• TOKHA LIVE

    • १५ पुष २०७७, बुधबार १०:२४

    य: मरी , दिने तरूनी, नदिने बूढी

    •नन्द बहादुर महर्जन (थसिमि)
    हाल क्यानाडा
    टोखा लाइभ । बागमती प्रदेश अर्थात् प्राचीन नेपालमण्डलका नेवाः समुदायले वर्षेनी नयाँ धान भित्र्याएपछि चामल पिठोको डल्ला–डल्ला पारेर चैत्य वा स्तूप आकारमा त्यसको गर्भभित्र (खालि स्थानमा) चाकु र तिलको सम्मिश्रणबाट बनाइएको पोसिलो लेदो राखेर बफाइएको रोटी तयार पार्ने गर्छन् । जुन धेरै नै मिठो र स्वादिलो हुने भएकाले नामै मनपर्ने अर्थात् “य:मरी” रहन गएको मानिन्छ । नेपाली समाजमा यसको छुटै पहिचान, विशेषता र महत्व रहँदै आएको छ ।

    यहाँनिर स्मरणीय के छ भने लन्डनको बीबीसी मास्टरसेफ प्रोफेसनल २०२० को प्रतिस्पर्धामा नेपालीसेफ सन्तोष साहले निर्णायक मण्डललाई चखाएर मात्रै “य:मरी” प्रख्यात् भएको होइन । लिच्छविकालदेखि नै नेपालमण्डलभित्र र यसभन्दा बाहिरका नेवाः समुदायमा “य:मरी” प्रख्यात् थियो र आज पनि छ । नेवाः समुदायले बाहेक अन्य नेपालीले चिने पनि अन्य समुदायमा त्यति प्रचलनमा नल्याइएको र प्रचार–प्रसारमा पनि नआएको “य:मरी” एकजना नेपाली सेफ सन्तोष साहले लण्डनको मास्टरसेफ प्रोफेसनल २०२० को रियालिटी शोमा निर्णायक मण्डललाई चखाएर बिश्वसामु ख्याती कमाए । आज विश्वले “य:मरी” नेवाःको खाना भनेर होइन कि नेपालको खाना भनेर चिनेको छ र हिजोसम्म नेवाः समुदायमा मात्र परिचित “य:मरी” आज सारा संसारले चिनेको छ । त्यसका लागि मास्टरसेफ प्रोफेसनल २०२० का मास्टर सेफ सन्तोष साहलाई सम्पूर्ण नेपालीका तर्फबाट धेरै बधाई तथा शुभकामना दिनै पर्दछ ।

    केहीदिन पहिले फसेबूक, इनस्टाग्राम, ट्वीटर र अन्य सामाजिक संजालका भिताहरूमा व्यापक रुपमा सजियो–“य:मरी” । गाउँ, टोल–टोलमा, शहर–बजार ,स्वदेश तथा विदेशमा यसले निकै चर्चा पायो । आखिर यति धेरै चर्चामा आएको “य:मरी“ को वास्तविकता के हो त ? यसको जिज्ञासा मेट्ने प्रयास कसैले गरेको देखिएन र जरूरी पनि ठानेनन् । आज यहाँ त्यही “य:मरी“ को इतिहास जरासम्म पुग्ने कोशिस गर्दैछु |
    नेपालभाषामा “यः” भनेको नेपालीमा “मन पर्ने” र “मरी” भनेको नेपालीमा “रोटी” हो । यः+मरी मिलेर “य:मरी“ शब्द बनेको हो । “य:मरी” विशेषत: मङ्सिर शुक्ल पूर्णिमाका दिन खाने चलन छ । यसै मरीको नामबाट नै पूर्णिमाको नाम पनि रहन गएको संस्कृतिविदहरूको भनाई रहँदै आएको छ । यसै पूर्णिमालाई धान्य पूर्णिमा पनि भन्ने गरिएको छ । संस्कृत शब्दबाट धान्य भन्नाले धान भने बुझिन्छ । मङ्सिर महिना किसानहरूले नयाँ धान भित्र्याउने महिना भएकाले सोही धानबाटै धान्य पूर्णिमा रहन गएको मानिन्छ । त्यस्तै नेपाल सम्बतको तिथि अनुसार यसलाई थिंला पुन्हि भन्ने गरिन्छ ।

    कहिलेदेखि बनाउन थालियो य:मरी ?

    लुम्बिनी बौद्ध विश्वविद्यालय सम्बद्ध ललितपुर इबहाःबहीस्थित सुगत बौद्ध महाविद्यालयका संस्थापक अध्यक्ष पं० महीश्वरराज वज्राचार्यका अनुसार यो चलन बालार्चन्द राजाले चलाएको मान्नुपर्ने हुन्छ । बालार्चन्द लिच्छवी राजा शिवदेव प्रथमका दोस्रा पुत्र थिए । ‌एतिहासिक कालखण्डको हिसाबले हेर्दा शिवदेव प्रथमको राज्यकाल इश्वी सम्बत् ५८८ भन्दा केही अगाडि देखिन आउँदछ । शिवदेवकी एउटी छोरी थिइन् जसलाई अंशुवर्मासित बिहे गरेर पठाइएको थियो । उनका तर्फबाट पनि एउटी छोरी जन्मेकी थिइन् । उनको नाम भृकुटी राखियो जसले विभूती स्वरूपमा नेपाललाई विश्वसामु चिनाउन सफल भएकी छन् ।

    इतिहासका पानाहरूमा शिवदेव नाम मात्रका राजा थिए भन्ने उल्लेख गरिएको छ । त्यतिबेला सम्पूर्ण राज्यको विरासत अशुंवर्माले सम्हालेका थिए । त्यसपछि राजा शिवदेवले बौद्ध धर्म अंगालेर ललितपुर छेउको शंखमूलमा आएर बसोबास गर्न थाले । केही समयपछि कान्तिपुरको विशालनगर (हाडी गाउँ) देखि शंखमूलसम्मको जंगलमा विशाल आगलागी भएर धेरै धनजनको क्षति हुन पुग्यो । त्यही जंगल फडानी पछि नयाँ बस्ती बसालेर श्रीमूर्ति देश नामाकरण गरी शिवदेव राजाकै रूपमा शंखमूलमा बस्दै आए । शंखमूलमा बस्दै गर्दा उनका दुई छोराहरू भए । पहिलो छोराको नाम विश्वदेव वर्मा र दोस्रो बालार्चन वर्मा थिए । विश्वदेव वर्मा अठार वर्षका भएपछि सम्पूर्ण राज्यभार विश्वदेव वर्मालाई सुम्पेर शिवदेव वर्मा धर्मपत्नीसँगै तपोभूमितिर लागे ।

    पं० वज्राचार्यको भनाई अनुसार विश्वदेव वर्माले राज्यभार सम्हालेका बेला संजोगवश जिउँदै यमलोकतिर पुगेछन् र यमलोकमा पुग्दा “पद्मपाणी लोकेश्वर” को साक्षात् दर्शन पाउनु भएछ । यमलोकबाट फर्किसकेपछि राजा विश्वदेवले “पद्मपाणी लोकेश्वर” को मूर्ति बनाउन लगाएपछि उहाँको अल्पआयुमै मृत्यु हुनपुग्यो र उहाँका सन्तानहरू कोही नभएकाले बालार्चनले सम्पूर्ण राज्यभार सम्हाले । बालार्चनले राज्यभारको पद सम्हालेपछि आफ्नो दाई विश्वदेव वर्माले बनाउन लागाएको “पद्मपाणी लोकेश्वर” बोधिसत्वलाई रथमा राखेर तानेर शहरमा घुमाउने जात्राको सुरुवात् गर्नुभयो । “पद्मपाणी लोकेश्वर“ नेवाः समुदायहरूमा “बोधिसत्व चकबा: द्यो” का रूपमा परिचित छन् भने गैर नेवाः समुदायहरूमा “मिन नाथ” नामबाट परिचित छन् । “चकबा: द्यो” रथयात्रा रातो मच्छिन्द्रनाथको रथयात्रासँगै हुने गर्दछ | रातो मच्छिन्द्रनाथको रथयात्रा गर्दा पछिल्तिर तानेर ल्याउने अर्को रथ नै “पद्मपाणी लोकेश्वर“ बोधिसत्व (चकबा:द्यो वा मिननाथ) को रथ हो । उहाँको भनाइ अनुसार यो रथयात्रा मच्छिन्द्रनाथको रथयात्रा हुनु भन्दा चालिस पचास वर्ष अघिदेखि चल्दै आएको मानिन्।
    पं० वज्राचार्यको भनाइ अनुसार राजा बालार्चन बर्माको राज्यकालसम्म पाटनका वासिन्दाले खेत भनेको धर्तीमाता हो पृथ्वी माता हो खेत खन्यो भने धर्तीमाताको शरीरमा घाउ भई छियाछिया पर्न जाने हुँदा त्यसको पाप लाग्ने डरले खेत खन्ने काम गर्दैनथे र त्यस समयमा राज्यको लागि चाहिने खाद्य पदार्थ बाहिरबाट ल्याउने गरिन्थ्यो । एक समयमा बाहिरबाट आउने खाद्यान्नमा नकारात्मक असर पर्यो र खाद्यान्न आउन कम भयो । राज्यमा खाद्यान्नको हाहाकार मच्चिन थाल्यो | त्यसपछि राजा बालार्चनले राज्यमा पर्न गएको खाद्यान्नको हाहाकारका कारण जनताको भोकमरीलाई केही मात्रामा भएपनि न्यूनिकरण गर्न आफ्नो राज्यमा भएको जमिनमा खेतीपाती गर्ने मनसायले प्रजाका नाममा एउटा उर्दी जारी गरे । “यदि कुनै व्यक्तिले हाम्रो राज्यमा खाली रहेको जमिनमा कृषि कर्म गर्न वा खेतीपाती गर्न (खेत खन्न) चाहेमा त्यस्ता व्यक्तिलाई राज्यस्तरबाट उचित मूल्यांकन गरेर पुरस्कार प्रदान गरिनेछ ।” यति भन्दा कोही पनि कृषिकर्म, खेत जोत्न राजी भएनन् | महिना दिनपछि एकजना अग्ला हठाकठा लक्का जवान केटा दरबारमा आएर राजा बालार्चनसामु बिन्तीपत्र चढाए “महाराज मेरो नाम बलभद्र हो, म यो काम गर्न तयार छु | महाराजले भने- तिमीलाई थाहा छ नि तिमी के काम गर्न गइरहेका छौ भनेर, अहिलेसम्म हाम्रो राज्यमा खेत खनजोत र कृषिकर्म गरेको छैन र गर्यो भने त्यसको परिणाम नराम्रो हुन्छ भनेर | उसले पनि महारराज यो कुरा मलाइ राम्रै थाहा छ, यो काम गरेर म मरे पनि तयार छु । मेरो मृत्युमा वेदना पोख्ने न मेरा आमाबुबा छन् न त इष्टमित्र नै । मेरा कोही पनि छैनन् | यो देश र जनताका लागि बलिदान दिन म तयार छु यसमा मेरो कुनै अपशोच छैन |

    बलभद्रको यस्तो सहासिक र बहादुरीको कुरा सुनेर राजा बालार्चन र प्रजाहरु सबै प्रशन्न भए | खेत खन्ने मान्छे तयार भैसकेपछि खेत खन्ने ठाउँका बारेमा दरबारभित्र सल्लाह गरेर शहरभन्दा अलि पर खेतीपाती गर्न मिल्ने राम्रो ठाउँ देखाइदिए र बलभद्र खन्न तयार भए । खेत खन्नुभन्दा अगाडि बलभद्रको मुखबाट एउटा शब्द निस्कियो । जुन शब्द थियो “जि सीसां थसि जिं बुँ पाले ।” नेपालीमा भन्नु पर्दा “म मरे मर्छु म यो खेत खन्छु”। बलभद्रले बोलेको “थसि” भने शब्दबाट ठाउँ (देश, गाउँ) कै नाम रहन गएको मान्यता रहँदै आएको छ । त्यो शब्दको नामबाट बनेको बस्ती आजसम्म पनि जीविन्त छ | सिद्धिपुर, सानागाउँ नामबाट चिनिने गाउँ नै थसि हो जुन काठमाण्डौबाट ७ किलोमिटर र ललितपुरको ग्वार्कोबाट ३.२ किलोमिटर पूर्वतर्फ इमाडोल (मतारे) र लुभुको बीचमा पर्दछ भने हाल महालक्ष्मी नगरपालिकाको वडा न. ६ मा पर्दछ |

    त्यसैं दिनदेखि पाटन (यल) वासीले कृषिकर्मको थालनी गरे | खेत खनेर धान रोपेको केही समयपछि धानका बालाहरू खेतमा झुल्नुअघि नै खेत खन्ने साहासी बहादुर बलभद्रको मृत्यु भएछ | राजा बालार्चन र प्रजाहरू सबै शोकमा डुबेछन् | देश र जनताका लागि बलभद्रको अतुलनीय योगदान र बलिदानको कदर गर्दै उनको मूर्ति निर्माण गरेर सबैले देख्ने गरी सार्वजनिक स्थलमा स्थापना गरिदिएछ | जुन मूर्ति आजपर्यन्त ललितपुरको लगनखेलबाट मंगलबजारतर्फ जाँदा टंगल टोलबाट त:बहाल (मच्छिन्द्र बहाल अथवा धर्म कृतन महाविहार) भित्र पस्नुअघि दायाँतर्फ अथवा धर्म कृतन महाविहारबाट पूर्वतिरको ढोकाबाट बाहिर निस्कँदा बायाँतर्फ एउटा मन्दिरभित्र रहेको छ । पूर्णकदको त्यस मूर्ति पाँच फिट तीन इन्च उचाईको छ |

    खेतमा रोपेको धान काटिसकेपछि त्यस धानको हकदार बलभद्र हो भनेर धानको चामल र पिठो बनाएर डल्लो डल्लो पारेर चैत्य वा स्तूपको आकारमा ल्याएर त्यस गर्भ भित्र (खालि) स्थानमा चाकु र तिलको सम्मिश्रण गरेरविशेष तरिकाले बनाइएको पोसिलो पदार्थको लेदोलाई भित्र राखेर पानीमा बाफाएर रोटी तयार पारेर राजा बालार्चन र प्रजामिलेर बढो हर्षोल्लासका साथ उत्सव मनाएर सबैभन्दा पहिले साहस र बहादुरी योद्धा बलभद्रलाई य:मरी चढाइयो । यही बेलादेखि य:मरीको उत्सव मनाउन सुरुवात भएको हो र जुन परम्परा नेवाः समुदायमा आजपर्यन्तपनि चल्दै आइरहेको छ | यसको आफनै छुट्टै विशेषता र महत्व रहँदै आएको छ | यःमरी पुन्हिका दिन खान य:मरी पकाउनुअघि नेवाः समुदायमा ठूलो आकारमा दुईवटा य:मरी बनाइँछ जसको एउटालाई “मायो” र अर्कोलाई “बायो” भनिन्छ | मायोले माता र बायोले पिताको प्रतिनिधित्व गर्ने कुरा वरिष्ठ संस्कृतिविद सत्य मोहन जोशी बताउनु हुन्छ | उहाँका अनुसार दुइवटै य:मरीको आकार पनि फरक फरक हुन्छ । “मायो” त्रिकोणाकार हुन्छ र पकाउँदा त्यसमा चाकु र तिल नराखेर दाल,मास,मुंग पिँधेर बनाइएको लेदो हालेर पकाइन्छ भने “बायो” गोलाकार एवं लटुकार हुन्छ र पकाउँदा चाकु तिल र खुवाको मिश्रण गरेर पकाइन्छ । यो खानको लागि पनि “बायो” जस्तै सानो आकारमा पकाइन्छ |

    संस्कृतिविद हरिराम जोशीको भनाई अनुसार चाँगुनारायण मन्दिरको अभिलेखमा “वंशबधन” अभिषेक भनी उल्लेख गरिएको पाइएको छ । यहाँ “वंशबधन” भनेर मन्दिरको माथि (धूरी) गजूरबाट र मन्दिरको चारै कुनाबाट ससाना य:मरी सँगै चेप्टो ससाना पात आकारका ल्होंचामारी बनाएर अभिषेक गर्ने परम्पराको उल्लेख गरिएको हो कि भने बुझिन्छ | अहिलेको चलनचल्तीको बोलीमा “वंशबधन” नै “द्यो बुसादँ” नै हो कि भनि बुझिन्छ । किनकि “वंशबधन” अर्थात “द्यो बुसादँ” वर्षको एकपटक मात्रै गरिन्छ | “वंशबधन” अर्थात “द्यो बुसादँ” गर्दा मन्दिरको माथि (धूरी) गजूरबाट र मन्दिरको चारै कुनाबाट ससाना य:मरीसँगै चेप्टा ससाना पात आकारका ल्होंचामारी बनाएर खसाल्ने (अभिषेक) परम्परा आजपर्यन्त रहेको छ भने अभिलेखको भग्नावशेष मात्र बाँकी भएकाले य:मरी उल्लेख भएको देखिन्न । तर आज पनि चाँगुनारायणलाई य:मरीले पूजा (अभिषेक) गर्ने गरिन्छ । त्यस कारण चाँगुनारायणको मन्दिर स्थापना भएदेखि नै य:मरी चलनचल्तीमा आएको हो कि भन्ने अनुमान गर्ने गरेको देखिन्छ, जुन १६ सय बर्षअघिको कुरा हो र यसैलाई ठोस प्रमाणका रूपमा लिनुहुन्छ संस्कृतिविद हरिराम जोशी | यो सुखद अवसरमा जस्तै नेवाः समुदायमा छोराछोरीको जन्मदिन दुई, चार, छ, आठ, दस र बाह्र वर्षदिनमा जतिऔँ बर्षको जन्मदिन मनाइन्छ त्यति नै स-साना य:मरी बनाएर त्यसको माला उनेर लगाएर जन्मदिनको खुशियाली मनाउने गरिन्छ भने चेलीबेटी गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको य:मरी सगुन सरि उपहार दिएर पठाउने चल्न पनि छ साथै कहींकतै बुढाबुढीहरूको जन्कु गर्दा पनि य:मरी राखेर पूजा गर्ने चलन पनि छ |
    बौद्ध धर्ममा प्रत्येक पूर्णिमाहरू महत्वपूर्ण छन् । तसर्थ यःमरी पूर्णिमा पनि यसैसँग जोडिएको छ भन्न सकिन्छ । बौद्ध धर्ममा दानको विशेष महत्व रहेको पाइन्छ । बुद्धत्व प्राप्त गर्न दशपारमिता पूरा गर्नु पर्छ। बुद्धले पनि दशपारमिता पूरा गरेर बुद्धत्व प्राप्त गर्नुभएको थियो । चामलको पिठोबाट ससाना चैत्य आकारका य:मरी बनाएर त्यसभित्र चामलका गेडाहरू हालेर पकाइन्छ र साँझपख टोलका बच्चाहरु घरघरमा आएर माग्न आउने बेला य:मरी दान दिएर पठाउने गरिन्छ । जुन नेवाः बस्तीमा प्रचलित थियो | नेवा समुदायको घर आँगनमा पूर्णिमाका दिन गुन्जिने लोकभाका अचेल सुनिन छाडेका छन् | परम्परागत चांडपर्वहरु आधुनिकताको चपेटामा परेसँगै य:मरीको लोकभाका पनि लोप हुने खतरा बढिरहेका छन् | त्यसको सानो भाका छः त्य:छिं त्य: बकछिं त्य: लाटाबाटा कुलिचां जुछिं त्य: । य:मरी च्वामु उके दुने हामु, बिउम्ह ल्यासे मबिउम्ह बुरीकुति,छिमि नं चिकु जिमि नं चिकु पियाच्वने थाकु ।यसको अर्थ हुन्छ : चार माना दिए पनि हुन्छ, नसके एक माना मात्र दिए पनि हुन्छ, त्यो पनि नभए ससाना भाँडाआदि । त्यस जमानामा बच्चाहरूले झुत्रा कोट रलुगाफाटाहरू लगाएका हुन्छन् ।त्यसमा एउटा सानो खल्ती हुन्छ । त्यसमा अट्ने जति मात्र दिए पनि हुन्छ |(यहाँ कुलिचा भनेको नेवाः समुदायमा देवतालाई पूजा गर्दा प्रयोग गरिने एक प्रकारको माटोबाट बनाइएको सानो भाँडो हो |) य:मरी चुच्चो छ,भित्र कालो छ, दिने राम्री तरुनी, नदिनेनराम्री बुढी,तपाईहरूलाई चिसो हामीलाई पनि चिसो कुरेर बसे थाकिन्छ भन्ने बुझिन्छ |

    आजको दिन य:मरी खानुभन्दा अगाडि घरमा नयाँ धान जहाँ भण्डारण गरिएको हुन्छ जसलाई नेपाल भाषाबाट कुठी भन्ने गर्छ त्यसलाई कु पुजा गर्ने भनेर य:मरी सहित कुवेर,गणेश र लक्ष्मीका मूर्ति बनाएर कुठिमा राखेर विधि अनुसार पूजा गरेर चार दिनसम्म छोपेर राखिन्छ र चारदिन पछि विधिपूर्वक पूजा अर्चना गरेर कु क्वकायेगु भनेर कुठीबाट सबै प्रकारका रोटीहरू निकाल्ने गरिन्छ र सम्पूर्ण परिवार बसेर प्रसादका रूपमा बाँडेर खाने चल्न छ | तर राजा बालार्चनले य:मरी पूर्णिमाका दिन मनाएको उत्सवत्यस्तो थिएन | उ बेला य:मरी चैत्य आकारमा मात्र बनाइन्थ्यो र पछि मात्र कुवेर,गणेश र लक्ष्मीका मूर्तिहरू राखेर पूजाआजा गर्ने चलन चलेको मानिन्छ । यस सम्बन्धी एक रोचक किंवदन्ती पनि छ |

    यसबारेमा “रत्न मालाबदान (अबदान)”भन्ने बौद्ध ग्रन्थमा “कु“ पूजा बारेमा उल्लेख गरिएको छ | आदिमकालमा पन्चाल भने देश (हाल पनौती)मा ज्यादै गरीव एक दम्पत्ति बसोबास गर्दथे | उनको नाम सुचन्द्र थियो | उनी समुदायमा अति नै बिपन्न,गरिब थिए | खान लाउन पनि मुस्किल थियो तर पनि उसको घरमा कोही माग्न आए भने खाली हात कहिले पठाउँदैन्थे । आफूसँग भएका जे पनि दान दिएर पठाउने गरिन्थ्यो | यस्तो खबर सुनेर (रावणको भाई)धनको खानी कुवेर देवता पनि अचम्म परे | आफूलाई नै खान लाउन नपुग्नेले कसरी दान दिन्छ भनेर सोच्न थाले र परीक्षण गर्ने मनसाय बनाएर एकदिन दरिद्र र गरीवको भेषधारणगरि जोगीको रूपमा एउटा बिमिरो (त:सि)हातमा लिएर सुचन्द्रको घर अगाडि गएर उभिरहे | सुचन्द्र घर बाहिर गएको समय थियो र घरमा उनकी धर्मपत्नी मात्र थिइन् | यहाँनिर यस्तो श्लोक लेखिएको छ जुन रत्नमाला बदान ग्रन्थको श्लोक नम्बर १४ मा छ :
    दरिद्र्श्य माता य ग्रे त्वा : बीज पुरकम !!
    सुचन्द्र से ग्रे : ग त्व याचनार्थ प्रबेशम !!
    भावार्थ :बीज बिमिरो नेपालभाषामा त:सि हातमा लिएर दरिद्र र दुःखी सुचन्द्रको घरमा कुवेर माग्न गए |

    सुचन्द्रकी धर्मपत्नीले घरको झ्यालबाट बाहिर हातमा बिमिरो त:सि लिएर एकजना दीनदुःखी र गरीव मान्छे आफ्नो घर अगाडि उभिरहेको देख्यो र तल गएर सम्मान र सत्कारका साथ स्वागत गरेर भित्र ल्याएर उसले लगाएको झुत्रा लुगा देखेर उनलाई दया जागेर आयो र आफ्ना श्रीमानको भएको एक जोर लुगा पनि गरीव मान्छेलाई लगाउन दिए । आफूलाई भनेर राखेको खाद्य पदार्थहरू सबै गरीव मान्छेलाई खुवाए | यतिको सम्मान र सत्कार गरेको देखेर भेषधारी कुवेर अति नै खुशी र प्रसन्न भएर आफ्नो सक्कली कुवेरको साक्षात दर्शन गराउनु भयो र म कुनै गरीव,दरिद्र र माग्ने व्यक्ति होइन तिम्रो गुनगान धेरै सुनेको भएर यो भेषधारण गरेर तिम्रो परीक्षण गर्न आएको हुँ ।

    आज य:मरी पुन्हि (पूर्णिमा)को विशेष दिन भएकाले नयाँ धान राख्ने कुथि (भण्डार)मा य:मरी सहित मेरो मूर्ति बनएर यो बिमिरो त:सि राखेर पूजा गेरर चार दिनसम्म छोपेर राख्नु र चार दिनपछि पूजा गरेर निकाल्नु भनेर गरीव कुवेर त्यहीँबाट अन्तरध्यान हुनुभयो | साँझपख सुचन्द्र घर आउँदा आज्ञा भएको सबै घटनाहरू सुनाए | अहो उसो भए तिमी त साह्रै भाग्यमानी पो रहेछ,मैले दर्शन पाउन सकिनँ । तैपनि उहाँले भने जस्तै पूजा गरौँ न भनेर कुवेरले भने जस्तै विधिपूर्वक पूजा गरेर चार दिनसम्म छोपेर राखे | चार दिनपछि हेर्न जाँदा बिमिरो (त:सि) त सुनको डल्लोमा परिणत भैसकेको थियो । त्यहाँदेखि सुचन्द्र धनी भएर सम्पन्न परिवार बनेका थिए भन्ने मान्यता छ |

    त्यही समयदेखि नेवाः समुदायमा कृषकहरूले य:मरी खानु भन्दा अगाडि आफ्नो कुथि पूजा गर्दा य:मरी कुवेरको मूर्ति सहित बिमिरो राखेर पूजा गर्ने प्रचलन थियो र पछि हुँदै गएपछि कुवेरको मूर्ति सहित देवता गणहरूमा पहिलो पूजा गर्ने गणेश र लक्ष्मीका मूर्तिहरू पनि राखेर पूजा गर्न सुरू गरेको थियो र जुन हालसम्म पनि यथावत नै छ | यता पन्चाल नगरी(पनौती)बाट य:मरी पुन्हि मनाउने प्रचलन सुरू भएको हो भन्ने मान्यतालाई कुनै ठोस प्रमाण नभएकोले पन्चाल नगरीबाट सुरू भएको हुनसक्छ भनेर भन्न मिल्दैन भनेर संस्कृतिविद हरिराम जोशी बताउनु हुन्छ |

    यो उत्सब नेवाः समुदायभित्रका सबैले मनाउँछ भने पनि नेवाः समुदायभित्र पनि केही ठाउँमा य:मरी पुन्हिको दिनमा य;मरी पकाउनु पर्दैन वा चलन छैन | सात गाउँको बखुंमदः जात्रा मनाउने कीर्तिपुर,पाँगा, नगाउँ, नैकाप सतुंगल ल्वंखा मच्छेगाउँहरूमा जात्रा लगत्तै पर्ने पर्व पर्ने भएकाले य:मरी पुन्हिलाई यहाँका वासिन्दाहरूले खासै महत्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइँदैन | मौसमको हिसाबले य:मरी पुन्ही को अघिल्लो रात बर्ष भरिकै लामो रात हुन्छ | य:मरिको चुच्चो जति तीखो बनाउन सकिन्छ उति नै दिन लामो भएर आउने जनश्रुति रहेको छ |

    अन्तमा आजका युवा वर्गहरू पश्चिमका आधुनिक संस्कृतिमा रम्न थाले संगै लोक संस्कृतिबाट विमुख हुँदै गईरहेको अवस्थामा संस्कृतिविद्हरूको फरक फरक अभिमत, अडान अनि नयाँ पत्रकार साथीहरूले बिना अनुसन्धान,प्रमाण र अन्वेषण गरि हावाको भरमा लेखहरू लेखि दिँदा आजका युवा वर्गले कुन सत्य कुन गलत भनेर छुट्याउने कसरी ? य:मरिको लेखहरू धेरै पढें तर कुनैमा पनि एकरूपता देखिएन | सबै लेखहरूमा फरक फरक मत र अभिमतहरू पाएँ | माथि उल्लेख गरिएको ३ वटै कुराहरूमा पनि कुनै ठोस प्रमाणका रूपमा सबैले मान्न सकिने अवस्था छैन | चाँगुनारायणको आफ्नै अडान छ,पन्चाल नगरीको आफ्नै अडान छ र पाटन (यल)को आफ्नै छुट्टै अडान देखिन्छ | सबैको य:मरी बारे एकमत देख्दिनँ। तसर्थ नेपालका सम्पूर्ण संस्कृतिविदहरू एकैठाउँमा बसेर पुन:छलफल वा अनुसन्धान गरेर य:मरिको इतिहासको बारेमा निचोड निकाल्न ढिला भएन र ?

    Facebook Comments

    छुटाउनुभयो कि? सबै