• TOKHA LIVE

    • २८ आश्विन २०७७, बुधबार २०:२६

    संसारै ध्वस्त हुने समयको कथाः सन् २०२७ को एक बिहानी

    •आइज्याक असिमोभ

    पानी परिरहेको छ । आज पनि तपाईंले पैदलै कार्यालय जानुपर्ने भयो । उपनगरीय रेल भरिभराउ छ । बसका दिन त गए भन्दा पनि हुन्छ । भिजेको सडकमा साइकल पनि निकै चिप्लन्छ । राम्रो कुरा के भने तपाईंले धेरै टाढा गइरहनु पर्दैन । तपाईंसँग छाता त छँदैछ, त्यसलाई ह्वात्त खोल्नुस् र अघि बढ्नुस्, बस् !

    तपाईं भाग्यशाली हुनुहुन्छ किनभने छेउमै भएको बहुतल्ले भवनलाई भत्काउने काम पाउनु भएको छ । बिजुली भन्ने चिज हिजोआज दुर्लभ भएपछि ठूला-ठूला बहुतल्ले भवनहरू नरकजस्तै बन्न पुगेका छन् । मानिसहरू सानासाना खुला घरमा बस्न थालेका छन् । त्यसैले बहुतल्ले भवनहरू भत्काउने काम तीव्र गतिमा बढिरहेको छ ।

    यस्ता भवन भत्काउनुको उद्देश्य पनि यी घर भत्काउँदा फेला पर्ने धातु र तिनको बहुमूल्य रकम पनि हो । धर्तीबाट भएभरका सारा भण्डार रित्याइसकिएको छ । फलाम भन्ने चिज नै नरहेको अवस्थामा पुराना घर

    आइज्याक असिमोभ
    भत्काएर त्यहाँबाट निकाल्नु बरू निकै ठूलो आम्दानीको कार्य बन्न पुगेको छ । यी भवन भत्काउनुस् र आफूलाई आवश्यक पर्ने चिजहरू लिनुहोस् । पेट्रोल वा बिजुलीजस्तै कोइला पनि उहिल्यै सकिएको हो । परमाणु इन्धनको अनुभव पनि निकै खतरनाक साबित भइसकेकाले त्यसको प्रयोग हुन छाडेको पनि निकै भइसकेको छ । पृथ्वीको अवस्था यस्तो भइसक्यो कि सौर्य ऊर्जा पनि अव्यवहारिक भइसकेको छ ।

    १० वर्षभन्दा बढी उमेरका मानिसले अझै पनि मोटरगाडीलाई बिर्सिएका छैनन् । वृद्धवृद्धाहरूलाई त अझै पनि पेट्रोलको दाम दिनप्रतिदिन उच्च गतिमा बढेको याद छँदैछ । सडकमा निख्रिन लागेको पेट्रोल र उच्च दाम पर्ने पेट्रोल गाडीमा हाल्न लामो लामो लाइनमा लाग्थे । केही समयपछि त त्यो लाइन पनि घट्न थाल्यो । पेट्रोल किन्नु सामान्य मानिसको बुताभन्दा बाहिरको हुन थाल्यो । केही सीमित सम्पन्न मानिसहरूले मात्र निजी कार चलाउन सकिरहेका थिए । अब त यी मोटर र कारहरू पनि कुख्यात धनीको प्रमाण बन्न पुगेको थियो । त्यसैले पनि जब सर्वसाधारणहरूले निजी कार देख्थे, केही आरिसले र केही पीडाले सराप्न थाल्थे । केहीले त सडकमा दौडिरहेका एकादुई गाडी रोक्थे, तिनलाई आगो झोसिदिन्थे । त्यसपछि पेट्रोल लिनका लागि कुपन बाँड्न थालियो । कुपन भएकाहरूले मात्र पेट्रोल पाउने अवस्था आउन थालेपछि सडकमा गाडीको संख्या अझै घट्न थाल्यो र हेर्दाहेर्दै एकादुई देखिने कारहरू पनि देखिन छाडे । हरेक तीन महिनामा कुपन बाँडिन्थ्यो । र, हरेक कुपनपछिको तीन महिनामा गाडीको संख्या खुम्चिदै खुम्चिदै जान थालेको थियो ।

    एक समय त यस्तो आयो, कुपन बाँड्न छाडियो र कारहरू जहाँको त्यहीँ अड्किन थाले । अर्थात्, ती रद्दीझैँ मान्छेले छाडेर हिँड्न थाले ।

    तर यी निराशायुक्त समयमा पनि आशाका किरण मानिसले खोजिरहेको थियो । शर्त के मात्र छ भने त्यो आशा तपाईंले देख्नु चाहिँ पर्‍यो । अब आजकै दिनको अखबार पल्टाउनुस् न ! २०२७ अक्टोबर १२ को दिन प्रथम पृष्ठमा लेखिएको छ- हाम्रो शहरका वायु प्रदूषण अचम्मलाग्दो तरिकाले घटेको छ । यहाँका उद्योगबाट निस्कने धुँवा-धूलोको कमीका कारण क्रमशः शहरमा प्रदूषण घट्दै जान थालेको छ ।

    हुन पनि उद्योगहरू बन्द भएको कयौँ समय भइसकेको छ, त्यस्तै मोटरहरू पनि चलेका छैनन् । यस्तो अवस्थामा प्रदूषण घट्नु त छँदैछ ।

    सर्वसाधारणमा डर थियो, प्रहरी गस्तीको अभावमा अपराध बढ्नेछ । प्रहरीसँग सवारी साधन नहुनाले उनीहरू पैदलै टाढासम्म जाने कुरा भएन । दूरदराज वा प्रहरी उपस्थिति नभएको ठाउँमा अपराध बढ्नेछ । तर आश्चर्य, अपराधको संख्यामा उल्लेखनीय गिरावट देखिएको छ । प्रहरीहरू पनि हिजोआज त पैदलै कहीँसम्म पुग्छन् । सडक त पहिलेजस्तो विरानो छैन । पैदलै निश्चित गन्तव्यमा पुग्नेहरूको संख्या बढ्न थालेको छ । एक्लैएक्लै घुम्नुको साटो मानिसहरू साथीहरू मिलेर घुम्न निस्कन थालेका छन् । चिनेजानेकै मानिसहरू मिलेर हिँड्नाले डरभर भन्ने चिज हराएको छ । सडकमा हुने अपराधका लागि त ठाउँ नै छैन । होस् पनि कसरी ?

    मौसम? यदि ज्यादै चिसो भयो भने मानिसहरू बाहिर घाम तापिरहेका छन् । गर्मी पनि अत्यधिक भयो भने बाहिर केहीको आडमा, केहीको छायाँमा बसिरहेका छन् । खुला वातावरण नै अब त वातानुकूलनको एक मात्र तरिका बन्न पुगेको छ । घरघरमा बिजुली दिन सक्ने अवस्थामा सरकार छैन । केही सीमित घरमा मात्र बिजुली भन्ने चिज देख्न पाइन्छ । घरघरमा दिन नसकिए पनि सरकारले सडकका पोलमा बिजुली भने दिएको छ ।

    शहरको मुख्य भागमा बस्नेहरूलाई केको ढुक्क छ भने उनीहरूको जिन्दगी कम्तीमा शहरको एक कुना वा एक छेउमा बस्नेको भन्दा अवस्था अलि राम्रो छ । यो भव्य उपनगर मोटरगाडीकै बलबूतामा उभिएको थियो । तिनकै बलमा त्यसको भव्यता कायम थियो र आज त्यसैका कारण अन्तिम श्वास लिइरहेको छ । अचेल ती उपनगरमा बस्नेहरू निकै भयानक समस्यासँग जुझिरहेका छन् । चौडा सकडका दुवै किनारमा बनेका भव्य बंगलामा बस्नेहरू अचेल खानेपिउने सामान मान्छेले नै बोकिरहेका छन्, केहीले भने ठेलामा तानिरहेका छन् । हिउँदका दिनमा हुर्रिने हिउँ तूफानका दिनमा त अवस्था अझ बिग्रन्छ । त्यसै पनि पहिला बिजुली बत्ती गायब हुन थालेपछि फ्रिजहरूकत्र काम टिनको आल्मारीमा सीमित भएका छन् । खानेपिउने कुरा पहिला साताभरिका लागि जम्मा गर्न सकिन्थ्यो भने अचेल त्यो पनि सम्भव हुन सकेको छैन । बरू बाहिर चिस्यानका कारण खानपिनका सामग्री हिउँमै पुरेर राख्न सकिएला तर ती सामान पनि छिमेकीका कुकुरको नजरमा नपरोस् भनेर एक जना त गोठालो बस्नै पर्ने अवस्था आएको छ ।

    बाँकीको ऊर्जा जे जति छ, ती पनि निजी सुखसुविधाका लागि प्रयोग गर्न नसक्ने अवस्था छ । देशलाई त्यतिञ्जेल घिसार्नुपर्ने अवस्था आएको छ, जबसम्म ऊर्जाका अन्य स्रोत फेला पर्दैनन् । त्यसैले पनि बचेकुचेका ऊर्जा खेती-किसानीमा लगाइएको छ । कार बनाउने कम्पनी हिजोआज खेती किसानीको औजार बनाउन लागिपरेका छन् । अत्ति चिसो मौसममा घरका सदस्यहरू एकै ठाउँमा एकअर्कासँग टाँस्सिएर सुत्ने गरेका छन् । अत्ति गर्मीका बेला हातैले पंखा चलाउने कुरा त छँदैछ । कार भएन भने त हिँडेरै बरू यताउति गर्न सकिएला तर अन्न नै भएन भने के गर्ने ? त्यसो त मानिसहरूले यस्तो गरिबीको अवस्थामा सन्तान जन्माउने कुरामा अनिच्छा देखाइरहेका छन् । सोही कारण हाम्रो पृथ्वीको जनसंख्या त्यत्ति धेरै बढेको छैन । तर पनि अन्न वितरण व्यवस्थालाई एक स्तरमा नियमित बनाउने कुरा त दिनदिनै अप्ठेरो हुँदै गइरहेकै छ । केही अन्न त अन्य देश पनि निर्यात गर्नु नै पर्छ ताकि अन्य देशबाट पेट्रोल आदिका केही थोपा यहाँ जरूरी कार्यमा लगाउन सकियोस् ।

    यो त भयो, हाम्रो देशको कुरा ! अरू देशमा त झन् अवस्था गएगुज्रेको छ । संसारका कयौँ ठाउँ त हाम्रो भाग्य जति भाग्यशाली कहाँ छन् र ? अन्य देशको दुःखका कारण हामीले सन्तोष लिएको भन्दै केही ‘बौलाहा’हरू हल्ला मच्चाइरहेका छन् । पृथ्वीको जनसंख्या नियन्त्रण नै हुँदाका अवस्थामा पनि लगभग साढे पाँच अर्ब पुगिसकेको छ । अमेरिका र युरोपभन्दा बाहिरका देशमा हरेक पाँचमध्ये एक व्यक्तिले दुई छाक खान नपाएर एकअर्कालाई नै मार्ने अवस्था आएकोसमेत खबर आइरहेका छन् ।

    केही अर्थशास्त्री र मानवशास्त्रीहरूले अबका दिनमा जनसंख्या तीव्र रूपमा घट्ने बताइरहेका छन् । यसको मुख्य कारण शिशु मृत्युदर बढ्नु नै रहेको केहीको निष्कर्ष छ । भोकमरीको पहिलो शिकार यी बालबालिका भइरहेका छन् । हुन त अमेरिकाका केही अखबारले यस किसिमको प्रवृत्तिलाई राम्रै मानिएको छ । किन ? किनभने यो भोकमरीले जनसंख्या तीव्र रूपमा घट्दै जो छ ! हो नि, यस्तो विकट परिस्थितिमा पनि केही अखबार भद्दा खबरले ८/१० पृष्ठ छापिरहेकै हुन्छन् ।

    ०००
    कहिलेकाहीँ राम्रो खबर पनि पढ्न पाइन्छ । त्यस्तैमध्ये एउटा खबर के पनि छ भने भोकमरीले ग्रस्त क्षेत्रमा केही क्षेत्रमा थोरबहुत खान पाइरहेका पनि छन् । त्यस क्षेत्रमा एक किसिमको नयाँ कुपोषण देखा परिरहेको छ र त्यो बडो विचित्र समस्या बनेर देखा परिरहेको छ । त्यस्तो कुपोषणले ग्रस्तहरू शरीर त हिँडडुल गर्न सकिरहेको छ तर तिनको मस्तिष्क निरन्तर कमजोर भइरहेको छ । हरेक वर्ष यस्ता कमजोर र विकृत भइसकेका दिमाग भएका मानिसको संख्या निरन्तर बढिरहेको छ । केहीले भने त्यहाँ एकअर्कालाई आक्रमण गर्ने क्रम बढेका कारण हामीकहाँ पनि त्यस्तै गर्नुपर्ने र कमजोरहरूलाई शुरूमै मारिदिनुपर्ने माग निरन्तर बढिरहेको छ । त्यसो त अखबारहरूले यस्ता खबर छापेका छैनन् तर कुन दिनबाट यस्ता ‘व्यवहारिक कदम’ चालिनुपर्ने कुरामा जोड दिएर सम्पादकीय लेख्न बेर छैन । तर संसारका अन्य भागबाट आएका केही यात्रुहरूले यस्ता अनेकन् भयानक किस्साहरू दबेको आवाजमा सुनाउन थालिसकेका छन् ।

    ऊर्जाको यस संकटले एउटा ठूलो काम अर्को पनि गरेको छ । हरेक राष्ट्रका सेना खै कहाँ गायब भएका छन् कुन्नी ! पेट्रोललाई नै खाइदिन सक्ने शक्ति भएका ती सेना अचेल कसले पो पाल्न सकोस् ! काँधमा बन्दुक राखेर यताबाट उता र उताबाट यता गर्ने केही सीमित संख्यामा भने छँदैछन् तर पहिला जत्ति त होइन । ती सैनिक पनि अब हेलिकप्टर या प्लेन या गाडीमा होइन, पैदल नै घिस्रिरहेका देखिन्छन् । कुनै समयका शान मानिने फुर्र-फुर्र उडने वायुसेनाका हवाई जहाज, गुडुडु दौडने ट्याङ्क, ट्रक, जीपहरू सबैसबै धुलोमा पुरिएका छन् ।

    बाँकी बचेको ऊर्जाका स्रोतहरू क्रमशः सकिँदै गइरहेका कारण अचेल मेसिनका ठाउँमा हातगोडाले नै काम चलाइन थालेको छ । मेसिनको बिदाइका कारण मानिसले गर्ने कामको घण्टा निरन्तर बढिरहेको छ । पहिला पहिला एकादेशको कथा बनेको हप्तामा चार दिन चार घण्टा मात्र काम गर्ने अहिले बढेर हप्तामा सातै दिन १८ घण्टासम्म काम गर्नुपर्ने अवस्था आएको छ । हुन पनि मानिसले आराम गरेर के पो गर्छन् र ? पहिला आरामको अर्थ बिजुली थियो, बिजुली हुँदा टिभी र इलेक्ट्रोनिक सामग्री थिए । बिजुली अभाव चर्किंदै जाँदा मनोरञ्जनका सामग्री पनि कम हुँदै गए । चौबीसै घण्टा वाहियात् विज्ञापन र टिभी कार्यक्रम त हिजोआज जम्मा राति तीन घण्टा मात्र चल्ने गरेका छन् । सिनेमा हलमा पनि हप्तामा तीन सो मात्र देखाउन पाइन्छ । नयाँ किताब छाप्न बन्द भइसकेका कारण पढ्नुपर्ने मानिसले पुरानै चिजबिज पढिरहेका छन् । सन् २०२७ सम्म आइपुग्दा जम्मा तीन चिज बाँकी रहेका छन्, काम गर, सुत र खाऊ । खाने कुराको पनि कुनै निश्चित छैन !

    यो अवस्था कहाँ गएर सकिने हो ? मान्छे अब बढ्ने हो कि पछि धकेलिने हो, सबै चकित छन् । केहीले आँकलन गरिरहेका छन्, अब केही वर्षपछि यो संसार सन् १८०० ताकको समयमा पछि फर्कनेछ । शहरमा एकत्रित भएको जनसंख्या गाउँ फर्कनै पर्नेछ । ससाना स्वावलम्बी उद्यम र साना खेतीमा मानिस निर्भर हुनेछ । हस्तकला, हस्तउद्योग र ग्रामउद्योग बिना नारा नै पुनः शक्तिशाली हुँदै जानेछन् ।

    के उसो भए हामी आजको यस परिस्थितिमा सुधार ल्याउन सक्दैनौँ त ? अँहँ, अब कुनै उपाय नै बाँकी छैन । अँ, यदि आजभन्दा पचास वर्षअघि अर्थात् सन् १९७८ मा केही निर्णय लिइएको भए आज सन् २०२७ सम्म आइपुग्दा हामीले जे झेलिरहेका छौँ, त्यसलाई टार्न सकिन्थ्यो होला । हामी अझ सन् १९५८ ताका नै सही दिशा पक्रेका हुन्थ्यौँ र संसारलाई सही दिशा देखाउन सकेका हुन्थ्यौँ भने अवस्था सुधार्न हामीलाई अझ बढी सहज हुन्थ्यो होला !

    थाहा छैन, अब के हुने हो !

    (सन् १९७६ को अप्रिल महिनामा टाइम म्यागेजिनमा प्रकाशित कथा। आइज्याक असिमोभ अमेरिकाका साईफाई कथा-उपन्यास विधाका सर्वाधिक रूचाइएका आख्यानकारका रूपमा चिनिइन्छन् । उनले साईफाई विधाका डेढ सयभन्दा बढी उपन्यास, पाँच सय भन्दा बढी छोटा कथा तथा सयभन्दा बढी नन् फिक्सन पुस्तक लेखेका छन् ।)

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै