• TOKHA LIVE

      TOKHA LIVE

    • २१ भाद्र २०८३, आईतवार १५:४२

    बाढी–पहिरोपीडितका लागि ‘आर्ट फर होप’ : चित्र बिक्रीको रकम राहतमा

    काठमाडौं, २० भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढी तथा विभिन्न क्षेत्रमा गएको पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि काठमाडौंको खुसीबुस्थित नेपाः ब्याङ्क्वेटमा ‘आर्ट फर होप’ कला प्रदर्शनी सुरु भएको छ।

    कला क्षेत्रबाट विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा वरिष्ठ कलाकार राधेश्याम मुल्मीसहित विभिन्न पुस्ताका कलाकारका सिर्जना राखिएका छन्। आयोजकका अनुसार प्रदर्शनीमा ३५ कलाकारका करिब १८० वटा सिर्जना समावेश छन्।

    परम्परागत आरोग्य संस्था नेपाल, आर्ट बुम र नेपाः ब्याङ्क्वेटको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा कलाकारहरूले विपद्पीडितका लागि आफ्नो सिर्जनालाई सहयोगको माध्यम बनाएका छन्। आयोजक आर्ट बुमका अध्यक्ष रत्न शाक्यले प्रदर्शनीलाई कलाको प्रदर्शन मात्र नभई मानवीय सेवा र आशाको अभियानका रूपमा लिन आग्रह गरेका छन्।

    प्रदर्शनीमा राखिएका चित्रहरू बिक्रीबाट प्राप्त हुने रकम बाढी–पहिरो प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग गरिने आयोजकले जनाएको छ। पहिलो दिनमै रु. १० हजारको चित्र बिक्री भइसकेको र थप चित्र बिक्री तथा सहयोगबाट रकम जुटाउने लक्ष्य रहेको जनाइएको छ।

    भदौ १९ देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म अवलोकन तथा चित्र खरिद गर्न सकिनेछ। आयोजकले कला प्रेमी, शुभेच्छुक तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी भई विपद्पीडितको सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ।

    यो प्रदर्शनीले कला, कलाकार र समाजसेवालाई जोड्दै विपद्मा परेका परिवारको पीडामा केही राहत पुर्‍याउने प्रयास गरेको आयोजकको भनाइ छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै