जाडो मौसम को समयमा बिहानी पख सुर्य उदाई रहेको थियो । हिमालका हिउँ सेतै थिए । चराहरु अनेकौँ धुन गुञ्जाउँदै थिए । खोलाहरु सलल बगिरहेका थिए । मलाई पनि यस सुन्दर वतावरणमा आफ्नो सुन्दर कलालाई पोख्न मन लाग्यो र म मेरो प्यारो विद्यालयको शीर्षकमा एउटा लेख लेख्न तयार भएँ।
कल्पनाको उडानलाई, मेरो सपनालाई म मेरै विद्यालयमा कर्म गरी साकार पार्छु र आफ्नो हृदयको गहिराइमा छिपाएर राखेका योजनाहरु सफल पार्छु । चाबहिल स्थित स्तुपाको काखमा अवस्थित मेरो प्यारो विद्यालय विद्याको खानीले भरिएको छ । श्री पशुपति मित्र माध्यमिक विद्यालय भई बनेको विद्यालयमै मैले आफूले आफूलाई भाग्यमानी सम्झेर कवि शिरोमणी लेखनाथ पौड्यालले भने जस्तै “ उपकारी गुणी व्यक्ति निहुँरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दछु ।
मेरो विद्यालय मेरी आमा हुन् जसको पुकार मैले सुनिन भने म बाँच्नुको के अर्थ ? परिश्रमको खोलो बगाएर म आफ्ना विद्यालयको निम्ति ज्यान दिन तयार भैरहने छु । शिक्षक शिक्षिकाको मिहिनेत परिश्रम अनि विद्यार्थीको गोहिरो अनुशासन, साच्चै मैले खोजेको विद्यालय यही हो । अनुशासित विद्यार्थी अध्ययन तथा सफलताको भञ्ज्याङ् उक्लिन क्रमश शैक्षिक तथा व्यवहारिक ज्ञानका श्रोतका खोजीमा जुटिरहने यस विद्यालयका शिक्षक शिक्षिका अनि विद्यार्थी बिर्सन सक्दिन म । मैले मेरो विद्यालयको प्रसङ्ग गर्न खोजेको होइन ,एक चोटि सबैको सामु यो लेख लेख्न वाद्य भएको छु।
अनुशासन ज्ञानको मुहान हो , जीवनको लक्ष्य भेटाउने गोरेटो हो । वर्तमान समयका विद्यार्थीले अनुशासनका माध्यमबाट आर्जित शिक्षाले सहि सदुपयोग गरेर भोलिको देशका लागि वैकल्पिक नेतृत्व दिन सक्नुपर्छ भन्ने भाव यस विद्यालयका शिक्षक शिक्षिकाको रहेको छ । गर्व गर्छु म जन्म दिने आमालाई, मलाई यति धेरै गौरवान्वित भावना प्रवाह गराउँने विद्यालयमा अध्ययन गर्न पठाएकोमा । हरेक पीडा अनि अनेक दुःखलाई सामना गर्दै आफ्नो कर्तव्य नभुल्ने अनि यस विद्यालयलाई आज एउटा सुवास दिने फूल सरि सम्झने, एउटा सानो घरको रुपमा रहेको विद्यालयलाई आज स्वर्ग जस्तै बनाउने शिक्षक, शिक्षिका अनि यहि विद्यालयको उन्नति प्रगति चाहनुहुने अभिभावकहरुलाई हृदयको कुनाबाट आभार प्रकट गर्न चाहन्छु । धन्यवाद दिन चाहन्छु । मेरो विद्यालयलाई आज यस स्थानमा पुर्याउनु हुने महानुभावहरुलाई हृदय देखी नै धन्यवाद। यसै विद्यालयको न्यानो माया अनि शिक्षक शिक्षिकाले दिएको स्नेह र ज्ञानले आफ्नो भविष्यको योजना बनाउने छु ।
म मेरो विद्यालयको गौरवगाथा गाएर कहिल्यै थाक्दिन । ज्ञानगुण, परिश्रम र लगनशील अनि फुल सरी बास्ना दिने विद्यालय नै मेरो पहिचान हो । म आफ्नो भाग्यले यस विद्यालयको विद्यार्थी हुन सकेको हुँ । जहाँ ज्ञानको खानी छ, जहाँ आफ्नो भविष्य बनाउने सुन्दर वातावरण छ त्यस्तो विद्यालयको विद्यार्थी हुन पाउनु गौरवको कुरा हो । म आफुलाई गौरवको अनुभूति गर्छु ।
देवजङ्ग शाही
कक्षा ९
पशुपति मित्र मा. वि
काठमाडौं ७ चाबहिल

