• TOKHA LIVE

      TOKHA LIVE

    • २१ भाद्र २०८३, आईतवार १९:२१

    बाढीपीडितको उद्धारमा टोखा नगरपालिका सक्रिय : सशस्त्र प्रहरीलाई अत्यावश्यक उपकरण प्रदान

    काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री उपलब्ध गराएको छ।

    २०८३ भदौ २१ गते आइतबार टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपाल, १८ नं. गण बाघभैरवलाई विभिन्न अत्यावश्यक उद्धार सामग्री हस्तान्तरण गरेका हुन्।

    नगरपालिकाले उद्धार कार्यलाई थप प्रभावकारी र सुरक्षित बनाउन डोरी, रेस्क्यु ब्याक बोर्ड, लाइफ बुय, पुली लगायतका उद्धार सामग्री उपलब्ध गराएको हो। ती सामग्रीले बाढी तथा जोखिमपूर्ण क्षेत्रमा फसेका नागरिकको खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायतका सुरक्षा निकाय उद्धार, खोजी तथा राहत कार्यमा निरन्तर परिचालित छन्। जोखिमपूर्ण भूगोलमा उद्धारका क्रममा आवश्यक पर्ने उपकरणको अभाव हुन नदिन टोखा नगरपालिकाले आफ्नो तर्फबाट सहयोगलाई निरन्तरता दिएको जनाएको छ।

    नगरप्रमुख अधिकारीले विपद्को समयमा स्थानीय तहको दायित्व नागरिकको जीवनरक्षा र मानवीय सेवामा केन्द्रित हुने उल्लेख गर्दै उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीको आवश्यकता र सुरक्षालाई ध्यानमा राखेर सामग्री सहयोग गरिएको बताए।

    टोखा नगरपालिकाले यसअघि पनि भोटेकोशी तथा अन्य बाढी प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनाका लागि आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ। नगरपालिकाले विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोगलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा यस्ता आवश्यक उपकरणको उपलब्धताले उद्धार टोलीलाई थप सहजता पुग्ने विश्वास गरिएको छ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै