• TOKHA LIVE

      TOKHA LIVE

    • २६ कार्तिक २०७७, बुधबार १५:०४

    तिहारमा माटाको पाला बनाउन भ्याइ नभ्याइ काेराेनाका कारण पाला बनाउने पेशा संकटमा

    • तर्कबहादुर थापा

    २०७७ कार्तिक २६गते

    काठमाडौं। नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहार घरआगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा भक्तपुरका राकेश प्रजापति भने आफ्नो चक्कालाई छोड्ने तरखरमा छैनन्। उनी अझै प्रत्येक दिनमा समय बढाएर तिहारमा बत्ति बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त छन्।

    भक्तपुरको बोडे, चपाचो, पुरानो ठिमी, च्याम्मासिंह, तालाको पोर्टरी स्क्वायर लगायतका ठाउँका प्रजापती समूदाय यतिबेला राकेश जस्तै चक्काकै अगाडि आफ्नो समय व्यतित गर्छन्। माटाका भाँडा बनाउने उनीहरु विषेश गरी तिहार आउँदा बत्तिबाल्न प्रयोग गरिने पाला बनाउनमै आफ्नो समय व्यतित गर्ने गर्छन्।

    भक्तपुर नगरपालिका वडा नं. ४ को वडाकार्यालयसँगै जोडिएको आफ्नो पुरानो घरको माथिल्लो तलामा माटोलाई आकृति दिँदै थिए राशेक प्रजापती। ‘हाम्रो समस्या भनेको माटो हो,’ आफूले आकृति दिएको पालालाई पातलो काठमा राख्दै उनले भने, ‘पहिला माटो पाइन्थ्यो। अहिले किन्नु पर्छ। किन्दा माटो त्यति राम्रो पनि पाइँदैन। गाह्रो छ।’

    यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दिपावली गर्नका लागि माटोको पालामा दिप राखेर प्रज्वलित गर्ने चलन रहेको छ। पछिल्लो समय माटोको पालामा दीप र तेलबाट जलाउने दीपक भन्दा पनि विजुलीबाट जल्ले झिलिमिली बत्तिको प्रचलन बढ्दो छ।

    ‘अलि पहिला पाला नै धेरै प्रयोग गरिन्थ्यो,’ आफ्नो बुबासँगै विगत लामो समयदेखि पाला बनाउन सिकेका प्रजापतीले भने, ‘अहिले चीनले प्लाष्टिकका र बत्तिबाट जल्ने दियोको आकृतिका सामाग्री बनाइदिएपछि पाला बिक्री हुन अलि समस्या पर्न गएको छ।’

    आफ्ना बुवाले हातले घुमाउनु पर्ने चक्कामा माटोको भाँडा तथा पालाहरु बनाउने गरेको राकेशले सुनाए। ‘अहिले त प्रविधिले सजिलो गरेको छ। पहिला बुवाले बनाउँदा हातले घुमाउने चक्कामा बनाउनु हुन्थ्यो। मैले पनि त्यसै गरी सिकेको हो। पछिल्लो समयमात्र आएको मोटरमा चक्का जोडेर भाँडाकुडा बनाउने चलन।’

    केही वर्ष पहिलासम्म तिहारमा मात्र १ लाख पाला बेच्ने गरेको अनुभव प्रजापतीले सुनाए। यो वर्ष कोरोनाका कारण पनि आफ्नो व्यवसायमा धक्का दिएको उनको भनाइ छ। उनले आफूले जान्ने भएदेखि २ वटा घटनाले पाला व्यवसायमा संकट उत्पन्न गरेको अनुभव पनि सुनाए।

    उनले भने, ‘पहिला ७२ सालमा गएको भूकम्पले हाम्रो व्यवसायमा संकट उत्पन्न गरेको थियो। यो दोस्रो पटकको मेरो अनुभव हो जो कोरोनाका कारण हाम्रो व्यवसायमा समस्या सिर्जना गरेको छ।’

    ‘अहिले करिव ६ हजारमा एक ट्रिप माटो किन्नु पर्छ।’ प्रजापतिले भने, ‘बुवासँग काम गर्दा खेतबाट आफै गएर माटो खनेर ल्याउथ्यौं। हामी आफैले माटो खनेर ल्याउँदा राम्रो हेथ्र्यौं। ढुङ्गाहरु छानेका हुन्थ्थे। अहिले त्यस्तो हुँदैन। बेच्नेलाई कस्तो माटो आवश्यक पर्छ भन्ने पनि थाहा छैन।’ बिक्रीमा ल्याएको माटो बिक्रीका लागि मात्र हुने र बनाउनेले धेरै मेहनत गर्नुपर्ने प्रजापतीको तर्क छ।

    आफूले काम सुरु गरेदेखि हालसम्म कुनै पनि अवस्थामा आवश्यक कुरा खरिदका लागि पैसा अभाव नभएको उनको अनुभव छ। उनले भने, ‘आम्दानी कति हुन्छ हिसाब गरेको छैन। तर, आफूलाई जान मन लागेको ठाउँ, खानमन लागेको कुरा कुनैपनि चिज पैसा अभावका कारण रोक्नु परेको छैन। यसरी बुझ्नुहोस कि आम्दानी पनि राम्रै छ।’

    नयाँ पुस्ताले परम्परागत पाला बनाउने व्यवसाय स्वीकार नगरीसकेको उनको गुनासो रहेको छ। उनले भने, ‘सिक्न पनि आउँदैनन्। बरु विदेशीहरु सिकेर जान्छन्। विदेशमा गएर बनाउँछु भन्नछन्। हाम्रो तिरका यूवाहरुलाई यसो गर्नु पर्छ भन्दा आम्दानी नहुँने पनि कसैले गर्छ जस्तो कुरा गर्छन्।’ सरकारले माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवर्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उनको आशय छ।

    ‘खै अब सरकारलाई के गर्ने के नगर्ने भनौं,’ प्रजापतीले भने, ‘कुमालेहरुलाई माटोको भन्दा बढी अन्य कुनै कुराको पनि आवश्यकता पर्छ जस्तो लाग्दै। सकेसम्म सरकारले हामीलाई आवश्यक पर्ने माटो खन्ने ठाउँहरु व्यवस्थित गरिदिएको भए हामीलाई काम गर्न सजिलो हुथ्यो। हामी माटो किन्न तयार छौं तर, राम्रो चाहियो। भनेको बेला पाउनु पर्यो।’

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै