिताको उपाधि कब्जा गरेको हो। टाेखा वडा नम्वर २ को जितमा दिनेश डंगोलले २ तथा सरोज श्रेष्ठले एक गोल गरे । खेलको ६७औं मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै वडा नम्वर २ को अग्रता दोब्बर बनायो । ७३औं मिनेटमा कप्तान सरोज श्रेष्ठले गोल गर्दै वडा नम्वर २ लाई उपाधि दिलाए ।
पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल भएको थियो । खेलको पहिलो मिनेटमा दिनेश डंगोलले गोल गर्दै वडा नम्वर २ लाई अग्रता दिलाएको थियो ।
वडा नम्वर ८ ले खेलको अन्तिम समय पाएको अवसर सदुपयोग गर्न नसक्दा उपबिजेतामै सिमित हुन पुगेको हो।
गजराज जोशी कपको बिजेता टाेखा वडा नम्वर २ले उपाधिसँगै ७० हजार रुपैयाँ प्राप्त गरे भने दोस्रो भएको टाेखा वडा नम्वर ८ ले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी कपको उत्कृष्ट ५ बिधामा टाेखा वडा नं ८ का अनिल थापा उत्कृष्ट खेलाडी , टाेखा वडा नम्वर २ का सन्जय श्रेष्ठ उत्कृष्ट गोलरक्षक,टाेखा वडा नम्वर १ का सागर डंगोल उत्कृष्ट डिफेन्डर र प्रतियोगिता भर ५ गोल गरेका टाेखा वडा नम्वर २ का सरोज श्रेष्ठ सर्वाधिक गोलकर्ता चुनियो । उनीहरुले समान ३–३ हजार रुपैया प्राप्त गरे । प्रतियोगितामा वडा नम्वर ६ अनुशाासित टोली घोषित भएको थियो भने विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला , नेपाल फुटभली संघका अध्यक्ष मनिष जोशी, टाेखा वडा नं १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, टाेखा वडा नं २ का अध्यक्ष दिपक राज जोशी आयोजक एसडि ९९ स्पोर्टस कर्नरका अध्यक्ष सुजन दुलाल लगायतले पुरस्कृत गरे।
अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबलको यहि माघ ५ गते देखि सुरु भएको प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको मात्रै प्रतियोगितामा सहभागिता जनाएको थियो । प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको थियो ।

